दाङ । दाङ जिल्लाको धनौरी–७, कोरबाङका महिलाहरु यतिखेर आधुनिक तरिकाले सामूहिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
तीन वर्ष पहिले वडाका १६ महिला मिलेर सयपत्री कृषि पाठशाला महिला समूह नामक संस्था गठन गरेर सामूहिक रुपमा बेमौसमी तथा मौसमी तरकारीखेती गरेर आम्दानी गर्न सफल भएपछि उनीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका हुन् ।
सिँचाइ डिभिजन कार्यालय गाविसमा करोडौँ रुपियाँको लगानीमा कोरवाङ सिँचाइ आयोजनाको निर्माण सम्पन्न गरेपछि त्यहाँ सिँचाइ सुविधा पुगेको हो ।
सिँचाइ सुविधा पुगेपछि सिँचाइ कार्यालयले नै त्यहाँका महिलाहरुलाई आधुनिक कृषि प्रणाली र बेमौसमी तरकारीखेती गर्नेसम्बन्धी तालिम दिएको थियो । तालिमले जागरुक बनाएपछि उक्त समूह गठन गरेर स्थानीयको चार कट्ठा जग्गा भाडामा लिएर तरकारीखेती गरेको सयपत्री कृषि पाठशाला महिला समूहकी सचिव अस्मिता भण्डारी बताईन् ।
‘नमूना खेती भएको हुँदा अहिले आफूहरु नाफा–नोक्सानभन्दा पनि प्रविधि र प्रयोग सिक्न अभ्यस्त छौँ,’ उनले भनिन्, ‘गत वर्ष सबै खर्च कटाएर ३० हजार बचत गरेका थियौँ ।’
सिँचाइ सुविधा बाह्रै महिना उपलब्ध भएमा बेमौसमी तरकारीखेतीले पनि लाखौँ रुपियाँ कमाउन सकिने उनले बताईन् ।
अहिले आधुनिक तरिकाले बोडी, करेला, भिन्डी, लौका फर्सी, भन्टा, काँक्रा लगायतका तरकारीखेती गरिएको छ । तरकारीका बोटहरुमा लटरम्म तरकारी फलेका छन् ।
उत्पादन भएको तरकारी केही गाउँमा नै खपत हुने गरेको छ भने धेरै तरकारी गाडीबाट बिक्रीका लागि तुलसीपुर बजारमा लग्ने गरेको समूहकी अर्की सदस्य लक्ष्मी वली बताईन् ।
समूहलाई सिँचाइ कार्यालय दाङले बीउ, मल, कीटनाशक औषधि निःशुल्क रुपमा उपलब्ध गराउनुका साथै एकजना कृषि प्राविधिकलाई पनि समयसमयमा खटाउने गरेको महिलाहरु बताउँछन् ।











प्रतिक्रिया