सुन्दरीजल । काठमाडौं उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ ।
विक्रम संवत २०२३ मा निर्माण भएको यो ट्रिटमेन्ट र प्लान्टमा ४८ वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर काम चलाउँदै आएकाले अहिले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका प्रमुख वसन्त पालले बताए ।
दैनिक २१ मिलियन लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ । २६ दशमलव ५ मिलियन लिटर पानी पाइपबाट महाँकालचौर शाखामा लगेर प्रशोधन गरिन्छ ।
प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खायाममा दैनिक चार–पाँच घण्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक दुई–तीन घण्टा पानी निर्यात गरिने गरेको प्रमुख पालले जानकारी दिए ।
सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुईवटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या रहेको छ । ‘सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूल्ठूला भल्भहरु नै जीर्ण भएका छन्,’ लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले भने ।
खानेपानीका संरचनालाई रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको प्रवक्ता शाक्यको भनाइ छ । ‘२०२३ सालदेखि सानातिना मर्मत गर्दै काम चलाउँदै आएका थियौँ,’ उनले भने, ‘अब त ठूलै मर्मत गर्नुपर्ने प्रतिवेदन तयार भइसकेको छ ।’ संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेको प्रवक्ता शाक्यले स्वीकार गरे ।
जीर्ण भएका २० इन्चका दुईवटा पाइप भने मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई फेर्ने जिम्मेवारी दिइएको पनि उनले बताए ।
एकातिर ट्रिटमेन्ट प्लान्ट र पाइपहरु जीर्ण भएर समस्या भइरहेको छ भने अर्कोतर्फ प्राविधिकलगायतका कर्मचारीको कमीले गर्दा कार्य सञ्चालनमा बाधा पुगेको प्रमुख पालले गुनासो गरे । ‘पहिले एक समूहमा पाँचजना कर्मचारी हुने गरेकामा अहिले तीनजना मात्र छन्,’ उनले भने ।













प्रतिक्रिया