२८ आश्विन २०८३, बुधबार

एमालेका किङमेकर सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishor-pokhrel

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा राजनीतिक भेटघाट, छलफल र भेलाहरू बाक्लिन थालेका छन् । राजनीतिक प्रतिवेदन आउनुपूर्व नै पर्याप्त मात्रामा वैचारिक बहस तीव्र पारिएको छ । अध्यक्ष पदका प्रत्यासी संसदीय दलका नेता एवं वरिष्ठ नेता केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा निकटस्थ नेताहरूले लबिङ तीब्र पारेका छन् । आफ्नो पक्षमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी, बहुसंख्य सभासद्, भातृ संगठन र कार्यकर्तापंक्ति रहेकाले ओली पक्ष आत्मविश्वासपूर्ण अवस्थामा छ । किनभने, आगामी नेतृत्व चयन प्रक्रियामा किङमेकरका रूपमा लिइएका दुई प्रभावशाली नेताहरू उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल ओलीको लबिङमा जमेर लागेका छन् ।

अध्यक्ष झलनाथ खनालले आइतबार दस्तावेज मस्यौदा कमिटीको बैठकमा आगामी नवौँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका छन् । प्रतिवेदन सन्तुलित नै रहेको नेताहरूले बताएका छन् । प्रतिवेदनले जबजलाई विस्थापन गरिहाल्ने प्रयासलाई पूर्णतः अस्वीकार गरेको छ । त्यसैले नीतिमा रहेको कमा र पूर्णबिरामलाई लिएर विवाद नहुने लगभग निश्चित छ । महाधिवेशन तालिका प्रभावित भए पनि राजनीतिक प्रतिवेदन र सदस्यता नवीकरणजस्ता महत्त्वपूर्ण काम उत्साहपूर्वक सम्पन्न भएपछि महाधिवेशन पर सार्ने प्रयास पनि निष्फल हुने भएको छ ।

महाधिवेशन घोषित मितिमै सम्पन्न हुने भएपछि मिति सार्न खोज्ने पक्षको मनोबल पनि कमजोर भएको छ । पराजय बेहोर्नुपर्ने वा मैदान छोडेर भाग्नुपर्ने अवस्थाको आकलन गरी नेपाल पक्ष उपाध्यक्ष गौतम र महासचिव पोखरेलविरुद्ध अराजनीतिक ढंगले प्रस्तुत हुन पुगेको छ । नेपाल मजदुर किसान पार्टीको चुलोमा पानी खन्याएको विगत बोकेका सल्लाहकारबाट निरन्तर रूपमा गौतम र पोखरेलको तेजोबध गर्ने प्रयास नभएका होइनन् । आफ्नो महत्वाकांक्षा पूर्तिको साधन नबनेको झोंकमा यस्ता प्रयास हुने गरेको एमाले कार्यकर्ताहरूको ठम्याइ छ ।

जतिसुकै आलोचना भए पनि एमाले महाधिवेशनमा जता महासचिव ईश्वर पोखरेल उभियो विजय त्यही पक्षको हुने गरेको विगत छ । पोखरेलको यस भूमिकालाई कतिपय कार्यकर्ताले महाभारतमा कृष्णको भूमिकासँग पनि तुलना गर्दै जता सत्य त्यहीँ कृष्ण, जहाँ कृष्ण त्यही विजय भन्न थालेका छन् । मदन भण्डारी, माधव नेपाल र झलनाथ खनाललाई पार्टी प्रमुखमा ल्याउन पनि पोखरेलको महत्वपूर्ण भूमिका रहेको थियो । २०६५ सालयताको प्रखर भूमिका, नेतृत्व हस्तान्तरणको मुद्दा र न्याय समेतको पक्ष हेरेर महासचिव पोखरेलले भावी अध्यक्षका रुपमा ओलीलाई अघि सार्दै आएका छन् । विगत दुई वर्षदेखि ओलीको पक्षमा वकालत गर्न थालेका पोखरेल शक्तिसमीकरणमा निर्णायक पनि देखिँदै आएका छन् ।

