कञ्चनपुर, ८ वैशाख । पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पछिल्ला पाँच वर्षयता बाह्रसिंगे बढ्दै गएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पछिल्ला पाँच वर्षयता बाह्रसिंगेको संख्या दोब्बर बढेको हो । आरक्ष कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार गत वर्षको तुलनामा १३१ को संख्याले बाह्रसिंगे बढेको छ ।
तथ्यांक अनुसार, २०६५ मा एक हजार ७ सय १५ रहेको बाह्रसिंगोको संख्या अहिले दुई हजार ३ सय १ पुगेको छ ।
भाले बाह्रसिंगेभन्दा पोथी बाह्रसिंगेको संख्या बढी छ । भाले ७७७ रहेका छन् भने पोथी एक हजार ३९० रहेका छन् । जसमध्ये १३४ बच्चा रहेका छन् । संसारमा तीनवटा उपप्रजातिका बाह्रसिंगे पाइने भएता पनि नेपालमा एक मात्र उपप्रजाति पाइने गरेको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । शुक्लाफाँटामा सर्भर डेभिसेली नामक उपप्रजाति बाह्रसिंगे पाइन्छ ।
बाह्रसिंगेको अनुकूल बासस्थान शुक्लाफाँटाको दक्षिणी क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान, चोरीसिकारी नियन्त्रण र सिमसार व्यवस्थापन भएका कारण पनि बाह्रसिंगे बढेको संरक्षण अधिकृत रेग्मीको भनाइ छ ।
प्रत्यक्ष ब्लक गणना विधिबाट यस वर्ष बाह्रसिंगेको गणना गरिएको र गणनामा २८ प्राविधिक, पाँच हात्ती र दुईवटा जिप परिचालन गरिएको जानकारी उहाँले दिनुभयो ।











प्रतिक्रिया