सुर्खेत । मध्यपश्मिाञ्चलका विकास क्षेत्रका विभिन्न जिल्लामा फिरन्ते जीवत बिताइरहेका राउटे समुदायको पहिलोपटक आधिकारिक रुपमा जनसङ्ख्या गणना गरिएको छ ।
समृद्ध मध्यपश्चिम सुर्खेतले यही वैशाख १७ र १८ गते यहाँको जर्वुटा–८ को नल खोला सामुदायिक वनमा रहेको राउटे समुदायको फोटो, नाम र गोत्रसहितको जनगणना गरेको हो । समृद्ध मध्यपश्चिम सुर्खेतका संयोजक नगेन्द्र उपाध्यायले जनगणनाअनुसार राउटे समुदायको सङ्ख्या ५८ महिलासहित १४० रहेको बताए ।
जनगणनाअनुसार उमेरगत समूहलाई हेर्ने हो भने सबैभन्दा बढी १६ देखि ४० वर्षसम्मका ५४ जना रहेका छन् । त्यसपछि जन्मेदेखि ७ वर्षसम्मका २९ र ८ देखि १५ वर्षसम्मका २७ जना रहेका छन् । जन्मेदेखि २ वर्षसम्मका १४, ३ देखि ७ वर्षसम्मका १५ जना रहेका छन् ।
यस्तै ४१ देखि ६० वर्षसम्मका १९ जना रहेका छन् भने ६० वर्षमाथिका ११ जना छन् । राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको सङ्ख्या अहिले ६ रहेको छ । यसअघि राउटेले महिला र बालिबालिकाको फोटो पनि खिच्न नदिने र जनगणना गर्न पनि अस्वीकार गरेको थियो ।
हाल राउटेमा केही परिवर्तन देखिएकाले यो पनि सम्भव भएको हो । राउटे समुदायमा तीनवटा गोत्र भएका शाही ठकुरीहरु छन् । जसमध्ये सबैभन्दा बढी कल्याल ७५, त्यसपछि रास्कोटी ५३ र सबैभन्दा कम स्ववंशी १२ जना मात्रै रहेका छन् ।
उनीहरुको जनगणनाका क्रममा राउटे समुदायमा कल्याल गोत्रको समूह धेरै रहेकाले कल्यालका युवाहरुले विवाह नगरी बस्नुपर्ने बाध्यता रहेको छ ।
आफ्नै गोत्रमा विवाह नगर्ने तर विवाह गर्न मिल्ने रास्कोटी र स्ववंशीको सङ्ख्या निकै कम भएको र त्यसमा पनि महिलाको सङ्ख्या न्यून रहेकाले विवाह गर्न समस्या भएको हो । यसले गर्दा ४० वर्षका कल्याल समूहका युवाले १३ वर्षकी बालिकासँग विवाह गर्ने गरेका छन् ।
यसैबीच जनगणनाको तथ्याङ्कअनुसार राउटे समुदायका सबैजसो बालबालिकामा कुपोषण र पोलियोजस्ता रोगको सङ्क्रमण भएको छ ।
जनगणनाको जिम्मा लिएको मध्यपश्चिमले प्रतिवेदन जिल्ला विकास समिति सुर्खेतलाई बुझाउने र जिल्ला विकास समितिले राष्ट्रिय योजना आयोग र स्थानीय विकास मन्त्रालयमा पठाउनेछ । सरकारले दिने भत्ता वितरण गर्दा पनि राउटेको सङ्ख्या यकिन नहुँदा समस्या भएकाले जनगणना गरिएको हो ।













प्रतिक्रिया