नेकपा एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ, प्रतिनिधि छनोटसँगै आगामी महाधिवेशनप्रति कस्तो आँकलन गर्न सकिन्छ ?
एमालेको आगामी नवौँ महाधिवेशनका लागि मुलुकभरबाट प्रतिनिधि छनोट गर्ने काम सम्पन्न भएको छ । अहिलेसम्म छनोट भएर आएका प्रतिनिधिलाई आधार मान्ने हो भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा भारी बहुमत देखिएको छ । यो कुनै अनुमानका भरमा भनिएको कुरा होइन । हामीले मुलुकभरका प्रतिनिधिले माधवकुमार नेपाललाई गरेको समर्थन र उहाँहरुले भनेको कुराहरुको तथ्यसहित हामीले प्रतिनिधिको जुन तथ्याङ्क तयार पारेका छौँ । त्यसकै आधारमा यसो भनेका हौँ ।
तर, संसदीय दलका नेता केपी शर्मा ओलीको विचारसँग सहमत हुनेहरुले त ७० प्रतिशत प्रतिनिधि नेतृत्व हस्तान्तरण अकौ ओलीको पक्षमा रहेको तर्क प्रस्तुत गर्ने गरेका छन नि त ?
आफ्नो र आफ्नो पक्षमा रहेका कार्यकर्ताको मनोवल उच्च पार्नका लागि त जस्तासुकै खालका तर्क गर्दा पनि हुन्छ । यति प्रतिशत, उति प्रतिशत प्रतिनिधि आफ्नो पक्षका छन् भन्ने उहाँहरुका तर्क पनि त्यसैँसँग सम्वन्धित छन् जस्तो लाग्छ । तर, यथार्थमा भन्ने हो भने हामीले आगामी महाधिवशेनबाट जुन नीति, विचार र सिद्धान्त पारित गर्ने भनेको छौँ । त्यो नीति, विचार र सिद्धान्तलाई मन, वचन र कर्मले मान्ने प्रतिनिधिहरुको संख्या अत्याधिक रहेको छ । त्यो विचार समूहको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको छ । यसो हुँदाहुदैँ पनि उहाँहरुले किन त्यसो भनिरहनु भएको छ । त्यस बारेमा चाँही उहाँहरुसँग नै जानकारी लनु पर्ने हुन्छ ।
पार्टीमा गरेको योगदान, निरन्तरता र कार्यक्षमता नेता नेपाल र ओलीमा बरावरी छ । यसकारण पनि ओली महाधिवशेनबाट सर्वसम्मत अध्यक्ष बन्नुपर्छ भन्ने तर्क एकथरीको छ । तर, तपाईंहरुले चाँही किन नेपालको विकल्प नै नदेख्नु भएको ?
वरिष्ठ नेता माधवकुमार नेपाल नै आगामी महाधिवेशनबाट अध्यक्ष बन्नुपर्छ भन्ने हामीसँग केही तथ्यसहितका तर्कहरु छन् । पहिलो कुरा २०६२–०६३ सालको परिवर्तनलाई हेर्ने सन्दर्भमा हाम्रा केही मतभिन्नता रहेका छन् । हामी २०६२–०६३ सालको परिवर्तनलाई राजनीतिक क्रान्तिका रुपमा विश्लेषण गर्छौं । उक्त क्रान्तिले सामन्तवादको अन्त्य ग¥यो । त्यसपछि मुलुक पूँजीवादमा प्रवेश ग¥यो । हामी अहिले यसैको जगमा टेकेर पार्टीको कार्यदिशा तय गर्नुपर्छ भन्ने पक्षमा छौँ । हाम्रो अबको कार्यदिशा भनेको मुलुकको सम्वृद्धि, रोजगारी सिर्जना, गरिबी उन्मुलन हो । हामी योसँगै समतामुलक समाज निर्माण गर्न चाहन्छौँ । यी कुराको नेतृत्व मन, वचन र कर्मले गर्न सक्ने क्षमता नेता नेपालसँग छ ।
