काठमाडौँ, २७ चैत । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
फुटपाथ व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै संघले घेराबन्दी गरेको हो । कलंकीमा भेला भई फुटपाथ व्यापारीहरु पदयात्रासहित एमाले मुख्यालय बल्खु पुगेका थिए । घेराउका क्रममा एमाले मुख्यालय आसपास क्षेत्रमा सवारी साधन आवतजावतमा अवरोध पुगेको थियो । स्वरोजगार व्यापार श्रमिक संघका महासचिव माया गुरुङले स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गरी व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरिन् ।
व्यवसायीले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका कार्यालयमा घेराउ गर्दै आएका छन् । सडकपेटीमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न असहज भई समस्या आएको भन्दै सरकारले गत फागुन १४ देखि फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि राष्ट्रिय स्वरोजगार व्यापार संघ, संयुक्त व्यापार व्यवसायी संगठन नेपाल आबद्ध श्रमिक एकताबद्ध भई पहिलो चरणको आन्दोलन गरेका थिए ।











प्रतिक्रिया