काठमाडौँ। सरकारले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटका खेलाडीहरूलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रोत्साहन स्वरुप पुरष्कारको घोषणा गरेको हो ।
बैठकले आसन्न नेपाल पत्रकार महासंघको महाधिवेशनको सहयोगार्थ २० लाख अनुदान रकम दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालका अनुसार, बैठकले संविधानसभाका सभासद्को सिफारिसका आधारमा विकास निर्माणको काममा खर्च गर्ने गरी यस आर्थिक वर्षका लागि १० लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई युनिफिलको हेडअफ मिसनमा फोर्स कमान्डरको पदमा प्रतिष्पर्धा गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
शिक्षक नियमावलीमा संशोधन गरी अस्थायी शिक्षकको रिक्त दरवन्दीमा स्थायी गर्ने प्रक्रिया समय लाग्ने र शिक्षकको अभाव हुने भएकाले २०७५ सालसम्म एक पटकमा छ महिना नबढाई म्याद थप गर्नसक्नेगरी शिक्षा नियमावली संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले स्थानीय शासन र सामुदायिक विकास कार्यक्रमका लागि नर्वेबाट ९३ करोड ५० लाख सहायता रकम स्वीकार गरेको छ ।
सोही अवसरमा सञ्चारमन्त्री डा रिजालले हालै पेट्रोलियम पदार्थको मूल्य बढ्ने आसयको खबर पत्रपत्रिकामा प्रकाशन भएको र आफूले त्यस्तो किसिमको अभिव्यक्ति नदिएको भन्दै संसदले निर्णय नगर्दासम्म सरकारले यसमा केही गर्न नसक्ने र संसदको निर्देशनअनुरूप सरकारले खर्च गर्नुपर्ने स्पष्ट पार्नुभयो ।












प्रतिक्रिया