२८ आश्विन २०८३, बुधबार

क्षेत्री–बाहुनले गर्दा नै जनजाति पछि परेका हुन् त ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tsewang-Sherpalamaहामी नेपालीहरुले पहिचानको कुरा गर्न साथ या त जनजातिको कुरा भन्छौ वा बाहुन बिरोधी विषय ठान्छौं । वास्तवमा पहिचानको राजनीति नेपालको इतिहास जत्तिनै पुरानो छ ।

पृथ्वीनारयण शाहले, शाह बम्सको पहिचान सँगै एउटा सिंगो नेपालको पहिचान दिए । र, नेपाली हिन्दु धर्म आस्तिक र भक्तजनहरुले हिन्दु राष्ट्रको पहिचान दिए । पञ्चायत व्यवस्था, धर्मनिरपेक्ष संबिधान, राजनीतिक प्रजातान्त्रिक व्यवस्था, तेस्रो लिंगी अधिकार व्यवस्था आदि–इत्यादि अनगिन्ती पहिचानको व्यवस्थाहरु नेपालको राजनीतिमा प्रस्तुत भएको छ । अहिले त पहिचानको यो राजनीति नेपालमा नौलो विषय नै रहेन ।

जहाँसम्म नेपालमा जनजाति र आदिबासीको पहिचानको विषय केलाउने हो भने सर्बप्रथम यो पनि एउटा राजनीतिनै हो भन्नमा लजाउनु पर्ने विषय हैन । जनजाति र आदिबासीको पहिचानको अधिकार व्यवस्थामा क्षेत्री बाहुनहरुलाई मात्र दोष दिने अथवा जनजाति र आदिबासीहरु मात्रै सँधै र सबै शोसित रहेको नौटंगी गर्नुपर्ने जरुरत छैन । अथवा जनजाति र आदिबासीको पहिचानको अधिकार व्यवस्थाबाट बाहुन क्षेत्रीहरु आतिन्नु पर्ने पनि छैन । नेपालमा जनजाति र आदिवासी पहिचानको डढेलो लगाउन सुरु गर्नेहरु सत्ताधारी, अझ त्यसमा पनि खस आर्य समूदायकै थिए । जनजाति र आदिबासीहरु हैन । राजा महेन्द्रले, बाहुन नेतृत्व रहेको भूमिगत पार्टीहरुलाई चेक एण्ड बेलेंस राख्न “सेतामगरालि“ (शेर्पा, तमाङ, मगर, राई, लिम्बु) जनजाति संगठन खोल्न दिएका थिए । माओवादी (बाहुन नेतृत्व रहेको) ले त झन् दलित, जनजाति र आदिवासी पहिचानको डढेलो लगाएर राज्यशक्ति कब्जा गर्ने राजनीतिक दस्ताबेजनै प्रस्तुत गरेको थियो ।

राज्यशत्तामा, सरकारीसेवा क्षेत्रमा अथवा कुनैपनि क्षेत्रमा जनजाति र आदिबासीको पहिचान पछाडिनुको कारणहरु खस आर्यहरुको स्वार्थले मात्र हैन । जनजाति र आदिबासीको पहिचान पछाडिनुको कारणहरुमा प्रमुख कारण जनजाति र आदिबासीहरुको कमीकमजोरीहरुले गर्दा नै हो भन्नमा हिच्किच्याउनु आफैसँग सत्य लुकाउनु बराबर हो । कुनै पनि खेलमा खेलाडीहरु प्रतिस्पर्धा गर्न सक्षम छ भने सँधै हारिँदैन, राजनीति पनि एउटा खेल हो । राजनीतिक दौडमा पछाडि पर्नुको पछाडि आदिबासी जनजातिकै कमजोरी मुख्य कारण हो । अरुसँग दौडन नसक्ने अनि पछाडि परेँ भनेर कसरी हुन्छ ?

मानवताको मार्ग रेखाबाट धर्म नछोडि तथ्यांक हेर्ने हो भने नेपालमा बाहुन–क्षेत्रीहरु पनि उत्तिकै शोषित, पीडित र नागरिक अधिकारबाट बन्चित पाइन्छ । जति जनजाति र आदिबासीहरु पहिचान पीडित छन्, अझ त्यो भन्दा पीडित त नेपालमा क्षेत्री बाहुनहरु नै छन् भन्ने मेरो ठहर हो । बाहुन–क्षेत्रीले कुनैपनि जनजाति र आदिबासीको टुप्पी काटेर देश निकालेको इतिहास छैन । बरु ब्राह्मण क्षेत्रीबाट दमित त उनीहरु आफै छन् । जसको एउटा धर्म (हिन्दु) र एउटै मूल (आर्य) भएपनि अनेक बर्ण छ । जात, गोत्र र थरको दुरीको सिकार बाहुन क्षेत्री भित्रै छ । जमिनलाई आकाशले दबाएको हुन्न, जमीनलाई जमीनले नै दबाएको हुन्छ । त्यस्तै देखाउँछ, ब्राह्मण क्षेत्रीमा पनि ।

निष्कर्ष के त ? जातजातिको पहिचान नाराको हड्ताल, हुलदंगा र संकुचित राजनीतिक उदेश्यहरुले मुलुकमा कहिले पनि शान्ति उम्रिनेवाला छैन । नागरिक अधिकार, मानव अधिकार, धार्मिक शहिष्णुता, प्रजातान्त्रिक, शान्तिपूर्ण, सुरक्षित कानुनी राज्य आजको नेपालको आवश्यकता हो । यी आवश्यकताहरु सबै नेपाली जातजाति, जनजाति र आदिबासीहरुको प्रमुख आवश्यकता हो । यस्तो नेपाल विकास गर्ने जिम्मेवारी र कर्तब्य सबै नेपालीहरुको हो । यस्तो नेपाल नेपालीहरुले तब मात्र देख्न पाउँछन्, जब नेपाली सबैले, नेपालमा नेपाली भएर बस्ने अधिकारमा सहमति र विश्वास गर्छन् ।

बाहुन माते “रक्सियो”, जनजाति माते “मतुवा” – नदेखे टोक्ने, देखे ढोग्ने यी नेपाली चलन त सबै नेपालीहरुको मानसिक असुन्तालनहरु मात्र हो ।

(लेखक एशोशियसन अफ नेपलिज इन द अमेरकाज-एएनएका अन्तरिम अध्यक्ष हुन् )