परासी । विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको नवलपरासीको धौवादी–१ धौवादीमा वायु अर्थात् हावाबाट निकालिएको बिजुलीले गाउँ झलमल भएको छ ।
पहिले विद्युत् नहुँदा मट्टितेलबाट बालिने टुकीको भरमा रात काट्न बाध्य भएका यहाँ बासिन्दालाई वायु ऊर्जा अर्थात् हावाबाट उत्पादन गरिने बिजुलीको उज्यालोमा बस्न पाएका त छ नै त्यसमाथि बिहानै उठेर काम गर्नसमेत सजिलो भएको स्थानीय बासिन्दा हुमबहादुर ठाडा मगरले बताउनुभयो ।
गाउँमा बिजुली आएपछि राति बत्तीका कारण पढ्न नपाएका बालबालिकाले समेत बढ्न पाएका छन् । यसले बालबालिकाको पढाइमा समेत सुधार आएको अर्का स्थानीय बासिन्दा धनबहादुर ठाडा मगरले बताउनुभयो । १२ महिना २४ सैँ घण्टा हावा चलिरहने धौवादी डाँडामा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट गत २०६८ साल पुुस महिनादेखि विद्युत् उत्पादन सुरु भएको हो ।
शत्प्रतिशत मगर जाति रहेको यस गाउँमा एक निमावि र एक इलाका प्रहरी कार्यालय पनि रहेको छ । यहाँ सौर्य ऊर्जाबाट बिजुली बाल्नुका साथै कम्प्युटर चलाउने, टिभी हेर्ने, रेडियो चलाउन र मोबाइल फोन पनि चार्ज गर्न सुविधा भएको आयोजनाका इन्जिनियर गौरव दुलालले बताउनुभयो ।
वायुबाट १० किलोवाट र सोलरबाट दुई किलोवाट गरी १२ वाटको विद्युत् क्षमता उत्पादन गरिएको यहाँ अहिले धौवादी–१ का ४८ घरधुरीका करिब ४०० बासिन्दा लाभान्वित भएका छन् । यहाँ वायुबाट सञ्चालन हुने पाँच÷पाँच किलोवाटका दुईवटा टर्वाइन सञ्चालनमा छन् भने सौर्यबाट २.१६ किलोवाट विद्युत् उत्पादन गरिएको इन्जिनियर दुलालले बताउनुभयो ।
राष्ट्रिय प्रसारण लाइन पुगेको क्षेत्र अहिले अत्यावश्यक विद्युत् चाहिने समयमा करिब ७५ प्रतिशत अन्धकार हुन्छ । यस्ता साना आयोजनाबाट नवलपरासीको धौवादी गाउँ भने २४ सैँ घण्टा झलमल भएको छ ।












प्रतिक्रिया