२८ आश्विन २०८३, बुधबार

श्रीमतीसंग फोनमा कुरा गर्दागर्दै कतारमा उड्यो श्रीमानको प्राणपखेरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar-Nepali-mirtu

कतार । करिब ४ बर्ष अघि सपनाको तानाबाना बुनेर कतार छिरेका पुरुषोत्तम गिरीको प्राणपखेरु अब यो संसारमा रहेन । गत अप्रिल २० तारिखको राति खाना खाइवरी चितवनको रत्ननगर नगरपालिकामा डेरा लिई बस्दै आएकी गिरीकी श्रीमती भवानी धिताल गिरी र उनका एकमात्र ९ बर्षीया छोरी प्रकृति गिरीसंग उनले कतारको समयानुसार रातको ११ बजे नेपाल फर्किएपछि गर्ने भावी योजनाका बारेमा भलाकुसारी गर्दै र छोरीका मागहरुलाई बाचा गरेका कुराकानीको स्मरण गर्दैछिन, धर्मपत्नी भवानी धिताल गिरी ।

स्यांग्जा जिल्ला शांखर गाविस वडा नं. ६ बेल्दीघाटमा रहेको ५ अंश लाग्ने जम्मा ६ रोपनी मात्र सुख्खा पाखाबारी भएका गिरी कामको सिलसिलामा १२ बर्ष अघि चितवन झरेका हुन् । चितवनमा उनीहरु एक अर्कामा मन पराएर भागी विवाह गरेका थिए । एक्लो ज्यान हुँदा त आफु पालिन धौधौ परेका गिरीले छोरी आकृतिको जन्म भएपछि ५ बर्षकी छोरी आकृति र श्रीमतीको सुखद भविष्यको कल्पना गर्दै ऋण गरी कतार आएका रहेछन् । आफ्नो माईतीघरको शरणमा रहँदै आएकी भवानीको लागि घर व्यवहारका कुरा र नितान्त प्रेमिल कुराकानी भएको अप्रिल २० को रात नै कालकूट सरह भयो ।

९ बर्षीया छोरी आकृति र श्रीमतीसंग अब दोश्रो पटकको छुट्टीमा घर आउने बाचा गर्दै एक घन्टा सम्म कुराकानी गरेर फोन राखेपछि उनलाई श्वाश प्रश्वाशमा कठिनाई भएर एकोहोरो आवाज निकाल्न थालेपछि एम्बुलेन्स बोलाएर अस्पताल लैजादै गर्दा बाटोमा नै गिरीको देहवसान भएको खबर पाएपछि यता चितवनमा रहँदै आएकी भवानी बेहोश हुन पुगिछन् । आफ्नै आड भरोसा नै यो संसारमा नरहेपछि भवानीलाई मानसिक आघात पुग्नु कुनै नौलो कुरो पनि भएन ।

बल्ल बल्ल करिब ४ बर्षमा आधाजसो मात्र नयाँ-पुराना ऋणबाट उन्मुक्ति पाएको अवस्थामा श्रीमानको त्यो अवस्थाको समाचार सुन्नुपर्दा भोलिका दिनमा टुहुरी छोरीलाई चेपेर बिताउनु पर्ने एकांकी पट्यारलाग्दो थुप्रै बर्ष निखन्न र तिर्न बाँकी रहेका साहु महाजनका बक्यौता ऋण कसरी तिर्ने भनेर उनी थप चिन्तित भएकी छिन् । सासु ससुरा लगायत देवर जेठाजु सहित ५ अंश लगाउनुपर्ने ६ रोपनी सुख्खा पाखा बारीमा केहि नफल्ने हुनाले बाँदरले पनि टेक्न छोडेको बारीको उब्जाउले न त बिधवी भवानीको छोरी आकृतिलाई नै दुई पेट अघाउञ्जी खान पुग्ने अन्न फल्छ, न त छोरीको लालनपालन र पढाईको लागि नै अन्य कुनै आयश्रोतको बाटो नै जिउँदो रहेको छ ।

यिनै भावी दिनको चिन्तामा ग्रस्त हुँदै भवको नियती र त्यसको फलस्वरुप सिर्जित बाध्यात्मक परिस्थितीवश सिर्जित काला दिनहरु सम्झिदै बिधवी भवानी कतारमा मृत्युवरण गर्न पुगेका आफ्ना पति गुम्नुको पिडाले आक्रान्त हुँदै लाश आउने दिनको प्रतिक्षामा बसिरहेकी छिन् । उनको पार्थिव शरीरलाई यथाशक्य छिटो नेपाल पठाउनको लागि कतारस्थित नेपाली नियोगका कार्यवाहक राजदुत गणेश ढकाल र स्यांग्जा सहयोग समाज कतारका अध्यक्ष रामु बस्याल लागिरहेका छन् ।

गिरी कार्यरत कम्पनीबाट सम्पुर्ण कागजात दुतावासमा आएको दिनमा नै उनको शव उनको निकट परिवारलाई तुरुन्त पठाउने प्रबन्ध गर्ने आश्वाशन दिदै कार्यवाहक राजदुत ढकालले भन्नुभयो, “यो हाम्रो दायित्व हो र गिरीको शवलाई जतिसक्दो छिटो नेपाल पठाउने कुरामा दुतावासले कुनै ढिलाई गर्ने छैन ।”

आफुलाई र छोरीलाई पाल्ने पोस्ने जिम्मा लिएर कतार भासिएका श्रीमान्को शीर ढलेपछि आक्रान्त भएकी भवानीले रुँदै भनिन्, ‘अब यो एउटा छोरीको शिक्षा दीक्षा र लालनपालन म एक्ली आईमाईले कसरी गरुँ ?’

निम्न आर्थिक अवस्था भएको माइतीघर चितवन डाँडागाउँमा आश्रय लिदै आएकी भवानीले बताईन् ,”छोरीको शिक्षादीक्षाको लागि सहयोगको अपेक्षा राख्दै भवानीले भनिन् छोरीको शिक्षा दीक्षाको लागि कोहि भगवान बनेर आईदिए आफुले एक झप्को निद्रा त पानीमाथि निदाएर पनि बिताउने थिएँ ।”