बझाङ, १५ असार । बझाङको दहबगरमा साताअघि यार्सा संकलक र ठेकेदार (बिक्रेता) बीच कर उठाउने विषयमा विवाद भयो। केही संकलकले कर उठाउन गएका ठेकेदारसित मिलेमतो गरेपछि कुटाकुट नै भयो।
आफ्नो पक्ष लिनुभन्दा उल्टै ठेकेदारलाई सघाएको भन्दै संकलकले दहबगर–६ का रघुवीर जाग्रीलाई अपहरण गरी बेपत्ता बनाए। असार ८ गते राति अपहरणमा परेका जाग्रीको अझै पत्तो लाग्न सकेको छैन। घटनाबारे प्रहरी–प्रशासनलाई खबर गरेपछि उनको खोजी भइरहेको छ।
साताअघि कर असुलीका विषयमा हिमालमै दहबगर र सुर्माका संकलकबीच कुटाकुट भयो। दहबगर–६ का करवीर धामीको खुट्टा भाँचियो। उनलाई उपचारका लागि धनगढी लगिएको छ।
सुर्माको यार्सा पाइने चुफिमाल, जलजला, पार्थी, मधुखर्क, धर्पु र घेलुमा कर उठाउने विषयमा दिनहुँ झगडा हुने गरेको खबर गाविस सचिव पूर्णराज जोशीलाई आइरहन्छ। ‘जुनसुकै बेला पनि अप्रिय घटना घट्न सक्छ,’ सचिव जोशीले चिन्ता व्यक्त गरे। यार्सा संकलन क्षेत्रमा प्रहरी उपस्थिति नहुँदा स्थिति जटिल बन्दै गएको उनले बताए।
यार्सा भेटिने दौलीचौरको पाथी, बिरु ओढार, तपोवन, धनसेरी र गाईबाच्छामा कर तिर्न संकलक तयार छन्। तर, ठेकेदारले भनेजस्तो व्यक्तिपिच्छे भने होइन। त्यो कर पनि घर फर्केपछि मात्र तिर्ने मनस्थितिमा संकलक छन्। एउटा परिवारबाट एकजनाले मात्र कर तिर्ने ढिपी गर्दै आएपछि संकलकको पूरै दिन ठेकेदारसित झगडा गर्नमै बित्ने गरेको छ।
यार्सा पाइने जिल्लाको चौथो गाविस काँडाको खबर पनि अन्यत्रको भन्दा फरक छैन। ठेकेदारसितको किचलो त छँदै छ, संकलक आपसमै लड्न थालेका छन्। सबैका लागि एकनासको कर निर्धारण नगरिएपछि उनीहरुबीच कुटाकुट भएको हो। यही विषयमा धलौन र कैलाशका संकलकबीच कुटाकुट हुँदा एक संकलक घाइते भएका छन्। नागरिक दैनिकबाट













प्रतिक्रिया