चितवन। जिल्ला निर्वाचन कार्यालय चितवनले चितवन क्षेत्र नम्बर ४ मा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ ।
आगामी असार ८ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि नयाँ र छुटेका मतदाताहरुलाई ध्यानमा राख्दै कार्यालयले फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो ।
पहिलो चरणको मतदाता नामावली संकलन कार्य यही वैशाख १६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा आजदेखि वैशाख १६ गतेसम्म पटिहानी, गीतानगर, शिवनगर, फुलवारी र भरतपुर नगरपालिका वडा नम्बर १३ र १४ का मतदान केन्द्रमा नामावली संकलन कार्यक्रम राखिएको ढकालले बताउनुभयो ।
त्यसैगरी दोस्रो चरणमा वैशाख १७ देखि १९ गतेसम्म मङ्गलपुर, गुञ्जनगर, शारदानगर र भरतपुर नगरपालिका वडा नम्बर ७, ८ र ९ का मतदान केन्द्रमा मतदाता नामावली संकलनको कार्यक्रम राखिएको छ ।
बिहान १० बजेदेखि सुरु हुने नामावली संकलनमा नागरिकताको परिचयपत्रसहित स्वयम् आफू नै उपस्थित भई नयाँ तथा छुटेका मतदातालाई नाम लेखाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ बाट विजयी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सो क्षेत्र छाडेपछि उपनिर्वाचन हुन लागेको हो ।












प्रतिक्रिया