
कञ्चनपुर । नेकपा—माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन कञ्चनपुरका शैक्षिक संस्था बन्दको घोषणा गरेको छ ।
प्रहरीले कार्यकर्ताको घरमा गएर खानतलासी गर्ने, गिरफ्तारी गर्ने कार्य गरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीले आज (सोमबार) शैक्षिक संस्था बन्दको घोषणा गरेको जनाएको छ । शैक्षिक संस्था बन्द भए पछि सयौ विद्यार्थी पठन पाठनबाट बञ्चित भएका छन् ।
प्रहरीले तत्काल खानतलासी बन्द गर्नुपर्ने र गिरफ्तार गरिएका विद्यार्थी नेतालाई निःसर्त छाड्नुपर्ने माग क्रान्तिकारीको छ ।
वैशाख १९ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको इन्टरनेसनल बोर्डिङ स्कुलले भारतीय नेताहरुको जीवनी छापिएको अभ्यास पुस्तिका विद्यालयबाटै बिक्रीवितरण गरेको तथा चर्को शुःल्क लगाएको भन्दै क्रान्तिकारीका विद्यार्थीले विद्यालयको कार्यालय कक्ष र बसमा तोडफोड गरेका थिए ।
विद्यालयले जिल्ला प्रहरी कार्यालयमा तोडफोडमा संलग्न १० जना विद्यार्थीविरुद्ध जाहेरी दिएपछि प्रहरीले क्रान्तिकारीका केन्द्रीय सदस्य विष्णुप्रकाश उपाध्यायलाई पक्राउ गरेको छ । पक्राउ परेका उपाध्यायलाई छाड्न दबाव दिन अखिल क्रान्तिकारीले शैक्षिक संस्था बन्द आह्वान गरेको हो ।











प्रतिक्रिया