सुन्दरीजल । काठमाडौंको उत्तर–पूर्वी भेगस्थित नयाँपाटी गाविसमा संस्थागत विद्यालयको छात्रावासका नाममा अवैध रुपमा बालगृह चलाइरहेको रहस्य खुलेको छ ।
जोरपाटी–३ स्थित नयाँबस्तीमा रहेको पेगासस अङ्ग्रेजी विद्यालयले नयाँपाटी–८ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सीमामा गुपचुपरुपमा पेगासस चिल्डे«न वेलफेयर नामक बालगृह जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सार्वजनिक रुपमा भने पेगासस छात्रावास देखाएको हो ।
२०६७ असोज ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको वेलफेयरको कार्य समितिमा विद्यालयका लगानीकर्ता अध्यक्ष र अन्य दुई शिक्षक सदस्य रहेका छन् ।
पेगासस विद्यालयका लगानीकर्ता र प्रधानाध्यापकसमेत रहेका वेलफेयर अध्यक्ष किन्ले डेण्डुप तामाङ लामाको नाममा रहेको आठ रोपनी जग्गामा बनेको भवनमा ८० जना बालबालिका आवासीय सुविधासहित बसिरहेका छन् । सबै विद्यार्थी पेगासस विद्यालयमै अध्ययन गर्ने गरेको लामाले बताए ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्याल छात्रावास हेर्ने सम्बन्धमा कुनै नियम कानुन नभए पनि छात्रावास भन्दै बालगृह चलाउन नपाइने बताए ।
काठमाडौं उपत्यकामा ४०० बालगृह दर्ता भए पनि सोभन्दा बढी सङ्ख्यामा अवैध बालगृह दर्ता नभई चलिरहेको दीलशोभा प्रकरणले नै पुष्टि गरेको जनाईएको छ ।











प्रतिक्रिया