आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

मानवअधिकार आयुक्त नियुक्ति तयारी

दैनिक नेपाल २०७१ वैशाख २३ गते ७:१३

Simhadarbarकाठमाडौं । सरकारले लामो समयदेखि रिक्त राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीमा नियुक्ति गर्ने तयारी गरेको छ।

स्रोतअनुसार आयोगका अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा र सदस्यहरूमा सुशील प्याकुरेल, चरण प्रसाई, मोहना अन्सारी, विष्णुपुकार श्रेष्ठ, मञ्चला झा, दिपेन्द्र झालगायत व्यक्तिमा दलहरूबीच छलफल भइरेहको छ। संवैधानिक परिषदको अनौपचारिक बैठकमा यी नाममा छलफल भएको हो।

अन्तरिम संविधानको धारा १३१ मा मानवअधिकार संरक्षण र संवर्द्धन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीश पदबाट सेवानिवृत्त व्यक्ति वा मानवअधिकारको संरक्षण र संवर्द्धन वा समाजसेवामा क्रियाशील रही विशिष्ट योगदान पुर्‍याएका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था छ।

त्यस्तै, मानवअधिकार संरक्षण र संवर्द्धन वा समाजसेवा क्षेत्रमा क्रियाशील रही विशिष्ट योगदान पुर्‍याएका ख्यातिप्राप्त व्यक्तिमध्येबाट चार सदस्य नियुक्त गर्न सकिने व्यवस्था संविधानमा उल्लेख छ।

छवर्षे कार्यकाल सकिएर आयोगका तत्कालीन अध्यक्ष केदारप्रसाद उपाध्याय, सदस्यहरू रामनगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाले गत भदौ ३१ गते अनिवार्य अवकाश पाएपछि आयोग पदाधिकारीविहीन छ। आयोगसँग मानवअधिकार हननका घटनामा अध्ययन र अनुसन्धान गर्दै सरकारलाई निर्देशन गर्ने अधिकार रहन्छ।

आयोगमा हाल कायममुकाम सचिवका रूपमा वेदप्रसाद भट्टराई छन्। आयोगले पदाधिकारी नहुँदा सरकारलाई निर्देशन दिन सकेको छैन। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित