२८ आश्विन २०८३, बुधबार

किन विश्वभर फैलिदैंछ अल–कायदा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surendra-Nepali

अल–कायदा नाम दिइएको र अमेरिकासहित पश्चिमी मुलुकले आतङ्कवादी भनी निर्मूलनका लागि युद्धको घोषणा गरेको समूहको सिरियाली हाँगाले यसै साता इराकी सीमामा रहेको इसिसलाई समर्थन गर्ने बचन दिएको र यसले सीमाको सिरियाली भागमा अल्बु कमाल तथा इराकी भागमा अल–काइममा आफ्नो क्षेत्र विस्तार गर्ने अवस्था सिर्जना भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ ।

यी दुवै समूहले आ–आफ्नो क्षेत्रमा व्यापक भूभागलाई नियन्त्रणमा लिएका छन् । इसिसले इराक तथा सिरियाका भागहरू जोडेर इस्लामिक राज्य स्थापना गर्ने लक्ष्य राखेको छ । यसअघि यी दुई समूहबीच द्वन्द्व भए पनि अल कायदाको सिरियाली हाँगा अल–नुस्र फ्रन्टले अल्बु कमालमा इसिसलाई सहयोग गर्ने बचन दिएको अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले जानकारी दिनुभएको छ ।

यी समाचारले अल–कायदाको नयाँ विस्तारलाई प्रस्ट पारेको छ भने सन् २०११ मे १ मा पाकिस्तानमा यसका नेता ओसामा बिन लादेनको अमेरिकी सेनाद्वारा हत्या भएपछि यो समूह कमजोर नभइ यसले आफूलाई विश्वभर विस्तार गर्न थालेको हाल देखिएको छ । सन् १९८८ को अगस्तदेखि सन् १९८९ को अन्त्यसम्म ओसामा बिन लादेन, अब्दुल्लाह अजाम तथा अन्य लडाकूहरूले पाकिस्तान र अफगानिस्तानको आदिवासी क्षेत्रमा स्थापना गरेको यो संस्था हाल अल्जेरियामा अल कायदा इन द इस्लामिक माग्रेव, लिबियामा अन्सर अल सरिया, सिरियामा दी इस्लामिक स्टेट इन दी इराक एन्ड द लेभान्ट तथा जवात अल नुस्र फ्रन्ट, इराकमा अल–कायदा तथा इस्लामिक स्टेट अफ इराक, पाकिस्तानमा अल–कायदा मूल सङ्गठनको रूपमा विस्तार भएको छ ।

यसै गरी यो संस्था मालीमा अन्सार अल दिन, नाइजेरियामा बोको हराम, लेबनानमा अब्दुल्लाह अजाम ब्रिगेड्स र इस्लामिक स्टेट अफ इराक एन्ड अल–साम, यमनमा अल–कायदा इन दी अरेबियन पेनिनसुला तथा सोमालियामा अल सबाबको नामले अझै विस्तार भएको छ । यसैगरी तालिवान, इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तान, इस्ट टर्किस इस्लामिक मुभमेन्ट, जनदल्लाह, लस्कर ए ताइबा, जैस ए मोहम्मद, जमाह इस्लामिया, अबु सयफ, ककेसस इमिरेट आदि सङ्गठन यसका सहयोगी सङ्गठनको रूपमा देखा परेका छन् ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

अफगानिस्तानमा तालिवानको शासन कालमा ओसामा बिन लादेनलाई शरण उपलब्ध भएको थियो । यी कुरा न्यु योर्क तथा वासिङ्टनमा सेप्टेम्बर ११ मा आक्रमण हुनुभन्दा पहिले नै भएका थिए । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी आक्रमणपछि बिन लादेनलाई सन् २०११ मा पाकिस्तानको अबोटाबादमा फेला पारेर मारिएपछि सन् २०११ को जुनमा ऐमान ल–जवाहिरीलाई अल–कायदाको नयाँ नेताको रूपमा स्थापना गरिएको छ ।

