२८ आश्विन २०८३, बुधबार

दरबारी षडयन्त्रमा जागिर चट हुँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kishor Nepal

रोयटर्सका लागि रिपोर्टिङ गर्दा मेरा लागि सबभन्दा ठूलो चुनौती थियो— २०४५ सालको महाभूकम्पको रिपोर्टिङ। भूकम्पको धक्काले भक्तपुरमा केही घर ध्वस्त भएको समाचार पठाउँदा–नपठाउँदै धरान र पूर्वाञ्चलमा भूकम्पबाट भएका धनजनको क्षतिका समाचारहरु ओइरिन थालिसकेका थिए। दिल्ली ब्युरोले मलाई जुनसुकै अवस्थामा धरान पुग्ने आदेश दियो। बसहरु हिँडिसकेका र विमानका लागि पर्खिन नसकिने स्थिति भएकाले मैले एक जना परिचित भाइ पुष्पलाई आफ्नो समस्या बताएँ। पुष्पले एउटा स्टारलेट कार ट्याक्सीका रुपमा चलाइराखेका थिए। कार पुरानो थियो र त्यसको अवस्था ठीक थिएन।

तैपनि पुष्प खतरा मोल्न तयार थिए। जे त होला भनेर हामी हिँड्यौँ। मसँग तीन–चार हजार रूपैयाँ थियो। हामी हिँड्दा साँझ आठ बजेको थियो। नाकाबन्दीका कारण पेट्रोलको अभाव त छँदै थियो। बाटोका लागि मैले एक बोतल जोनी वाकर रेड लेबल झोलामा हालेको थिएँ। पुष्प बेतोडले गाडी हाँकिरहेका थिए। अलिकति थाकेपछि एक बिर्को रेड लेबल लगाएर हामी दगुरिहाल्दथ्यौँ। हामी भदौको गर्मी छिचल्दै झिसमिसे बिहान धरान पुग्यौँ। धरान प्रवेश गर्ने बेला आउने सर्दु खोलाको किनारामा चिताहरु जलिरहेका थिए। मानिसको रूवाबासी र कोलाहलले ढाकेको थियो धरान शहर। बेलायती सेनामा कार्यरत नेपालीहरुको सम्पर्ककेन्द्रका रुपमा रहेको घोपा क्याम्पमा ब्रिटिश सरकारले उपचार केन्द्र चलाएको थियो। धरानमा पानी र औषधिको हाहाकार थियो। सरकारले रेडियोमा प्रसारण गरे जस्तो राहत वितरण कतै पनि भएको थिएन।

दिनभर धरान डुलेर अपराह्न टेलेक्स सर्भिसका लागि टेलिफोन अफिस पुग्दा कनेक्शन थिएन। घोपा क्याम्पमा भएको टेलेक्स प्रयोग गर्न बेलायती दूतावासको अनुमति लिनुपर्दथ्यो। दिल्लीसँग निरन्तर सम्पर्कमा रहनुपर्ने भएकाले पनि म छटपटिइरहेको थिएँ। धरान टेलिफोन अफिसले विराटनगरमा टेलेक्स सुविधा चालू रहेको सुनाएपछि म त्यतै हान्निएँ। धरानमा बस्ने–खाने कुनै होटल थिएनन्। त्यसैले पनि विराटनगर जानुको विकल्प थिएन। विराटनगर पुगेर दिल्लीसँग सम्पर्क गरेपछि मेरो ज्यानमा ज्यान आयो।

त्यसपछि समाचार तयार पारेर पठाउँदापठाउँदै रातको नौ बज्यो। यतिन्जेल पुष्प र मैले खाना नखाएको चौबीस घण्टा बितिसकेको थियो। तै रेड लेबलले शरीरका लागि आवश्यक क्यालोरी पुर्‍याएको थियो। धरानमा पुगेपछि मैले देशान्तर संवाददाता हर्ष सुब्बालाई साथमा लिएको थिएँ। उनी र म सँगै दिनभर समाचार सङ्कलनमा व्यस्त थियौँ। राहत सामग्री वितरणका लागि आउनुभएका नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई सरकारले रोक लगाएको थियो। समाचार थुप्रै थिए। काम गर्दागर्दा हामी दुवै थाकेका थियौँ। हर्ष पनि उत्तिकै भोकाएका थिए। हामीले विराटनगरको मिलन होटलमा आफ्नो बास बनायौँ। त्यहीँ बसेर धरान भ्याउने योजना थियो हाम्रो।

