१० कार्तिक २०८३, मंगलबार

नेपालीहरू हँसिला र खुसी छन् भन्ने देखाउन चाहन्छु : मिजुतानी कोजी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल र जापानबीच लामो समयदेखि मैत्रीसम्बन्ध रही आएको छ । राज्यस्तरमा रहेको सम्बन्धलाई दुई देशका जनताले पनि उत्तिकै महत्व दिएको पाइन्छ । विशेष गरेर पछिल्लो समय २०७२ सालको वैशाख १२ गतेको भूकम्पपछि तंग्रिदै गरेको नेपाललाई जापानले सहयोग गर्दै आएको छ । जापान मात्रै होइन त्यहाँका जनताले पनि व्यक्तिगत होस् वा संस्थागत रुपमा सानातिनो सहयोग गर्दै आएक छन् ।
जापानी नागरिहरूले सामाजिक क्षेत्रमा धेरै सहयोग गरिरहेका छन् । काठमाडौंको ट्राफिक व्यवस्था सुधार होस् वा भूकम्पले भत्किएका स्कुल निर्माण, अनाथ बालबालिकाको लालनपालन र भरणपोषण आदिमा सहयोग गर्दै आएका छन् ।

यसैक्रममा जापानी नागरिक मिजुतानी कोजी नेपालमा सहयोग गर्ने उदेश्यले आएका छन् । कोजीले भूकम्पपछि असुरक्षित महसुस गर्दै नेपाल भ्रमणमा आउन नचाहने विश्वभरका नागरिकलाई लक्षित गरी ‘मेरी नेपाल’ अर्थात् ह्याप्पी नेपाल अभियान शुरु गरेका हुन् । पहिलो चरणमा उनले बौद्धस्तुपामा विशेष कार्यक्रम गरे । भूकम्पको पीडालाई नजिकबाट बुझ्ने भएकाले नेपालको आर्थिक विकास, सामाजिक र पारिवारिक सुःखका लागि सहयोग गर्ने उनको उद्देश्य छ ।

कोजीले मेरी प्रोजेक्ट नै स्थापना गरी चैत ३ देखि अभियान नै थालेका हुन् । कोजीको अभियानलाई समाजसेवी गणेशमान लामाले विशेष सहयोग गरिरहेका छन् । भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका बेला उनको यो अभियानले नेपाल र नेपालीलाई ठूलो मद्दत पुग्नेछ ।

० तपाईको ‘मेरी प्रोजेक्ट’को उदेश्य के हो ? नेपालमा कसरी आइपुग्नु भयो ?

– ‘मेरी’ भनेको खुसी हो । विश्वभरिका नागरिक खुसी अर्थात हँसिलो होउन् भन्ने म चाहन्छु । यो अभियान सन् १९९९ देखि शुरु गरेको हुँ । विश्वभरिका जनतामा कसरी खुसी ल्याउन सकिन्छ भनेर कार्यक्रम थालेको हुँ । यही हो मेरो उदेश्य हो । नेपालमा आउन मलाई पहिलादेखि नै मन थियो । कार्यक्रम मिलाएर आएँ । मैले ठूलो साथ पनि पाएको छु ।

० यो अभियानमा लाग्न तपाईलाई कसले प्रेरणा दियो ?

– दोस्रो विश्वयुद्धका बेला मेरो बाबु घाइते हुनु भएको थियो । त्यसको पीडा परिवारमा धेरै थियो । त्यो पीडालाई भुलाउन केही गर्नु पर्छ भन्ने मेरो मनमा लाग्यो । त्यतिबेला म जम्मा तीन वर्षको थिएँ । पछि ठूलो भएर म यही अभियानमा लागे । समाज र परिवारलाई हँसिलो देख्न चाहन्छु । हँसिलो बनाउन चहुन्छु ।

० यो अभियानमा लाग्नु अगाडि तपाईले कुनै पेशा व्यवसाय गर्नु हुन्थ्यो ?

