२८ आश्विन २०८३, बुधबार

पत्रकारलाई चुनावी रन्को, प्रेस चौतारीले छान्यो उम्मेदवार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepal

काठमाडौं। प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघका आगामी अधिवेशनका लागि उम्मेदवार तय गरेको छ ।

यसअघि नै अध्यक्षको उम्मेदवार चयन गरिसकेको चौतारीको केन्द्रीय सचिवालय बैठकले शुक्रबार थप पदाधिकारी र सदस्यहरुको नाम छानेको हो । प्रेस चौतारीबाट कोषाध्यक्षमा सुर्खेतका सूर्यमणि गौतम उम्मेदवार चयन गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत गौतम नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक हुनुहुन्छ ।

बैठकले केन्द्रीय सदस्यहरु भने निम्नानुसार छानेको छ :

पूर्वाञ्चल– गणेश पोखरेल (झापा)
मध्यमाञ्चल– चीरञ्जीवि मास्के (दोलखा)
पश्चिमाञ्चल– हरिनारायण गौतम (बागलुङ)
मध्यपश्चिम–झलक गैरे (बाँके)
उपत्यका– रामहरि सिलवाल (काठमाडौं)
प्रतिष्ठान– सुरज आचार्य (इमेज च्यानल)
आदिबासी जनजाति– लक्की चौधरी (लोकबहादुर)
दलित– किसान संगीत नेपाली (लमजुङ)
मधेशी– बेचु गौड (नवलपरासी)
कर्णाली– नवराज महतारा (हुम्ला)
महिला– पवन बर्षा शाह (कारोबार दैनिक–काठमाडौं)
निलिफा सुब्बा (सुनसरी)

एसोसियट र सुदूरपश्चिम विकास क्षेत्रको भने उम्मेदवार चयन गर्न बाँकी छ । बैठकले प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । यसैगरी, क्रान्तिकारी पत्रकार संघसँग भएको सहमति अनुमोदन समेत गरेको वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकमा एमाले केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापा, प्रेस चौतारीका निवर्तमान अध्यक्ष गगन विष्ट, सल्लाहकारहरु प्रमोद दाहाल, गणेश बस्नेत र श्रीधर आचार्यको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी नेपालले यसअघि नै डा महेन्द्र विष्टलाई अध्यक्षको उम्मेदवार घोषणा गरिसकेको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशिल विष्ट नेपाली पत्रकारितामा विद्यावारिधी गर्ने पहिलो पत्रकार समेत हुनुहुन्छ । बिष्टलाई प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले साझा उम्मेदवारका रुपमा अघि सारेका छन् । यसैगरी, क्रान्तिकारी पत्रकार संघबाट उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजीर मगर र सचिवमा संगीता खड्काको उम्मेदवारी तय भइसकेको छ ।

क्रान्तिकारी पत्रकार संघले पूर्वाञ्चलमा गणेश लम्साल (मोरङ), मध्यमाञ्चलमा सुनिल खड्का (मकवानपुर), पश्चिमाञ्चलमा रुद्र भट्ट (कास्की) र मध्यपश्चिमाञ्चलमा उजय द्वीप (दाङ) लाई उम्मेदवार बनाउने बताइएको छ ।

प्रेस युनियनले भने यसअघि नै पोषण केसीलाई अघि सारेको छ । प्रेस युनियनले उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रामजी दाहाल वा जगत नेपाल, सचिवमा राजेश मिश्र, कोषाध्यक्षमा प्रकाश थापालाई उठाउने बताइएको छ ।

विष्ट नेतृत्वको टोली सुदूरपश्चिम र मध्यपश्चिमतर्फ

यसैबीच, मतदातासँग छलफल गर्न अध्यक्षका उम्मेदवार डा. महेन्द्र विष्ट नेतृत्वको टोली सुदूरपश्चिम र मध्यपश्चिमका जिल्ला पुगेको छ ।

टोलीमा उपाध्यक्षका उम्मेदवार खिलबहादुर भण्डारी, कोषाध्यक्षका उम्मेदवार सुर्यमणि गौतम, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य हुनुहुन्छ । टोलीले सुदूरपश्चिमका जिल्लामा संचारकर्मी र संचार क्षेत्रले भोगेका समस्या र त्यसका समाधानका विषयमा छलफल एवं अन्तरक्रिया गर्ने डा. विष्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका केही जिल्लामा छलफल सकेपछि आइतबार नेपालगन्जमा उपलब्ध संचारकर्मीसँग छलफल गर्ने कार्यक्रम छ । त्यसलगत्तै राजधानी फर्केर पत्रकारहरुसँग छलफललाई निरन्तरता दिने बताइएको छ ।