दोस्रो कुरा हामी नेकपा एमालेलाई अझ क्रियाशील बनाउन चाहन्छौँ । त्यसका लागि पार्टीको नेता सबै कार्यकर्ताको पहुँचभित्र रहेको हुनुपर्छ । त्यो क्षमता पनि उहाँमा छ । तेस्रो कुरा उहाँले शान्ति प्रक्रियालाई यो ठाउँसम्म ल्याउँन विशिष्ट खालको भुमिका खेल्नु भएको छ । सत्ता कव्जाको धङ्धङ्गी बोकेर जंगलमा बन्दुक पड्काउदैँ हिडेको नेकपा माओवादीलाई वार्ताको टेवुलमा ल्याउने महत्वपूर्ण भूमिका पनि उहाँले नै निर्वाह गर्नु भएको हो । त्यति मात्र होइन्, नेता नेपाल प्रधानमन्त्री भएका बेलामा पनि माओवादीले सत्ताकव्जा गर्ने धम्की दिएर व्यापक आन्दोलन शुरु गरेको थियो । त्यतिबेला पार्टी भित्रकै केही साथीहरुले नेपालले राजीनामा दिनुपर्छ भन्ने सम्मका तर्क गर्नुभएको थियो । त्यतिवेला उहाँले राजिनामा दिनु भएको भए मुलुक नराम्रो गरी राजनीतिक द्वन्द्वमा फस्ने थियो । उहाँले त्यो बेलामा पनि जिम्मेवार भएर भूमिका खेल्नु भएको थियो । उग्रवामपन्थी विचारधारा बोकेर हिडेको माओवादीलाई सानो आकारमा ल्याउने भूमिकामा पनि नेपालकै योगदान रहको छ । चौथो कुरा नेता नेपाल नेपालको राजनीतिमा स्वच्छ छवि भएको नेता हो । यी लगायतका विविध कारणले हामीले आगामी महाधिवेशनबाट एमालेको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने निष्कर्षसहित अघि बढाएका हौँ ।
तर, एमाओवादीलाई यो स्थानमा ल्याउने कुरामा त नेपालको होइन, ओलीको भूमिका महत्वपूर्ण रहेको छ भन्ने गरिन्छ नि त ?
संविधानसभाको पहिलो निर्वाचनमा करिव–करिव बहुमत प्राप्त गरेको नेकपा माओवादी संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा असाध्यै कम सिटका साथ तेस्रो पार्टी बन्न बाध्य भयो । माओवादी ओरालो लाग्न कहिलेबाट शुरु भएको हो भनेर हेर्ने हो भने नेता नेपाल प्रधानमन्त्री भएको बेलादेखि नै हो । माओवादीको राज्यसत्ता कव्जा गर्ने अन्तिम प्रयासलाई उहाँको नेतृत्वको सरकारले असफल बनाएपछि माओवादी ओरालो लाग्न शुरु गरेको हो । त्यसैले कुनै शक्ति उखान–टुक्का जोडेर र तिखो बोलेर कमजोर हुन्छ भन्ने तर्क उचित तर्क होइन ।
नेता ओलीको विचार समूहले नेतृत्व हस्तान्तरणको कति राम्रो नारा दिएका छन् । तपाईं जस्तो युवाका लागि त नेतृत्व हस्तान्तरण नै उचित मुद्दा होइन र ?
नेतृत्व हस्तान्तरणको नारा उहाँहरुले लगाउनु भएको छ । सुन्दा त्यो युवापुस्तालाई आकर्षित गर्ने जस्तो पनि देखिन्छ । तर, गहिराइमा गएर हेर्ने हो भने त्यो नारा मात्र हो । नेतृत्व हस्तान्तरणको लेप मात्र लगाइएको हो । नेता केपी शर्मा ओली अध्यक्ष बन्ने, उहाँपछि उपाध्यक्ष वामदेव गौतम, त्यसपछि उपाध्यक्ष विद्यादेवी भण्डारी, अनि महासचिव इश्वर पोख्रेल हुँदैहुँदै सचिव विष्णु पौड्याल, शंकर पोख्रेलसम्मले अध्यक्ष बन्ने जुन खालका कुरा आएका छन् । त्यो कसरी नेतृत्व हस्तान्तरण हुन सक्छ ? आलोपालो नेतृत्व गर्ने कुरालाई कसरी नेतृत्व हस्तान्तरण भन्न सकिन्छ ?
