एमाले अध्यक्ष झलनाथ खनालले नवौं राष्ट्रिय अधिवेशनलाई एकताको महाधिवेशन बनाउने उद्घोष गर्दै आउनुभएको छ । उहाँको नियतमा शंका छैन भने, उहाँको यो उद्घोषले एमाले कम्युनिस्टहरूको मात्र होइन, सिंगो देश र जनताको आशा र भरोसाको पार्टी बन्ने छ । अहिले देश र जनतालाई चाहिएको पनि सक्षम, इमान्दार नेतृत्वसहितको राजनीतिक पार्टी हो । पार्टी हाँक्न नसक्ने नेताले देश हाँक्न सक्दैनन् । त्यसैले पार्टीलाई पार्टी नेता होइन, देशलाई हाँक्न सक्ने नेता आवश्यक छ । त्यो कुराको उदाहरण एमालेलाई बनाउने हो भने एमालेभित्र झांगिएको विकृति र विसंगतिलाई जेठ महिनाभित्रै बागमतीमा मिल्काउनै पर्छ ।
बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा एमाले अध्यक्ष खनालले एमालेभित्रका फोहोरको डंगुर तिनाउमा मिल्काएर एमालेलाई तिनाउ नदीको कञ्चन पानी जस्तो बनाउने उद्घोष गर्नुभएको थियो । तर, सक्नु भएन । उहाँनिकट नेता कार्यकर्ताहरू नै उहाँलाई विफल पार्न गुटबन्दीमा लागे । पार्टीभित्र गुटबन्दी खडा गरेर आफ्नो स्वार्थपूर्ति गर्ने ती नेता कार्यकर्ताले खनाललाई सुखको सास फेर्न दिएनन् । पार्टीको अध्यक्ष र संसदीय दलको नेता आफू स्वयं जीवित भएको अवस्थामा दुई–दुई ठाउँबाट चुनाव हारेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल मुलुकको प्रधानमन्त्री बने । यो एमालेभित्र झांगिएको चरम गुटबन्दीको परिणाम थियो । यो विकृतिको अन्त्य गर्नका लागि पनि नवौं महाधिवेशनमा योग्य, सक्षम र इमान्दार नेतृत्व आवश्यक छ । आर्यघाटको ब्रम्हनालको पानी नखाएसम्म पदका लागि छटपटाइरहने नेतृत्वले न पार्टीको नेतृत्व गर्न सक्छ, न त देशकै । विगतको समीक्षा गर्ने हो भने पनि मदन भण्डारी पछि एमालेलाई निर्वाचन आयोगमा दर्ता र नविकरण गर्नेबाहेक विचारधाराका आधारमा चुस्त दुरुस्त बनाउने काम अध्यक्षका लागि बुख्याँचा बनेकाहरूले गर्न नसकेकै हो । यसको खुला समीक्षा अध्यक्ष खनालले गर्नैपर्छ । देश र जनताका लागि होइन, आफ्नै लागि पद खोज्ने र रोज्ने नेताका बारेमा अध्यक्ष खनाल स्पष्ट हुनैपर्छ ।
एमालेका गलत प्रवृत्तिका शिकार भएका अध्यक्ष खनालले पाठ सिकेको देखिएन । आम कार्यकर्ताहरूको भावनालाई खनालले बुझ्न नसक्दा उहाँ संसदीय दलको नेतामा समेत पराजित हुनुपर्यो । यसभित्रको अन्तरकर्था के थियो भन्ने कुरा एमाले नेता केपी शर्मा ओलीले सार्वजनिक गरिसक्नु भएको छ । यदि खनाल र ओली मिलेर अगाडि बढेको भए एमालेभित्रका ‘झर्ला र खाम्ला’ प्रवृत्तिका नेताहरू यति साह्रो हौसिने थिएनन् । तर, दुर्भाग्य नवौं महाधिवेशनमा ओली र खनाललाई मिल्न नदिने तत्वले संसदीय दलको नेताको निर्वाचनमा आगो झोसे । यो कुराको समीक्षा गर्दै नवौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने हो भने, खनाल सर्वसम्मत नेतृत्व चयनको पक्षमा केपी ओलीको साथ उभिनु पर्छ । त्यसो भयो भने मात्रै पार्टीभित्र एकताको वातावरण बन्दै जान्छ ।
बिहानीले दिनको संकेत गर्छ भनेझैं ओलीको पक्षमा देशव्यापी लहर सिर्जना भएको छ । त्यो लहरलाई रोक्न माधव नेपाललाई एकथरिले ‘बुख्याँचा’को रुपमा प्रयोग गरिरहेका छन् । खनाल प्रतिस्पर्धामा नउत्रिने भएपछि ओलीलाई सर्वसम्मत हुन नदिनका लागि मात्र यो षड्यन्त्र गरिएको हो । गत साता राजधानीमा आयोजित एउटा कार्यक्रममा घनश्याम भुसालले एमालेको अध्यक्षका रुपमा माधव नेपाललाई ‘टोपी’को रुपमा सजाउन खोजिएको घोषणा गरे । नेपालको अनुपस्थितिमा गरिएको उक्त घोषणासभालाई धेरैले मान्छेबिनाको टोपी भनेर व्यंग्य कसे । वास्तवमा यो माधव नेपालकै राजनीतिक भविष्य समाप्त पार्ने खेल हो भन्नेतिर नेपालको ध्यान जान सके नवौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन बल पुग्ने थियो ।
सिंगो एमाले एकताको अभियानमा होमिएको बेला बेदुराम भुसाल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, ठाकुर गैरे, रामकुमारी झाँक्रीजस्ता आन्दोलनबाट स्थापित नेता कार्यकर्ता ‘एन्टी करेन्ट’ तिर लाग्नु त्यति बुद्धिमानी हुने छैन । यी नेता कार्यकर्ताहरूको भविष्य पनि एमालेको जीवनसँग गाँसिएको हुँदा एकताको महायात्रामा लाग्नु भएका एमाले अध्यक्ष खनालले यी कार्यकर्तालाई पनि त्यो महायात्रासँगसँगै लैजान सक्नुपर्छ । नेताको क्षमता र पहिचान पनि यही नै हो । होइन भने अनुहारबिनाको टोपीले एमालेलाई कुरुप बनाउने छ ।












प्रतिक्रिया