चितवन, १५ असार । चितवनमा चराको प्रजातिमा वृद्धि भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनको अगुवाइमा भएको गणनाले चराको प्रजाति बढेको देखाएको छ ।
बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष वासु बिडारीले ४६ प्रजातिका चरा बढेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि चितवनमा ५६९ प्रजातिका चरा रहेकामा अहिले बढेर ६१५ पुगेको छ तर सङ्ख्यामा भने कमी आएको छ ।
यस वर्ष चितवनको महाभारत क्षेत्रमा समेत चराको गणना गरिएको थियो । यसअघि चितवन निकुञ्ज र आसपासका क्षेत्रमा मात्रै चरा गणना हुँदै आएको थियो ।
प्रजाति बढेसँगै चराको विविधता रहेको चितवनमा पहिलोपटक चराको अभिलेख राख्नसमेत सुरु गरिएको छ । यो वर्षबाट कुन चराहरु कहाँ पाइन्छन् र तिनीहरुको अवस्था के छ भन्ने जस्ता विभिन्न विवरण सहित अभिलेख राख्न थालिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष वासु बिडारीले बताउनुभयो ।
यस वर्षदेखि जिल्लाका सबै चराहरुको विवरणसहित पुस्तकसमेत निकाल्न थालिएको छ । जिल्लामा हरेक वर्ष नयाँ चराहरु फेला पर्ने भएकाले चरा हेर्ने पर्यटकहरुसमेत चितवनमा आउने गरेका छन् ।
अघिल्लो पटक चितवनको महाभारत क्षेत्रमा नयाँ चरा ‘मुसे लेकचरी’ फेला परेको थियो । अहिले फेला परेका चराहरु पाकिस्तान, मान्मार, भुटान, तिब्बत, भारत र अफगानिस्तानमा पाइने गरेको चरा विशेषज्ञहरुले बताएका छन् ।
नेपालमा ८ सय ७२ प्रजातिका चराहरु रहेका छन् । चराविद् डा. हेमसागर बराल चरा भएको स्थानमा पर्यावरणीय चक्र स्थिर रहने बताउनुहुन्छ ।
















प्रतिक्रिया