२८ आश्विन २०८३, बुधबार

संसदमा नाराबाजीको छानविन गर्न समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पूर्ण प्रसाद चौलागाईं

काठमाडौँ, २८ फागुन । व्यवस्थापिका–संसद् सचिवालयले बुधबार व्यवस्थापिका–संसद्को कारबाही सञ्चालन भइरहेका बेला दर्शकदीर्घाबाट भएको नारावाजीका सम्बन्धमा छानविन गर्न सचिवालयका सहसचिव कृष्णहरि खड्काको संयोजकत्वमा एक छानविन समिति गठन गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दिनुभएको जानकारीअनुसार छानविन समितिमा उपप्रमुख मर्यादापालक हरिभक्त खड्का र प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको छ ।

समितिलाई भविष्यमा संसदीय मर्यादा र प्रतिष्ठामा आँच पुग्न नदिन कुन–कुन क्षेत्रमा सुरक्षा निकायलगायत सचिवालयले विशेष सावधानी अपनाउनुपर्ने हो भन्ने विषयमा समेत अध्ययन गर्न कार्यादेश प्रदान गरिएको छ ।

यस्तै दर्शकका रुपमा नारावाजीमा संलग्न व्यक्तिहरुले व्यवस्थापिका–संसद्का सदस्यहरुबाट प्राप्त गर्ने प्रवेश अनुमतिका लागि कुन–कुन राजनीतिक दलका को–को सदस्यबाट सिफारिस भई दर्शक प्रवेश अनुमतिपत्र प्राप्त भएको हो सोलगायत विषयमा गहन अध्ययन विश्लेषण गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यक्षेत्र र कार्यविधि दिइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।