book-Kishor-Nepal_Mero-Samaya

भोलिपल्ट बिहान टेलेक्स अफिस पुग्दा दुई वटा टेलेक्स मेसेज थिए मेरा लागि। एउटा त दिल्ली र लन्डन ब्युरो मेरो ‘स्टर्लिङ वर्क्स’ बाट प्रभावित भएको थियो। अर्कोे थियो बेलायत सरकारले नेपालका भूकम्पपीडितहरुका लागि पठाएको राहत सामग्री बोकेर धरानस्थित घोपा क्याम्पमा बेलायती सेनाको हर्क्युलिस विमान नउत्रेसम्म धरान नछाड्ने लन्डन ब्युरोको आदेश। हिसाबले तीन–चार दिन अरु बस्नुपर्ने थियो। मसँग पैसा थिएन। मैले दिल्ली ब्युरोलाई टेलेक्स लेखेँ। दिल्लीले त्यसलाई लन्डन ब्युरो पठाइदियो। चौबीस घण्टा नबित्दै विराटनगरको नेपाल बैङ्क लिमिटेडमा चालीस हजार रूपैयाँ आइपुग्यो, मेरा नाममा।

त्यसको दुई दिनपछि मात्र ओर्लियो हर्क्युलिस विमान। पूर्वाञ्चलका धेरै नेपाली बेलायती सेनामा कार्यरत रहेकाले बेलायत सरकार भूकम्पपीडितहरुको उद्धारकार्यमा निकै गम्भीर अभिरूचि लिइरहेको थियो। नेपाली सरकारको सुस्त गतिसँग बेलायत सरकार असन्तुष्ट थियो। राजदरबारका पदाधिकारीहरु घोपा क्याम्पबाट सोझै राहत वितरण गर्ने बेलायती सरकारको प्रस्तावसँग असहमत थिए। उनीहरु बेलायत सरकारले श्री ५ को सरकारलाई राहत सामग्री बुझाओस् भन्ने चाहन्थे। बेलायत सरकारलाई राहतमा धाँधली हुने आशङ्का थियो। प्रजातान्त्रिक प्रतिपक्षका नेता गिरिजाप्रसाद कोइराला र भारतको कोलकातामा कार्यरत मिसनरी मदर टेरेसालाई भूकम्पग्रस्त क्षेत्रको भ्रमणमा सरकारले लगाएको रोकले यो आशङ्कालाई मजबूत तुल्याएको थियो। हर्क्युलिस विमानमा राहत सामग्रीसहित लन्डनबाट आएका थिए रोयटर्सका संवाददाता। विमान ओर्लिनेबित्तिकै उनीसँग मेरो भेट भयो। मैले उनलाई भूकम्पपीडितहरुका बारे जानकारी दिएँ र धरानको फेरो मार्ने आग्रह गरेँ। तर उनी क्याम्पबाट बाहिर निस्कन चाहेनन्। उनी जुन विमानमा आएका थिए, त्यसैबाट दिल्ली जाँदै थिए। भूकम्पमा परेर मर्नेहरुको सङ्ख्या बढ्दो थियो। हर्ष र म पूर्वाञ्चलका गाउँगाउँबाट आएका सूचनाहरुका आधारमा समाचार लेख्दै थियौँ। हाम्रो र सरकारको सूचनामा आकाश–जमीनको अन्तर थियो। सरकार मृतकहरुको सङ्ख्या सकभर घटाएर सार्वजनिक गर्ने तानाबाना बुन्दै थियो। सरकारले तयार पारेको सूचीमा घाइतेहरुको सङ्ख्या बढी थियो। सरकारले घाइतेको सूचीमा राखेका कैयौँ व्यक्तिको मृत्यु भइसकेको थियो।

भूकम्पमा मर्नेहरुको सङ्ख्याका बारे रोयटर्सले आफ्नै स्रोतबाट प्राप्त सूचनाका आधारमा समाचार सम्प्रेषण गर्ने कि सरकारी तथ्याङ्कलाई नै मान्यता दिने? यसबारे दिल्ली ब्युरोले कुनै निर्णय गर्न सकेको थिएन। मैले बेलायतबाट आएका संवाददातासँग छलफल गरेँ। उनी असल पत्रकार थिए। उनले भने, ‘हामीले आफ्नै स्रोतलाई प्राथमिकता दिनुपर्दछ। यस्ता अप्ठेरा विषयमा सरकारी तथ्याङ्क भर लाग्दो हुँदैन। सरकारहरु तथ्याङ्कको राजनीति गर्न बडो सिपालु हुन्छन्।’

