२८ आश्विन २०८३, बुधबार

चिनियाँ जहाज आइपुग्यो, पञ्चेबाजा बजाएर स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-airlines1

काठमाडौ। नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याइएको नयाँ चिनियाँ जहाज काठमाडौँमा अवतरण भएको छ ।

चीनमा निर्मित यो जहाज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । चीन सरकारले अनुदानमा उपलब्ध गराएको सो जहाजमा ५६ सिट क्षमता रहेको छ ।

मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको यो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ ।

निगमका महाप्रबन्धक मदन खरेलले चीन सरकारले अनुदानमा उपलब्ध गराएको दुईवटा जहाजमध्ये पहिलो चरणमा एमए ६० मोडलको जहाज आज आइपुगेको बताउनुभयो । चीन सरकारले नै अनुदानमा उपलब्ध गराउने अर्को जहाज भने केही समयपछि आइपुग्नेछ ।

विमानस्थलमा जहाज अवतरण भएपछि पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो भने मङ्गल कामना गर्दै मन्त्रोचारण समेत गरिएको थियो । नयाँ जहाजको स्वागतका लागि निगमका उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।

केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण शनिबार नै आइपुग्ने भनिएको जहाज आइतबार आइपुगेको हो ।

चीन सरकारले आन्तरिक उडानका लागि छ जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण पछिल्लो दिन आशंका बढेपनि शुक्रबार निगमले उक्त पत्र प्राप्त गरेको थियो तर प्राधिकरणले जहाजलाई उडान अनुमति भने दिएको छैन ।

प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले यो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताउनुभयो । “जहाज आवश्यक परीक्षण, बिमा, चालकको टुंगो नलगाई अनुमति दिन सकिँदैन,” महानिर्देशक सुमनले भन्नुभयो ।

निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याएको हो । नयाँ जहाज आएपछि केही सहजता पैदा हुने विश्वास लिइएको छ ।

चिनियाँ एभिएसन इन्ड्रस्टी कर्पोरेसन (एभिक)ले यो जहाज औपचारिकरुपमै निगमलाई गत चैत २० गते उपलब्ध गराइसकेको छ । आज अवतरण भएको जहाज अमेरिकी चालकले उडाएर ल्याएको बताइएको छ ।

एभिकले यही ढाँचाका जहाज जिम्बाबे, कङ्गो, लाओस, बोलिभिया, श्रीलङ्कालगायत मुलुकमा समेत उपलब्ध गराइसकेको छ । चीनभित्रै आन्तरिक उडानमा पनि यो जहाज प्रयोगमा रहेको बताइएको छ ।

Nepal-airlines