बेलायती प्रसारण संस्था बिबिसीले अल–कायदा अराउन्ड द वल्र्ड नामक लेखमा पाकिस्तानमा अल–कायदाको सहयोगी सङ्गठनको रूपमा लस्कर–ए–जाँग्वी, तथा लस्कर–ए–ताइबा रहेको जानकारी दिएको छ । यी संस्थाले नै ओसामा बिन लादेनलाई पाकिस्तानमा लुक्ने स्थान उपलब्ध गराइएको बताइएको छ । लस्कर–ए–ताइबाका संस्थापक हाफिज मोहम्मद सइदले बिन लादेनलाई सन् १९८८ मा अल–कायदा स्थापना गर्न सहयोग गरेको बताइएको छ । यस समूहले सन २००८ मा मुम्बईमा आक्रमण गरी १७४ व्यक्तिको हत्या गरेको आरोप लगाइएको छ । यसैगरी हक्कानी समूह तथा पाकिस्तानका तालिवान समूहले अल–कायदासँग सम्बन्ध विस्तार गरेको बताइएको छ । सरिया कानुन कडाइका साथ लागू हुनुपर्ने मान्यताको सुन्नी धार्मिक समूहको अफगानिस्तानस्थित भाग मुजाहिद्दिन लडाकूलाई तालिम दिन स्थापना गरेको आधार केन्द्रको नाम नै ‘अल–कायदा’ भएको बताइन्छ र हाल यसको मूल सदस्य विश्वभर एक लाखभन्दा बढी भएको अनुमान गरिएको छ । हाल विश्वका १०० भन्दा बढी मुलुकमा अल–कायदा कुनै न कुनै रूपमा सक्रिय रहेको अनुमान गरिएको छ ।

अरेबियाली प्रायद्वीपमा अल–कायदा इन द अरेबियन पेनिनसुलाको नाममा सन २००९ को जनवरीमा अल–कायदाको समूह स्थापना भएको हो । यसमा यमन तथा साउदी अरेबियाका अन्तर्राष्ट्रिय इस्लामी लडाकूको सञ्जाल समावेश भएका छन् । यस समूहले तेल संयन्त्र, विदेशी तथा उनीहरूको सुरक्षा बलमा आक्रमण गरी साउदी राजा तथा यमनको सरकार पतन गराउने र इस्लामी राज्य सथापना गर्ने लक्ष्य लिएको छ । यसका एक प्रमुख व्यक्तित्व अमेरिकी कट्टरपन्थी मुसलमान धर्मगुरु अनवर अल–अवलाकीको सन् २०११ मा अमेरिकी चालकविहीन विमान आक्रमणमा मृत्यु भएको थियो ।

इराकमा सन् २००३ मा जिहादी विद्रोही समूहको स्थापना भएको थियो र उनीहरूले अमेरिकी नेतृत्वमा रहेको हस्तक्षेपको विरोध गरेका थिए । यस समूहका नेताले सन् २००४ मा ओसामा बिन लादेसँग सम्बन्ध स्थापना गरेको घोषणा गरेका थिए । अल–कायदा इन इराकलाई अल–कायदा अफ जिहाद अर्गनाइजेसन इन द ल्यान्ड अफ टु रिभर्स पनि भनिन्छ र यसले इराकमा हजारौँ व्यक्तिको हत्या गरेको छ । सन् २००६÷७ मा अल–कायदा इन इराक र अन्य सुन्न समूह इस्लामिक स्टेट अफ इराकमा आबद्ध भए र उनीहरूले सुरक्षा सेना तथा सिया नागरिकमाथि आक्रमण गरिरहेका छन् ।

इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात इस्लामिक स्टेट इन इराक एन्ड सिरिया वा इस्लामिक स्टेट इन इराक एन्ड अल–सामले इराक तथा सिरियाको ठूलो भूभागलाई आफ्नो नियन्त्रण्मा लिएको छ । यसले जोर्डान, इजरायल, प्यालेस्टाइन क्षेत्र, लेबनान, टर्की तथा साइप्रसका भूभागलाई समेट्ने लक्ष्य राखेको छ । यो समूह मुजाहिद्दिन सुरा काउन्सिल, इस्लामिक स्टेट अफ इराक, अल–कायदा इन इराक, जयस अल–फातिहिन, जन्ड अल–सहाबा, कात्बियन अन्सर अल–ताविद वा सुन्नाह तथा जैस अल–ताइफ अल–मानसुराका साथै अन्य सुन्नी इस्लामिक विद्रोही सङ्गठन मिलेर बनेको हो । यस समूहसँग कम्तीमा चार हजार लडाकू रहेको अनुमान गरिएको थियो ।

सिरियाली युद्धमा जिहादी समूह सबैभन्दा अगाडि देखा परेका छन् । यहाँ राष्ट्रपति बसार अल–असादको विरोधमा अल–कायदासँग सम्बन्धित इस्लामिक लडाकूहरूको ठूलो बिगबिगी छ । सन् २०१३ मा इस्लामिक स्टेट अफ इराक एन्ड लेभान्ट स्थापना गर्न ऐमान अल–जवाहिरीको आग्रहलाई अल–नुस्र फ्रन्टले अस्वीकार गरे पनि हाल यो समूह पनि यस लक्ष्यमा समावेश भएको छ । यसैले यी समूह अब इराक र सिरिया सीमा जोडिएका भूभागमा निकै बलियो रूपमा आफ्नो क्षेत्र विस्तार गर्न सफल भएका छन् ।

पूर्वी अफ्रिकामा सन् १९९८ मा नाइरोबी, केन्या तथा दार–ए–सलाममा अमेरिकी राजदूतावासमा आक्रमणको घटनादेखिनै यहाँ अल–कायदाको उपस्थिति देखिएको हो । यी आक्रमण इजिप्ट, सुडान, केन्या, तान्जानिया, कोमोरस तथा साउदी अरेबियाबाट आएका लडाकूले गरेका हुन् । उनीहरूमध्ये केहीले सोमालियामा भूमिगत रूपमा तालिम प्राप्त गरेका थिए । सोमालियाको ग्रामीण तथा दक्षिणी भागलाई इस्लामी विद्रोही समूह अल–सबाबले नियन्त्रणमा लिएको छ र उसले सन् २०१२ मा आफूलाई अल–कायदासँग आवद्ध गरेको हो । अल सबाबले सन् २०१० मा युगान्डाको राजधानी कम्पालामा दुई आत्मघाती बम आक्रमण गरी ७६ व्यक्तिको हत्या गरेको दाबी गरेको छ ।

व्यापक मरुभूमि सहारा तथा साहेलले लडाकूहरूलाई आफ्नो क्षेत्र विस्तार गर्न पर्याप्त भूमि उपलब्ध गराएको छ । अल्जेरियामा अल–कायदा इन इस्लामिक माग्रेब बढी सक्रिय देखिएको छ । उसको क्रियाकलाप माली तथा नाइजरसम्म फैलिएको छ । नाइजेरियामा इस्लामिक समूह बोको हराम अन्तर्राष्ट्रिय जिहादी समूहको रूपमा देखा परेको छ ।

युरोपमा अन्य मुलुकमा झै अल–कायदाको समूह व्यवस्थित र संरचनात्मक ढङगमा स्थापित नभएको आतङ्कवाद निर्मूलन अभियानमा रहेका अधिकारीहरूले बताएका छन् । उनीहरूले यहाँका विद्रोहीहरूले अलकायदाबाट अभिप्रेरणा लिएको बताएका छन् । सन् २००५ को जुलाइमा लन्डनमा ५२ व्यक्तिको हत्या हुने गरी भएको आक्रमणमा अल–कायदा संलग्न भएको ठानिएको छ । सन् २००४ को मार्चमा म्याड्रिडमा २०० व्यक्तिको मृत्य हुनेगरी भएको रेलमा आक्रमणको जिम्मेवारी पनि अल–कायदासँग आवद्ध समूहले लिएको छ ।

