२८ आश्विन २०८३, बुधबार

पद चाहिएको भए पार्टी छाडे हुन्छ: दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि नेता तथा कार्यकर्तालाई पद र प्रतिष्ठा चाहिएको भए पार्टी छाडेर जान सक्ने बताउनुभएको छ ।

एमाओवादी काठमाडौँको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले लाभका लागि पार्टीमा आउने र सो प्राप्त नभएपछि बाहिरिने प्रवृत्ति अब हुन नदिने बताउनुभयो । “ठूलो र भद्दा पार्टी हुनुपरेको छैन, क्रान्तिकारी पार्टी चाहिएको छ”– उहाँको भनाइ थियो ।

‘‘अब पनि पार्टी नसुध्रने हो भने विघटनको विकल्प छैन, त्यस कारण सबैको ध्यान सुधार्नतर्फ लाग्नुपर्छ’’ अध्यक्ष दाहालले भन्नुभयो ‘‘ रुपान्तरणका लागि नेता तथा कार्यकर्ता सबै सच्चिनुपर्छ, गुटबन्दी अन्त्य हुनुपर्छ ।’’

पार्टीका ठूला समिति कामकाजी हुन नसकेको भन्दै यही वैशाख १८ गतेदेखि सुरु हुने राष्ट्रिय सम्मेलनले सबै संरचना चुस्त, दुरुस्त बनाउने उहाँले उल्लेख गर्नुभयो ।

द्वन्द्वकालीन घटनालाई उचाल्न र जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई धरापमा पार्न केही विदेशी शक्ति अन्धाधुन्ध लागेको उहाँको आरोप थियो । ‘‘मौलिक ढंगले अगाडि बढेको मुलुकको शान्ति प्रक्रियालाई असफल पार्न ठुल्ठूला षड्यन्त्र भएका छन्, हामी जो जहाँ छाँै, त्यहीँबाट प्रतिवाद गर्नु नै आजको आवश्यकता हो ।’’अध्यक्ष दाहालले भन्नुभयो ।

एमाओवादीका नेता डा बाबुराम भट्टराईले पार्टीमा देखिएका खराब प्रवृत्ति अन्त्य गर्न नेतृत्वबाटै सचेत पहलको जरुरी रहेको धारणा राख्दै भन्नुभयो, ‘‘सिद्धान्त मात्रै जपेर केही हुनेवाला छैन, अब कार्यशैली र आचरणसमेत बदल्नुपर्छ, त्यसो नगर्ने हो भने आगामी दिन सुखद हुन सक्दैन ।

अर्का नेता नारायणकाजी श्रेष्ठले विगतमा पार्टी राष्ट्रियता र जनजीविकाका विषयमा पार्टी चुकेको भन्दै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने तथा नयाँ र पुरानाको भेदभाव नराखी सबैलाई समान अवसर दिएर नेतृत्वमा स्थापित गराउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेताहरू लीलामणि पाखरेल, शशी शेरचनलगायतले आफ्नो धारणा राख्नुभएको थियो । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।