काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं उपत्यकामा गुण्डागर्दी शुन्य तहमा झरेको दावी गरेका छन् ।
गृहमन्त्रीले गुण्डागर्दी तथाअपराध नियन्त्रण अभियानको प्रभावकारिताका कारण मुलुकभर गुण्डाहरु सबै लुकेको र निस्क्रिय भएको बताए ।
रिपोर्टर्स क्लव नेपालद्वारा मंगलवार आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री गौतमले भने, ‘कानुन हातमा लिने र गुण्डागर्दी गर्नेहरु करिब ४ सयको हाराहारीमा पक्राउ परेका छन् । उनीहरु माथि कानुनी कारबाही चलिरहेको छ । यहीकारण अहिले काठमाडौंको गुण्डागर्दी जिरो (शुन्य) मा झरेको छ ।’
हालसम्मको आफ्नो कार्यकालका उपलब्धिको चर्चा गर्दै उनले नेपाल प्रहरीको समग्र विकासलाई ख्याल गरी प्रहरी नियमावली २०७० जारी भइ कार्यान्वयन भइरहेको बताए । नेपाल प्रहरी अन्र्तराष्ट्रियस्तरको भएको बताउँदै गौतमले मन्त्रिपरिषदको आगामी वैठकबाट केही प्राविधिक पक्ष मिलाइ प्रहरीको प्रमोशन गरिने बताए ।
यसैगरी, अध्यागमन सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएको, कारागार सुधारको पहल थालेको, अव्यवस्थित फुटपाथ व्यवसायलाई व्यवस्थापन र ट्राफिक प्रहरी व्यवस्थापन सरल बनाउन पाँचबुदे र २२ बुँदे निर्देशन दिएको पनि गौतमले बताए ।
एक वर्षभित्रै संविधान जारी गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउने र नयाँ संविधान जारी गर्नु अगावै स्थानीय निर्वाचन गर्ने तीन मुख्य कार्यभार फत्ते गर्न सरकार तत्पर रहेको गौतमले बताए ।
‘महाधिवेशन सर्दैन’
उपप्रधानमन्त्री गौतमले आगामी नवौं महाधिवेशन तोकिएकै समयमा हुने र कुनै हालतमा महाधिवेशन नसर्ने ठोकुवा गरे । ‘तपाईंहरु ढुक्क हुनुस, महाधिवेशन सर्दैन । जेठ २४ देखि ३१ सम्म महाधिवेशन हुन्छ । महाधिवेशन सर्ने विषय हाम्रो पार्टीको कुनै पनि कमिटीमा प्रवेश गरेको छैन ।’– एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने ।
महाधिवेशनको मुखमै अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा जान लागेको सम्बन्धमा सोधिएको प्रश्नमा गौतमले भने, ‘अध्यक्ष चीन जाँदै महाधिवेशनको निर्धारित कार्यक्रममा कुनै फरक पर्दैन ।’
महाधिवेशनको चटारो बीच अध्यक्ष चीन जानु उचित हो त ? भन्ने प्रश्नमा उनले भने, ‘महाधिवेशनमा चीनका ठूलै नेतालाई ल्याउन पनि अध्यक्ष जान लाग्नु भएको हो । धेरै पटक चीनले उहाँलाई निमन्त्रण गर्दै आयो । यसअघि उहाँ प्रधानमन्त्री हुँदा निमन्त्रणा आएको थियो, विशेष कारणबश जान पाउनु भएन । त्यसपछि निर्वाचनको मुखमा निमन्त्रणा आयो, निर्वाचनकै कारण जान पाउनु भएन । यसपालि अवसर चुकाउनु हुँदैन भनेर जान लाग्नु भएको हो । यसले महाधिवेशनमा कुनै असर पार्दैन ।’
आगामी महाधिवेशनले संसदीय दलका नेता केपी ओलीलाई नै अध्यक्ष चयन गर्ने पनि गौतमको ठोकुवा थियो । ‘सके सर्वसम्मत, नसके चुनाव जितेर ओली कमरेड शतप्रतिशत अध्यक्ष बन्नुहुनेछ ।’ ओलीको स्वास्थ्यमा समस्या देखिए पनि अहिले सुधार उन्मुख रहेको उनले बताए ।
ओलीको स्वास्थ्यको विवरण खुलाउँदै गौतमले भने, ‘विरामी जो पनि हुन्छ । केपी ओली कमरेड १७ बर्षसम्म जनताको मुक्तिको लागि कठोर संघर्ष गर्नुभयो । त्यसक्रममा उहाँका दुबै किडनी असफल भए । उहाँले किडनी प्रत्यारोपण गर्नुभयो । किडनी प्रत्यारोपण गरेको मानिसले नियमित र सन्तुलित जीवन बिताउनुपर्छ । ओली कमरेड राजनीतिक काममै बढी व्यस्त हुनुपर्यो । त्यसक्रममा केही समयअघि फंग्स पैदा गर्ने ब्याक्टेरियाले उहाँलाई संक्रमण गर्यो । दबाइ खान थालेपछि उहाँको त्यो रोग निको भयो । फेरी दिल्लीमा या यतै उहाँलाई इन्सेफ्लाइटिस भन्ने नयाँ रोग देखा परेको छ । अहिले यो नयाँ रोगको उपचार भइरहेको छ । र स्वास्थ्य सुधार उन्मुख छ ।’
‘हेलिकोप्टरको हल्ला किन ?’
गृहमन्त्री गौतमले सोमबार आफू अर्घाखाँचीको कार्यक्रममा सहभागी हुन जाँदा हेलिकोप्टर खर्च २० लाख लागेको भनेर कान्तिपुर दैनिकमा प्रकाशित समाचार कपोलकल्पीत र भ्रामक भएको बताए ।
उनले भने, ‘अर्घाखाँचीमा जाँदा नेपाल सरकारको पैसा खर्च भएको छैन । स्वर्गद्वारीको विकासको सन्दर्भमा जाँदा हेलिकोप्टर खर्च ३ लाख ९८ हजार मात्र लागेको हो । कान्तिपुरले किन गलत तथ्यमा आधारित समाचार प्रवाह गर्यो ? त्यसरी एउटा व्यक्तिको चरित्रहत्या गर्ने त्यो संचार गृहको उद्देश्य के हो ?’ उनले कान्तिपुर दैनिक र रेडियो कान्तिपुरको नामै किटेर भने, ‘अध्ययन नगरी किन झुठो खबर प्रशारण गरियो, त्यसको जवाफदिनुपर्यो । हामी देश र जनताको लागि समर्पित व्यक्तित्वको आचरणलाई किनधमिल्याउने कोसिस गरिन्छ ?’
गृहमन्त्रीले हालसम्म विभिन्न आयोजक र सहयोगीको सहयोगमा हेलिकोप्टर चढेको र राज्यको एक पैसा खर्च नगराएको भन्दै हालसम्म चढेको हेलिकोप्टरको विवरण प्रस्तुत गरेका थिए ।














प्रतिक्रिया