यूएई |यूएईमा क्रियाशील नेपाली राजनैतिक दलका प्रवास संगठनहरुको बैठकले समान मुद्दामा संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेका छ |
गत शुक्रवार दुबईमा सम्पन्न नयाँ बर्ष २०७१ को शुभकामना आदान प्रदान तथा समसामयिक बिषयमाथिको छलफलका क्रममा संगठनहरुले बृहत बहस गरेका छन् | पिडितलाई राहत सहयोग उपलब्ध गराउने, नेपालीलाई ठगि गर्ने बिरुद्ध तथा जनचेतना लगायतका बिषयमा उनीहरुले एकभइ अघि बढ्ने निर्णय गरेका हुन् | प्रवासी नेपाली मंच यूएईको आयोजना तथा मंचकै अध्यक्ष प्रकाश कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति यूएईका अध्यक्ष चित्रबहादुर केसी, नेपाली जनप्रगतिशील मंच यूएईका अध्यक्ष हेमन्त पौड्याल, नेपाली एकता समाज यूएईका अध्यक्ष कृष्ण केसी, र नेपाली जनप्रगतिशील मोर्चा यूएईका महासचिव पृथीछोक लामा सहित सबै संगठनबाट दर्जन बढी प्रतिनिधिको सहभागिता रहेको थियो |
उक्त बैठकले यूएईमा बिभिन्न समस्या भोगिरहेका नेपालीहरुलाई संगठनहरुको तर्फबाट संयुक्त र एकमुष्ठ रुपमा आवस्यकता हेरी सहयोग उपलब्ध गराउनका निमित्त पाँचवटै संगठनका प्रमुखहरुको सहभागिता रहनेगरी एक समिति गठन गरेको छ | उक्त समितिले यूएईमा नेपाल र नेपालीसंग सम्बन्धित अन्य सबै बिषयहरुमा आपसी छलफल मार्फत सबै संगठनहरुको समान धारणा बनाउदै लैजाने र सम्बन्धित नेपाली निकायहरुको ध्यानाकर्षण गराउने बताइएको छ | उक्त समितिलाई हरेक ६ महिनामा संलग्न पाँचवटै संगठन प्रमुखले पालैपालो नेतृत्व प्रदान गर्नेछन | गत शुक्रवारबाटै प्रारम्भ भएको पहिलो ६ महिने नेतृत्व नेपाली जनसम्पर्क समिति यूएईले गर्ने सहमति भएको छ | बैठकले उक्त समितिको प्रवक्तामा प्रवासी नेपाली मंच यूएईका महासचिव उत्तम अधिकारीलाई चयन गरेको छ |
त्यसैगरी उनीहरुले नेपालको सरकारी तहबाट हुने उच्च ओहोदाको यूएई भ्रमणका क्रममा दुतावास लगायतका स्थानमा नेपालीहरु सहभागी हुने औपचारिक कार्यक्रमहरुमा संगठनका प्रतिनिधिहरुको अनिवार्य उपस्थिति रहनुपर्ने भन्दै यस बिषयमा दुतावासलाई ध्यानाकर्षण गराउने भएका छन् | भिजिट भिसामा यूएई आउँदा व्यहोर्नुपर्ने नाता सम्बन्धि समस्या, श्रम नवीकरण सम्बन्धि झन्झटिलो प्रकृया लगायत बिषयमा समेत छलफल भएको थियो | यहाँका नेपाली श्रमिकहरुको समस्या, दुतावासबाट पाउनुपर्ने सेवाका बारेमा सेवाग्राहीहरुको गुनासा लगायतका महत्वपूर्ण बिषयमा दुतावास तथा नेपाल सरकार पररास्ट्र मन्त्रालय समक्ष संगठनहरुले संयुक्त धारणा प्रस्तुत गर्ने उक्त बैठकले निस्कर्ष निकालेको छ | सहभागी सबैले संगठनहरु बीच आपसी सहकार्य, निरन्तर संवाद र बहस हुनुपर्नेमा जोड दिएका थिए |
नेपाली श्रमिकहरुको स्वास्थ्यप्रति गम्भीर हुँदै बैठकले यूएईमा ब्यापक रुपमा फैलिरहेको Mers Corona Virusबाट यूएईमै केहि व्यक्तिहरुको मृत्यु भइसकेको र अलऐनमा एक नेपाली नागरिक समेत सोहि भाइरसका कारण उपचारार्थ रहेको पुस्टि भएकाले यूएईमा उक्त भाइरसबाट बच्नका लागि आवस्यक सबै उपाय अपनाउन र स्वास्थ्यका बारेमा सम्बेदनशील भइ आफु सुरक्षित रहन नेपाली समुदायलाई सचेत गराएको छ |











प्रतिक्रिया