चितवन, ३ वैशाख । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेका अभियुक्तको बयान शुरु भएको छ ।
जिल्ला अदालत पु-याइएका अभियुक्त छविलाल पौडेल र भीमसेन पौडेलसँग बयान शुरु गरिएको हो । अभियुक्त छविलालसँग अदालतले मंगलबारदेखि बयान थालेको श्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए । पक्राउ परेका दुई अभियुक्तसहित १३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा अभियोगपत्र दर्ता भएको छ ।
अधिकारी परिवारले शुरुमा ११ जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीको अनुसन्धानबाट तीन जना थप भएको थियो । परिवारले नै गृह मन्त्रालयमा दिएको उजुरीमा जानुका पौडेलको नामसमेत उल्लेख गरिएको थियो ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएका तीन अभियुक्तमध्ये दुईको सशस्त्र द्वन्द्वमा मारिएका कारण १३ जना विरुद्ध मात्र अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला न्यायाधीवक्ता एकनारायण लम्सालले बताए ।
बयानपछि थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठलगायत २० जना वकिल तयारीमा छन् ।
प्रहरीले यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेलविरुद्ध आतङ्ककारी तथा विध्वंसात्मक अपराधअन्तर्गत मुद्दा चलाएकामा अहिले भने उनीहरूविरुद्ध ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा (१) अर्थात सर्वस्वसहित जन्मकैदको मागसहितको मुद्दा चलाएको छ ।
यसअघि प्रहरीले द्वन्द्वमा मारिएका भनिएकाको प्रष्ट विवरण पेस गरेको थिएन । जिल्ला न्यायाधीवक्ता लम्सालका अनुसार यसपटक प्रहरीले मारिएकाको नाम, थर र वतन स्पष्ट उल्लेख गर्नुका साथै मारिएको प्रमाणसमेत पेस गरेको छ ।
प्रहरी प्रतिवेदनमा अभियुक्तले पोलिग्राफी गर्न इन्कार गरेको समेत उल्लेख गरिएको लम्सालले बताए । पोलिग्राफीबाट झुटो बोलेको हो होइन पत्तालगाउन सहज हुनेछ ।
जिल्ला अदालतमा फौज्दारी मुद्धा हेर्नुहुने न्यायाधीश विनोदमोहन आचार्य बिदामा रहनुभएकाले अतिरिक्त जिल्ला न्यायाधीश हिमलाल बेलवासेले बयान थाल्नुभएको अदालतले जनाएको छ ।













प्रतिक्रिया