गुल्मी । गुल्मी–१ मा नेपाली कांग्रेसको तर्फबाट संविधान सभाको दोस्रो निर्वाचनमा झिनो मतले विजयी भएका प्राध्यापक डा. कृष्ण छन्तेल मगरले आफ्नै पार्टी कार्यकर्ता तथा जिल्ला र क्षेत्र स्तरका नेतालाई समेत ठगेका छन् । संविधानसभाको निर्वाचनका बेला खर्च भएको रकम नतिरेर, उनी अहिले आफ्नो क्षेत्रका जनतामा मर्का सुनिदिने जनप्रतिनिधिभन्दा पनि कार्यकर्ताको रकम नतिर्ने र माग्नका लागि फोन गर्ने हो भने फोन नै नउठाउनेजस्ता गैरजिम्मेवार कार्यका कारण कार्यकर्ता आक्रोशित भएका छन् ।
कसै कसैले फोन गरेर पैसा माग्यो भने ‘म मन्त्री हुँदै छु । सांसद विकास कोषको रकम पनि आउँदै छ । भइहाल्छ नि’ भनेर टार्ने, कतिपयलाई मेरो निर्वाचनका बेला खर्च भएको सबै रकम क्षेत्रीय समितिले तिर्छ भनेर हप्काउने, धम्की दिने गरेका कारण पनि उनी आफ्नै क्षेत्रमा अलोकप्रिय बन्दै गएका छन् । यहाँसम्म कि चुनाव प्रचारका बेला आफै चढेर घुमेका गाडीको भाडासमेत उनले अझै बुझाएका छैनन् ।
खर्च भएको रकम कार्यकर्ता र व्यवसायीलाई नतिरेपछि उनका विरुद्ध क्षेत्रीय समिति र जिल्ला समितिमा लिखित उजुरी परेका छन् । नेपाली कांग्रेस क्षेत्र १ को क्षेत्रीय समितिले बैठक ठाकेर, सभासद् छन्तेललाई निर्वाचनका बेलाको सबै ऋण यथासक्य छिटो तिर्न निर्देशन दिने निर्णय गरेको छ । कार्यकर्तालाई झुक्याएर, सीधासाधा पाराले निर्वाचनपछि सबै रकम तिर्छु भने तर अहिले लुकीलुकी जिल्ला सदरमुकाम आएपछि उनी ऋण तिर्नुपर्छ भन्ने डरले तत्कालै राजधानी फर्कने गरेका छन् । अधिकांश युवाहरूलाई निर्वाचनका बेला उनले दिएका आश्वासनहरू कुनै पनि पूरा गर्न सकेका छैनन् । गाडी कुदाएको, खाना खाएको, पर्चा छापेको, प्रचार समाग्री ढुवानी गरेका र सापटी लिएका समेत रकम नतिरेर उनी अहिले भागाभाग भएपछि क्षेत्रीय समिति बिचल्लीमा गरेको छ । स्थानीय पीडित कार्यकर्ताले उनलाई सो रकम यथासक्य छिटो तिर्न ताकेता गरिरहेका छन् । तर उनी अटेरी भएका कारण संसदीय समिति, संविधानसभाको सचिवालय र पार्टी केन्द्रीय कार्यालय समेतमा उजुरी दिएर कार्यवाही र रमक असुल उपरका लागि कार्यकर्ताले निवेदन दिने भएका छन् । उनको फोहारी व्यवहारका कारण पार्टीलाई नै समस्या पर्दै गएको कार्यकर्ताहरू बताउँछन् ।














प्रतिक्रिया