काठमाडौँ । नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको जहाज आइतबार काठमाडौँ आइपुग्ने भएको छ ।
चीनमा निर्मित सो जहाज आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने भनिए पनि विभिन्न कारणवश आइपुग्न नसकेको हो । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको सो जहाजमा ५६ सिट रहेको छ । मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ ।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार चीनबाट उडान गरेर नै सो जहाज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । ‘‘केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण आज जहाज अवतरण हुन सकेन, सबै प्रक्रिया मिलिसकेको छ, आइतबार जहाज आइपुग्छ ।’’
चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण पछिल्लो दिनमा आशङ्का बढे पनि शुक्रबार निगमले सो पत्र प्राप्त गरेको थियो तर प्राधिकरणले सो जहाजलाई उडान अनुमति भने दिएको छैन ।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताउनुभयो । “जहाजको आवश्यक परीक्षण जरुरत पर्छ, बिमा गरिएको छ वा छैन, जहाज कसले उडाउनेलगायत विषयमा आवश्यक जाँचपड्ताल नगरिकन त अनुमति दिन सकिँदैन ’’ महानिर्देशक सुमनले भन्नुभयो ।
जहाज आएपछि उडान अनुमति पनि दिने प्राधिकरणको भनाइ छ । पछिल्लो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा मुलुकको हवाई क्षेत्रमा विभिन्न खालका चुनौती एवम् समस्या देखिएकाले परीक्षण गर्न लागिएको हुन सक्ने विज्ञको भनाइ छ ।
निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याउन लागेको हो । गत फागुन ४ मा निगमसँग रहेको ट्विनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो ।
मर्मत सम्भारपछि उडाइएको निगमको सो जहाजले सबै उडान गन्तव्यमा सेवा प्रदान गर्न सकेको छैन । नयाँ जहाज आएपछि केही सहजता पैदा हुने विश्वास लिइएको छ । चिनियाँ एभिएसन इन्ड्रस्टी कर्पोरेसन (एभिक)ले सो जहाज निगमलाई औपचारिकरुपमै निगमलाई गत चैत २० गते उपलब्ध गराइसकेको छ । सो जहाज कुन मुलुकका चालकले उडाएर ल्याउने भन्नेबारेमा भने निगमले कुनै जानकारी दिएको छैन । अनुदानमा नै प्राप्त हुने अर्को जहाज भने दुई महिनापछि आइपुग्ने छ ।
एभिकले सो ढाँचाको जहाज जिम्बाबे, कङ्गो, लाओस, बोलिभिया, श्रीलङ्कालगायत मुलुकमा समेत उपलब्ध गराइसकेको छ । चीनभित्रै समेत आन्तरिक उडानमा सो जहाज प्रयोगमा रहेको छ ।












प्रतिक्रिया