– म ग्राफिक डिजाइनर हुँ । मेरो पेशा राम्रो थियो । कमाई पनि राम्रो गरेको थिएँ । त्यस बेला जापानमा आर्थिकमन्दी थियो । त्यस्तो बेला मेरो ग्राफिक डिजाइन(आर्ट)को पेशा राम्रो हुँदाहुँदै पनि हँसिलो समाज बनाउन म क्रियाशील भएँ । म पैसालाई भन्दा पनि खुसीलाई ध्यान दिने व्यक्ति हुँ । एउटा मानिसमा आउने खुसी मेरालागि सबैभन्दा ठूलो अर्थ र मायने राख्छ । अभियानले मेरो परिवार खुःसी छ । म पनि यसैमा खुसी छु ।

० नेपालमा किन आउनु भयो नि ?

– नेपालमा भूकम्प आएको मैले पत्रपत्रिका र विभिन्न सञ्चारमाध्यमबाट पढेको थिएँ । मलाई नेपालमा आएर ‘मेरी नेपाल’ अभियान चलाउने मन लागेको थियो । समाजसेवी गणेशमान लामाले यसको चाँजोपाँजो मिलाइदिनुभयो । यहाँका विभिन्न संघसंस्था र नागरिकहरूले मेरो अभियानमा सहयोग गर्नुभयो । पहिलो चरणको कार्यक्रमबाट म धेरै खुसी छ । अब क्रमशः ‘मेरी नेपाल’को अभियान चलाउनेछु । यो अभियान निरन्तर चल्नेछ ।

० यस्तो अभियान कति देशमा चलाउनु भयो ?

–अहिलेसम्म ‘मेरी प्रोजेक्ट’ ३० देशमा चलाइसकेको छु । जहाँ जहाँ गएँ त्यहाका जनतालाई हँसिलो बनाउने अभियान चलाएँ । नेपालमा म महिलो पटक आएको हुँ । यो अभियान विश्वभरि गरिनेछ । वैशाख १२ को भूकम्पबाट नेपाली जनता दुःखी भए पनि खुसी छन् । नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभरि फैलाउनु छ ।

० मेरी प्रोजेक्टको कार्यक्रम अब फेरि नेपालमा कहिले हुन्छ ?

– २०७४ सालको वैशाख १२ गते काठमाडौंमा विशेष कार्यक्रम गर्नेछु । त्यो कार्यक्रम हँसिलो नेपालका लागि विशेष हुनेछ । मानिसहरू उल्लेख्य रुपमा उतारिनेछ । विश्वभरिका मिडियालाई बोलाइनेछ । नेपाल सुरक्षित र हँसिलो छ भन्ने सन्देश दिइनेछ ।

० यो अभियान नेपाल र अरु देशमा चलाउँदा केही भिन्नता पाउनु भयो ?

– धेरै भिन्नता पाएँ । नेपालमा जनताहरू विशेष गरेर बालबालिकाहरू निस्वार्थ भावना रहेको पाएँ । उनीहरू त्यति ठूलो भूकम्पको पीडालाई भुलेर आफ्नो दिनचार्यमा लागेको पाएँ । नेपाली जनता खुसी रहेको देख्न पाएँ । अरु देशमा भन्दा नेपालमा अलिक फरक पाएँ । विश्वका अरु देशमा नेपालमा जस्तो सहज थिएन । अरु देश र नेपालका जनताको जीवनशैलीमा भिन्नता पाएँ । युरोपमा यस्तो कार्यक्रम गर्दा कुनै अर्थ रहँदैन । त्यहाँको अर्कै अवस्था छ । तर, नेपालमा सानो रुपमा गरिने कार्यक्रमले पनि ठूलो प्रभाव पार्छ । बुद्ध जन्मिएको यो देशमा हँसिलो अभियान चलाउँन पाउँदा म आफै खुसी छु । जापान जन्मथलो र नेपालाई कर्मथलोका रुपमा लिएको छु ।

० तपाईले छातामा सम्बन्धित देशका बालबालिका र नागरिकहरूको तस्बिर बनाएर प्रदर्शनी गर्नु हुँदो रहेछ किन हो नि ?

– मान्छेको ध्यान आकर्षण गर्नुपर्छ । उनीहरूलाई त्यो देशका विषयमा जानकारी गराउनु पर्छ । निकट भविष्यमा जापानमा ओलम्पिक गेम हुँदै छ । त्यस बेला मेरी प्रोजेक्टले नेपालसम्बन्धी प्रदर्शनी गर्नेछ । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गरिनेछ । फोटोहरूबाट धेरै कुराको सन्देश दिन सकिन्छ ।