उनले भने जस्तै सरकारले भूकम्पमा परेर मर्नेहरुको तथ्याङ्कसँग राजनीति गर्‍यो। रोयटर्स र देशान्तर साप्ताहिकको तथ्याङ्क तथा सरकारी तथ्याङ्कमा धेरै अन्तर थिएन भने यसको कारण रोयटर्स समाचार नै थियो। रोयटर्सले घाइते र मर्नेहरुको सङ्ख्यामा निश्चित अडान नलिएको भए सरकारले तथ्याङ्कमा निकै धाँधली गर्ने थियो। मर्नेहरु घाइतेमा परिणत हुन्थे। यही तथ्याङ्कका कारण प्रधानमन्त्री मरीचमान सिंहको कोपभाजन बनेँ म। धरानबाट फर्किएपछि मैले देशान्तर साप्ताहिकमा ब्यानर न्युज लेखेँ— ‘काठमाडौँको सरकारलाई पूर्वाञ्चल थाहा छैन’। यो न्युज सरकारका लागि तातो तावा जस्तै बन्यो। यसमा मैले राहत कार्यमा भएका मनोमानी, भ्रष्टाचार, सरकारी कार्यकर्ताहरुको गैरजिम्मेवार कर्तुतहरुको पूरै विवरण दिएको थिएँ। यसले देशान्तरको इज्जत हलक्कै बढायो। पाठकहरुबाट पत्रिकाको माग ह्वात्तै बढ्यो।

रोयटर्ससँगको मेरो सक्रिय सम्बन्ध २०४६ साल माघसम्म रह्यो। रोयटर्सका दक्षिण एशिया प्रमुख माइकल निलको कार्यकाल सकिएको थियो। उनी लन्डन फर्किंदै थिए। रोयटर्सका दिल्ली ब्युरो चीफ ह्युग पेन पनि लन्डन फर्किसकेका थिए। उनी फर्किएपछि माइकल ब्याटे ब्युरो चीफ बन्ने क्रममा थिए। उनीसँग मेरो सम्बन्ध पूर्ण व्यावसायिक थियो, ब्युरो चीफ र रिपोर्टरको। उनले मेरो कामको प्रशंसामा थुप्रै टेलेक्स पठाएका थिए र निकै पटक मेरो स्टर्लिङ वर्क्सको तारिफ गरेका थिए। नेपालमा राजाका संवादसचिव चिरनशमशेर थापा, विश्व वन्यजन्तु कोषका चन्द्रबहादुर गुरूङ र त्यस बेलाका अरु केही महङ्खवपूर्ण मानिने व्यक्तिहरुसँग उनको निकै राम्रो सम्बन्ध थियो। चिरन थापा राजाका प्रमुख संवादसचिव भए पनि म उनको ढोकामा कहिल्यै गइनँ। चन्द्रबहादुर गुरूङ र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घका प्रमुख व्यक्तिहरुसँग मेरो राम्रो सम्बन्ध थिएन। यस्ता संस्थाहरु ज्ञानेन्द्र शाहको नियन्त्रणमा थिए। देशान्तर साप्ताहिकमा हामी यस्ता संस्थाहरुमा हुने भ्रष्टाचारका बारे रिपोर्टिङ गरिरहेका हुन्थ्यौँ। राजाको प्रेरणादायी नेतृत्वको बखान गर्दै आफ्नो स्वार्थ सिद्ध गर्न लागेका ठूलाबडा भनिने नेपालीहरुसँग ब्याटेको राम्रो उठबस थियो। यी व्यक्तिहरु जन–आन्दोलनका विरोधी थिए। उनीहरु प्रस्तावित जन–आन्दोलन भारतीय समर्थनमा हुन लागेको तर्क गर्दथे। ब्याटे उनीहरुको तर्कसँग सहमत थिए।

२०४६ फागुन ७ गते जन–आन्दोलन विधिवत् शुरु हुनुभन्दा केही सातापहिले ब्याटे नेपाल आएका थिए। त्यस बेला दरबारका संवादसचिवले निकै ठूलो आतिथ्य दिएका थिए उनलाई। म नेपाली काङ्ग्रेसको समर्थक र आन्दोलनकारी भएकाले रोयटर्सको निष्पक्षता कायम राख्न संवाददाताबाट मलाई हटाउनुपर्ने निष्कर्ष त्यही बेला निकालिएको थाहा पाएको थिएँ मैले। ब्याटे दिल्ली ब्युरोका प्रमुखका रुपमा आएदेखि नै मप्रति उनको वक्रदृष्टि पर्न थालेको थियो। नेपालका दरबारियाहरुले मलाई रोयटर्स संवाददाताबाट निकाल्न दबाव दिन थालिसकेका थिए। मेरो ठाउँमा ध्रुवहरि अधिकारीलाई ल्याउने ‘षड्यन्त्र’ भइरहेको जानकारी मैले पाइसकेको थिएँ। विदेशी समाचार एजेन्सीमा काम गर्ने सबैलाई दरबारको यो योजनाका बारे थाहा भइसकेको थियो।

(किशोर नेपालको आइतबार सार्वजनिक  ‘मेरो समय’ पुस्तकको  अंश)