२८ आश्विन २०८३, बुधबार

एमाले महाधिवेशन,जेठमा गाह्रो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं । एमालेको नवौं महाधिवेशन तयारीका लागि केन्द्रीय समितिले बनाएको कार्यतालिका उल्लंघन भएको छ। एक महिना १० दिनभित्र गर्नुपर्ने बाँकी काम हेर्दा पूर्वघोषित मिति जेठमै महाधिवेशन सम्पन्न गर्न गाह्रो पर्ने एमाले नेताहरू स्वीकार गर्छन्।

एमाले केन्द्रीय समितिले जेठ २४-३१ मा महाधिवेशन सम्पन्न गर्न तयार पारेको कार्यतालिकाअनुसार अहिले राजनीतिक दस्ताबेजमाथि स्थानीय समितिमा छलफल सुरु हुनुपथ्र्यो। तर अध्यक्ष खनालको संयोजकत्वको मस्यौदा समितिमा आइतबारदेखि मात्र छलफल सुरु भएको छ। ३३ सदस्यीय समितिमा बुधबार ६ जनाले बोलेका छन्। सोमबार ११ बजे पुन: बैठक बस्ने माधव ढुङ्गेलले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

चैत मसान्तमा नै सक्नुपर्ने दस्ताबेजको तयारी र सदस्यता नवीकरण पनि सकिएको छैन। अध्यक्ष खनाल वैशाख २४ गतेदेखि १० दिन चीन जान लागेकाले पनि समयमै महाधिवेशन हुनेमा पार्टीभित्रै शंका गर्न थालिएको छ। खनाल दस्ताबेज केन्द्रीय समितिबाट पारित गरी जाने योजनामा रहे पनि त्यो कठिन हुने देखिएको छ। खनाल नेतृत्वको २० सदस्यीय टोलीमा सचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य वेदुराम भुसाल, परशुराम मेघी गुरुङलगायत छन्।

बल्खुमा आइतबार बसेको बैठकमा पृथ्वी सुब्बा गुरुङले संघीयताका विषयमा पार्टीको धारणा प्रस्ट हुने गरी उल्लेख गर्न सुझाउ दिए। बोल्नेमध्ये उपाध्यक्ष वामदेव गौतम, केशवलाल श्रेष्ठ, रघुवीर महासेठ र परशुराम मेघी गुरुङले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै प्रस्तुतिबारे मात्र सुझाउ दिए। विष्णु रिमालले भने प्रतिवेदनमाथि अझै छलफल चलाउनुपर्ने बताए।

कार्यतालिकामा ‘०७१ वैशाख १५ देखि जेठ १५ सम्म दस्ताबेजमाथि छलफल गर्ने र सुझाउ संकलन गर्ने’ छ। मस्यौदा समितिले चैत मसान्तसम्म तयार पारिसक्नुपर्ने दस्ताबेजहरूमा केन्द्रीय समितिका तर्फबाट अध्यक्षले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवदेन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव हुन्। ती प्रतिवेदनमाथि वैशाख ५-१० गतेसम्म केन्द्रीय समितिमा छलफल गरी अन्तिम रूप दिने र वैशाख १५ सम्ममा दस्ताबेज छापेर स्थानीय तहमा पु:याइसक्ने कार्यतालिकामा छ।

मस्यौदा समितिमा अध्यक्षसँग असहमति राख्ने शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले बोल्नै बाँकी छ। समितिमा केही दिन बहस भएपछि समाजलाई अर्धसामन्ती पनि नभन्ने, पुँजीवादी पनि नलेख्ने बरु बीचको बाटोका रूपमा ‘संक्रमणकालीन समाज’उल्लेख गरेर सहमति खोज्ने प्रयास गरिने एक सदस्यले बताए।

सचिव युवराज ज्ञवालीले मस्यौदा समितिले टुंगो लगाइसकेपछि पनि थप एक साता केन्द्रीय समितिमै लाग्ने सम्भावना व्यक्त गरे। ‘मस्यौदा समितिले टुंगो लगाएपछि पनि कम्तीमा ५-६ दिन केन्द्रीय समितिले लगाउनेछ। त्यसपछि छापेर गाउँ समितिसम्मै पु:याउन पनि समय लाग्छ’, उनले भने, ‘दस्ताबेज तयार पारेपछि बस्ने केन्द्रीय समिति बैठकले नै महाधिवेशन सार्ने निर्णय ग:यो भने बेग्लै हो तर अहिलेसम्म सर्ने सम्भावना छैन।’ पार्टी नीतिबारे स्थानीय तहमा छलफल गर्न यसअघि एक महिनाको समय तोकेको भए पनि अब छलफलका लागि अत्यन्त छोटो समयमात्र मिल्ने उनले बताए।

वैचारिक बहसमा उत्रिएका युवानेता घनश्याम भुसाल छलफलका लागि समय छोटो हुँदै गएकोमा चिन्ता व्यक्त गर्छन्। ‘गाउँ समितिसम्म मात्र पु:याउने हो भने पनि दस्ताबेज नै ४०-५० हजार प्रति छाप्नुपर्ने हुन्छ’, उनले भने, ‘मस्यौदा समिति र केन्द्रीय समितिको बैठक गरी छलफल गर्दा अझै केही दिन लाग्छ। सैद्धान्तिक छलफलका लागि बाँकी समय पर्याप्त हुँदैन।’

कार्यतालिका र कार्यप्रगति हेर्दा जेठमै महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ। केपी शर्मा ओली पक्ष महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने अडानमा छ। ओलीका पक्षमा बनेको गठबन्धन टुट्ने आसमा अध्यक्षका अर्का दाबेदार माधव नेपाल पक्षधरचाहिँ औपचारिक रूपमा मुख नखोले पनि महाधिवेशन सर्ने सम्भावना स्वीकार गर्छ। बहिर्गमनको मनस्थितिमा रहेका अध्यक्ष खनालले पनि महाधिवेशन पछि धकेलेर केही समय पदावधि लम्ब्याउन चाहेको एमालेकै नेता बताउँछन्।

सदस्यता नवीकरण कार्यतालिका पनि उल्लंघन भएको छ। चैत मसान्तसम्म सक्नुपर्ने नवीकरण र त्यसको प्रमाणीकरण अझै भएको छैन। ‘प्रमाणीकरण थोरै जिल्लाको मात्र सकिएको छ तर ६० जिल्लाका सदस्यता नवीकरण संगठन विभागमा दर्ता भइसकेका छन्’, सचिव ज्ञवालीले भने, ‘महाधिवेशन गर्न भनेर ठाउँ बुकिङसमेत गरिसकेकाले सर्दैन होला।’

समय अत्यन्त साँघुरो भएको भए पनि अहिलेसम्म सार्ने प्रस्ताव नआएको उनले बताए। सदस्यताको विवरण संगठन विभागले रुजु गरी प्रमाणित गरेपछि मात्र केन्द्रीय समितिले कतिजना सदस्यबराबर एक प्रतिनिधि भन्ने तोक्नेछ।प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली समयभित्र महाधिवेशन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउँछन्। ‘दस्ताबेजमाथि छलफल गर्ने समय केही छोटिन्छ तर अधिवेशनचाहिँ तोकिएकै मितिमा गर्नुपर्छ’, उनले भने।