काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले पार्टीको आउँदो नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतरुपमा नेतृत्व हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
युवा संघ नेपालले आज यहाँ आयोजना गरेको केन्द्रीय अभियानको घोषणा कार्यक्रममा नेता ओलीले नेतृत्वको चयन सर्वसम्मत हुने र नेतृत्व हस्तान्तरणको सवालमा सन्देह नराख्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो नवौँ महाधिवेशन पार्टी निर्माणका लागि कोशेढुङ्गा सावित हुनेछ, आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी कसको विचारको अगुवाईका आधारमा यहाँसम्म आइपुग्यो भन्ने कुराको मूल्याङ्कन कार्यकर्ताले गर्ने नै छन् ।’
अहिले केही नेतालाई विभिन्न ढङ्गले सिङ्गारपटार गरेर प्रस्तुत गर्ने काम गरिएको बताउँदै नेता ओलीले भन्नुभयो – नेतृत्वका लागि इच्छा प्रकट गर्नु एउटा कुरा हो तर पार्टीलाई कसले कसरी गति दिन सक्छ भन्ने कुरा नै महत्वपूर्ण हुन्छ ।
उहाँले एमाले अब पश्चगमनमा जान नसक्ने र यो पार्टी अग्रगामी बाटोमा लम्कने विश्वास व्यक्त गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा स्थापित गर्न आफू समक्ष रहेको दाबी पनि गर्नुभयो ।
नेता ओलीलाई पार्टीको अध्यक्ष बनाउनुपर्नेमा उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले पनि सार्वजनिक मन्तव्य दिँदै आउनुभएको छ ।
कार्यक्रममा पार्टीका सचिव शङ्कर पोखरेल, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, हिक्मत कार्की, राजन भट्टराईलगायतको उपस्थति थियो ।
सङ्घका अध्यक्ष महेश बस्नेतले सङ्गठन निर्माण, परिचालन र रुपान्तरण (सरु), रचनात्मक तथा व्यावसायीकरण (रवी) र जनसम्बन्ध तथा सामाजिक न्याय (जस) गरी तीन अभियान घोषणा गर्नुभयो । यी अभियान यही वैशाख ६ देखि असार ६ गतेसम्म सञ्चालन हुनेछन् ।
यसैबीच, एमालेका वरिष्ठ नेता नेपालले आज पार्टीको नवौँ महाधिवेशनका सन्दर्भमा अर्थविद् र व्यवसायीबीच छलफल गर्नुभएको छ । नेता नेपालले पनि पार्टीको अध्यक्षमा आफूलाई प्रस्तुत गरिसक्नुभएको छ ।
ओली निकटका सचिव शङ्कर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, प्रदीप नेपाल, छविलाल विश्वकर्मा र थममाया थापाले पनि अलग्गै भेला डाकी महाधिवेशनमा नेतृत्व हस्तान्तरणबारे कार्यकर्ता भेटघाट कार्यक्रम राख्नुभएको थियो ।












प्रतिक्रिया