ए भनेपछि पछि उहाँहरुले नेतृत्व हस्तान्तरणको नारा दिएर नायवी चलाउन खोजेका हुन् भन्ने तपाईको तर्क हो ?
त्यसो भन्यो भने अन्यथा हुँदैन ।
पछिल्लो समय नेता नेपाल वलियो बन्दै गएको तर्क तपाईँहरुले नै गर्दै आउनु भएको छ । उहाँ कसरी बलियो बन्नुभयो आधार पनि त होला न नि ?
उहाँले विचार, नीति र सिद्धान्तप्रति देखाएको प्रष्टता नै उहाँ बलियो बन्ने प्रमुख कारण हो । प्राविधिक होइन उहाँले विचारलाई टेकेर हिँडेका कारण दिनप्रतिदिन बलियो बन्दै जानु भएको हो । उहाँहरु अहिले पनि पुरानो नीति, सिद्धान्त र विचार वोकेर हिडिरहनु भएको छ । यही कारण नेता ओली कमजोर देखिँदै आउनु भएको हो ।
अहिले तपाईंहरु नेता नेपाल र ओलीको विषयमा मात्रै पक्ष–विपक्षमा कुरा गर्नुहुन्छ । तपाईँहरुको पार्टी अध्यक्ष झलनाथ खनाल चाँही किन गुमनाम नि ?
त्यसो होइन । अहिले मुलुकभरबाट छनोट भएर आएका सबै प्रतिनिधि अध्यक्ष झलनाथ खनालकै हुनुहुन्छ । किनभने उहाँ पार्टी अध्यक्ष हो । अहिले उहाँले जुन तरिकाबाट सहमतिको कुरा गर्नु भएको छ, हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । अध्यक्षका रुपमा निर्वाह गर्नुपर्ने भूमिका उहाँले गर्दै आउनु भएको छ । तर, महाधिवेशनका बेला एउटा यस्तो खालको विन्दु आउने छ, त्यो समयमा उहाँले सर्वसम्मत नेतृत्व छनोट भएन भने माधवकुमार नेपाललाई समर्थन गर्नुहुने छ । त्यो कुराको संकेत उहाँले गरिसक्नु भएको छ । त्यो भयो भने हाम्रो विचार समूहले थेगी नसक्ने गरी जित हाँसिल गर्ने छ ।
महाधिवशेनबाट पार्टीमा कुन जिम्वेवारीको अपेक्षा गर्नुभएको छ ?
म नेकपा एमालेको पुरानो कार्यकर्ता हुँ । म विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छु । म राजनीति गरेकै कारण पटक–पटक गरी चार वर्ष बढी जेल जिवन व्यतित गरेको व्यक्ति हुँ । पार्टी अप्ठ्यारोमा परेको बेला मैले खेलेको सकारात्मक भूमिकाको पनि पार्टीले मूल्याङ्कन गर्छ भन्ने मैले ठानेको छु । यी सबै कारणले गर्दा मेरो पार्टीमा भूमिका रहने कुरामा दुइमत रहेन । तर, कुन जिम्वेवारी लिने भन्ने कुरा छलफलपछि टुंगोमा पुग्ने छौँ ।
तपाईं पदाधिकारीमा उठ्ने चर्चा पनि छ नि ?
त्यस विषयमा पनि छलफल जारी छ । छलफल टुंगिएपछि अवश्य भन्नेछु ।














प्रतिक्रिया