चितवन, १५ असार । चितवनको विकट काउलेमा विषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् ।
काउले गाविस–३ हात्तीबाङका एकै परिवारका चारजना चेपाङ र छिमेकी एकजना मगर च्याउ खाएर बिरामी भएका हुन् । उनीहरूले शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।
च्याउ खाएको केही घण्टामै बिरामी परेका उनीहरूलाई साँझ मात्र भरतपुर अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी हुनेहरूमा ४० वर्षीया कल्पना चेपाङ, ४५ वर्षीया सुन्तली चेपाङ, सात वर्षीया कान्छी चेपाङ, आठ वर्षीय नवीन चेपाङ र स्थानीय खुनबहादुर राना रहेको उनीहरूको उपचारमा संलग्न स्थानीय पुष्म चेपाङले जानकारी दिनुभयो ।
बिरामी परेकाहरूमध्ये कान्छीको अवस्था गम्भीर रहेको प्रहरीले आइतबार जानकारी दिएको छ । १२ जना परिवारका सबैले च्याउ खाए पनि अन्यलाई खासै असर नपरेको बताइएको छ । यो चितवनको विकट र पहाडी क्षेत्र हो । त्यहाँबाट तीन/चार घण्टामा मात्रै बिरामीलाई अस्पताल ल्याइएको थियो ।
दुई वर्षअघि चितवनको कविलास चौकीडाँडामा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो भने पाँच वर्षअघि लोथरको कान्दामा विषालु च्याउले एकै परिवारका आठजनाको ज्यान जाँदा एक नाबालक टुहुरो बन्न पुगेका थिए ।
















प्रतिक्रिया