बागलुङ, १३ वैशाख । बागलुङ जिल्लामा सञ्चालित अवैध इँटा उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ । अवैधानिक तवरले इँटा उद्योग सञ्चालन गरी ठूलो मात्रामा राज्यलाई तिर्नुपर्ने कर छली गरेको भन्दै प्रशासनले त्यस्ता इँटा उद्योगहरू बन्द गराउन प्रहरीलाई निर्देशन दिएको हो ।
धवलागिरि ए एन्ड एम इँटा उद्योगका सञ्चालक अमरबहादुर खड्काले जिल्ला प्रशासन कार्यालय बागलुङमा दिएको उजुरीका आधारमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले त्यस्तो निर्देशन दिनुभएको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय बागलुङ, करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिलाई पत्र लेखी बागलुङ जिल्लाभित्र अवैध रूपमा सञ्चालित इँटा उद्योगको सञ्चालन, इँटाको ओसारपसार र बिक्री वितरण गर्ने कार्यमा रोक लगाउन भनेको छ ।
सरकारले इँटा उद्योगलाई करको दायरामा आउन पटकपटक सूचना दिए पनि बागलुङमा सञ्चालित इँटा उद्योगले अवैध रूपमा कर छली इँटा बिक्री गर्दै आएको पाइएपछि बन्द गराउनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
देशका सबैजसो भागमा इँटा उद्योगहरू करको दायरामा आइसकेका र करको दायरामा नआउने इँटा उद्योग बन्द हुने क्रम चलिरहेको छ । बागलुङ जिल्लामा त्यस्ता अवैधखालका इँटा उद्योग दर्जनाँैको सङ्ख्यामा रहेको बताइन्छ । ती उद्योगले करको दायरामा नआइकनै खुल्लमखुल्ला रूपमा इँटा उत्पादन र बिक्री वितरण गर्दै आइरहेका छन् ।











प्रतिक्रिया