काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा ग्लोबल आइएमइ बैंकको नाफा एक सय प्रतिशतले बढेको छ । चालु आवको चैत मसान्तमा बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३६ करोड १० लाख रुपैयाँ कमाएको थियो ।
गत वर्षको भन्दा २४ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा पनि उल्लेख्य मात्रामा बढेको हो । बैंकले यो चैतमा एक अर्ब २३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
त्यसैगरी बैंकले विदेशी मुद्रा विनिमयबाट गत वर्षकोभन्दा ५ करोड रुपौयाँ बढी आम्दानी गरेको छ । गत वर्ष ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष ९ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष बैंकको खराव कर्जामा भने खासै सुधार आएको छैन । गत वर्षको चैतमा कुल कर्जाको २.३० प्रतिशत रहेको खराब कर्जा यो चैतमा २.८२ प्रतिशत पुगेको बैंकले बिहिबार प्रकाशित गरेको वित्रीय विवरणमा उल्लेख छ ।
गत वर्षको तुलनामा बैंकको कष्ट अफ फण्ड भने उल्लेख्य मात्रामा घटेको छ । गत चैतमा ६.७४ प्रतिशत रहेको कष्ट अफ फण्ड यो चैतमा घटेर ४.६८ प्रतिशतमा झरेको छ । त्यसैगरी आधार व्याजदर पनि ९.९४ प्रतिशतबाट घटेर ८.२१ प्रतिशतमा झरेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकले ४९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३० अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यो त्रैमासको अन्तिममा ग्लोबल आइएमई र कमर्ज एण्ड ट्रष्ट गाभिएर ग्लोवल आइएमइकै नामबाट संयुक्त कारोबार गरेपछि बैंकको वित्तीय सुचकांकहरुमा गत वर्षकोभन्दा उल्लेख्य प्रगति देखिएको हो । चैत २६ गते दुई बैंक गाभिएर संयुक्त कारोबार गरेका थिए ।
मर्जपछि बैंकको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा २ अर्ब २५ करोड रुपैयाँ मात्रै थियो ।












प्रतिक्रिया