नुवाकोट, २५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपालले पाँच वर्षभित्र २२ जहाज किन्ने योजना बनाएको जानकारी दिनुभएको छ ।
नुवाकोटमा संचारकर्मीहरुसँग कुरा गर्दे मन्त्री आचार्यले पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडानका लागि सात वटा ठूला र घरेलु उडानका लागि १५ साना जहाज खरिद गर्ने योजना बनिरहेको बताउनुभयो ।
मन्त्री आचार्यले नेपालको पर्यटनको विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण भएकाले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अड्किएको फाइल टुंगाएको छु, भैरहवा र निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाइएको छ । ”
मन्त्री आचार्यले अन्य विमानस्थलको सुधार र आधुनिकीकरणका लागि पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
एमालेका पोलिटब्युरो सदस्य रहेका मन्त्री आचार्यले पार्टीको महाधिवेशनमा अनुहारभन्दा पनि पार्टीलाई आगामी पाँच वर्षसम्म हाँक्न सक्ने योग्य व्यक्तिलाई चयन गर्न आग्रह गर्नुभयो । जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित कार्यान्वयनको पाटोमा लैजानुपर्ने उहाँले बताउनुभयो ।











प्रतिक्रिया