२८ आश्विन २०८३, बुधबार

खनालसँग को-को गए चीन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath_khanal

काठमाडौं ।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दशदिने भ्रमणका लागि आज जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा खनाल त्यसतर्फ जानुभएको हो । उहाँले एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा उच्चस्तरीय चिनियाँ नेतृत्वलाई आमन्त्रण पनि गर्नुहुनेछ ।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष खनालले आफूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको निरन्तरताका लागि त्यहाँका उच्चस्तरीय नेतासँग छलफल गर्नुका साथै विभिन्न प्रान्तको भ्रमण गर्ने बताउनुभयो । भ्रमणको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने एमालेले जनाएको छ ।

आफू विदेशमा रहेपनि महाधिवेशनलाई असारको १९ गतेदेखि गराउने गरी भएको पछिल्लो निर्णयको कार्यान्वयन र तयारी तथा संविधान लेखनका काममा कुनै बाधा नपर्ने अध्यक्ष खनालले स्पष्ट गर्नुभयो ।

उहाँले सरकारको गतिमा केही सुस्तता आएको गुनासो सुनिएपनि अब २६ जना सभासद्को मनोनयनलगायत संवैधानिक निकाय तथा सरकारी नियुक्तिका क्रम प्रारम्भ हुने बताउनुभयो ।

अध्यक्ष खनालले पार्टी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने अपेक्षा आफूले गरेको बताउनुभयो ।

टोलीमा पार्टीका नेताहरू वेदूराम भूषाल, परशुमेघी गुरूङ, शेरबहादुर तामाड, चन्द्रबहार शाही, गरिमा शाह, बलराम बाँस्कोटा, मिलन तुलाधर, पद्मा अर्याललगायत छन् । टोलीमा परेपनि संविधान लेखन कार्य प्रमावित हुन सक्ने भएकाले पार्टी सचिव विष्णु पौडेल भ्रमणमा सहभागी हुनुभएन । टोली आगामी जेठ २ गते स्वदेश फर्कनेछ ।

अध्यक्ष खनालको विदाईका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलगायत नेता विमानस्थल पुग्नुभएको थियो ।