उपाध्यक्ष गौतमको निर्णायक भूमिकाले गत माघमा ओली संसदीय दलको नेतामा अत्यधिक बहुमतले चुनिएका थिए । आठौँ महाधिवेशनमा खनालको पक्षमा माहोल बनाउन पनि गौतमको मुख्य भूमिका थियो । अहिले उनले आफूनिकट कार्यकर्तालाई सम्पूर्ण रूपले ओलीलाई साथ दिन सघन दबाब दिइरहेका छन् । एमालेको पछिल्लो शक्तिसमीकरणमा तटस्थ बस्न खोजेका कार्यकर्तालाई समेत गौतमले रमिते नबन्न विशेष आग्रह गरेका छन् । भूगोलको राजनीतिमा तीतो सम्बन्धलाई बिर्सिएर ओलीलाई साथ दिनुपर्ने सन्देश पनि पार्टीपंक्तिमा उनले सञ्चार गरेका छन् ।

स्थायी कमिटीका कनिष्ट सदस्यहरूको पहल आफ्नो महत्वाकांक्षासँग बाझिएकाले नेता नेपाललाई भने चित्त बुझेको छैन । बुद्धको विकल्पमा रामबहादुर बमजनलाई खडा गरेर गुजारा चलाउनेको भूमिकामा आएर नेता नेपालले गत असारतिर चुनावको मुखमा जबज र वर्तमान परिस्थितिबीच ‘लुकिङ लन्डन टकिङ टोकियो’को जस्तो सम्बन्ध छ भन्न एमालेका प्रतिभाशाली नेता घनश्याम भुसाललाई उत्प्रेरित पारेका थिए । तिनै नेता नेपालले १५ वर्ष पार्टी प्रमुख हुँदा नियतवश सवारी साधन जुधाउने ट्राफिक प्रहरीको भूमिका निभाउँदै मैनाली, ओली, गौतम र खनालबीच दूरी बढाएका थिए । अहिले पनि स्थायी कमिटीका प्रतिभाशाली युवा नेता तथा अधिकांश केन्द्रीय सदस्यहरू जुधाउन नेता नेपालले कुनै कसर बाँकी राखेका छैनन् ।

अन्ततः नेपालको प्रयासले हावा खाएको छ । गौतम बुद्ध छैनन् भन्दैमा लिटिल बुद्धलाई बौद्ध धर्मावलम्वीले अवतार नमानेजस्तै २०४९ सालका कुरा, खोपीको भीमसेन, मदनसँगै विचारको अवसान भइसक्यो भन्नेजस्ता अफवाहलाई पार्टीपंक्तिले अस्वीकार गरेको छ । सुरुमा भुसाललाई लिटिल बुद्धका रुपमा प्रक्षेपण गर्ने नेपाल अहिले भने दुवै पक्षलाई दोष थोपरेर भाग्न खोजेको तथ्य सतहमा आएको छ । नेता नेपालले ‘एकथरि अतिवादीहरू पुँजीवाद आइसक्यो भन्छन्, उनीहरू सामन्तवादको अवशेषसम्म देख्दैनन् र अर्कोथरि अतिवादीहरू जबजलाई आफ्नो पेवा ठान्दैछन् र वेद बताउन खोज्दैछन्’ भन्नुले भुसाललाई अलपत्र छाडेर आफ्नो स्थान सुरक्षित पार्ने चोर दाउ हेरेका हुन् कि भन्ने आशंका एमालेपंक्तिमा उठेको छ ।

आफ्नो भूमिका कसैलाई मन परे पनि नपरे पनि उपाध्यक्ष गौतम र महासचिव पोखरेलले नेतृत्व हस्तान्तरणको मुद्दालाई महाधिवेशनबाट कार्यान्वयन गराउन कुनै कसर बाँकी राखेका छैनन् । गौतम पक्षधर कार्यकर्ताहरू पनि नेपालले विगतमा ओली र गौतमबीच दरार सिर्जना गरी कटुता बढाएको प्रति आत्मसमीक्षामा रहेका छन् । ओली–गौतम पक्षबीच स्थानीय तहदेखि नै भावनात्मक एकता हुन सकेमा एमाले जगैदेखि बलियो हुन सम्भव छ । सिद्धान्त, विचार, नीति, नेतृत्वको मुद्दा ठीक ढंगले हल गरेमा र एकताको महत्वबोध गर्न सकेमा एमाले कम्युनिष्ट आन्दोलनको मात्र नभई आम जनसमुदायको आशा र भरोसाको एक मात्र केन्द्र हुनेमा कुनै शंका छैन ।