अमेरिकामा सेप्टेम्बर ११ मा भएको आक्रमणका लागि जिम्मेवार संस्थाको कार्यालय ह्याम्बर्गमा रहेको ठानिएको छ ।

इन्डोनेसिया तथा फिलिपिन्समा रहेका दुई समूहको अल–कायदासँग सम्बन्ध रहेको ठानिएको छ । इन्डोनेसियाको जेमाह इस्लामियाले सन् २००२ मा २०० व्यक्तिको हत्या हुनेगरी रात्रिक्लबमा आक्रमगरेको थियो । फिलिपिन्सको दक्षिणी भागमा क्रियाशील अबु सयाफ समूहको अल–कायदा सञ्जालसँग संलग्नता रहेको आरोप लगाइएको छ । यस समूहले मिन्डानाओ र सुलु द्वीपमा स्वतन्त्र इस्लामिक राज्य स्थापना गर्ने लक्ष्य राखेको छ ।

सन् १९७० को दसकको अन्त्य तथा १९८० को दसकमा अफगानिस्तानमा सोभियत प्रभावविरुद्ध अफगान मुजाहिद्दिनले युद्ध गरेका थिए । यस समूहलाई अमेरिकी गुप्तचर संस्था सीआईएले पाकिस्तानको आईएसआईमार्फत हतियार र वित्तीय सहयोग उपलब्ध गराएको बताइन्छ । त्यस समयमा अमेरिकाले बिन लादेन तथा गुलबुद्दिन हेकमतयारको समूहलाई ५० करोड देखि ६० करोड अमेरिकी डलर बराबरको सहयोग गरेको अनुमान गरिएको छ । अफगानिस्तानबाट सोभियत सङ्घ फिर्ता गएपछि बिन लादेनले अल कायदा तथा मुस्लिम ब्रदरहुडका लागि कोष सङ्कलन गर्न खाडी मुलुकको भ्रमण गरेको स्ट्यानफोर्ड विश्वविद्यालयको ‘म्यापिङ मिलिट्यान्ट अर्गनाइजेसन’ नामक वेबसाइटमा उल्लेख गरिएको छ । आरम्भमा लादेनले यस समूहका लागि आफ्नै व्यक्तिगत कोष खर्चेका थिए ।

हाल यस समूहले लागुपदार्थलाई आफ्नो प्रमुख आर्थिक स्रोतको रूपमा उपयोग गरेको छ । यसैगरी यस समूहलाई कुवेत तथा साउदी अरेबियाको धनी व्यक्तिहरूले पनि कोष उपलब्ध गराइरहेको आरोप लगाइएको छ । अल–कायदा आर्थिक रूपमा निकै सबल सङ्गठनको रूपमा रहेको छ र यसले अफगानिस्तान र पाकिस्तानमा यस समूहमा भर्ना हुने नयाँ लडाकूलाई प्रतिमहिना एक हजारदेखि एक हजार ५०० अमेरिकी डलर उपलब्ध गराउने गरेको अनुमान गरिएको छ ।

धेरै इस्लामविज्ञ सुन्नी मुसलमान लडाकूको समस्या उनीहरूलाई सीमान्त बनाउनुमा रहेको दाबी गर्छन् । इराकी प्रधानमन्त्री नुरी अल मलिकीले मुलुकको ठूलो भागमा नियन्त्रण कायम गर्ने लडाकूमाथि हवाई आक्रमण गर्न गर्नुभएको आग्रहलाई अमेरिकाले हाल अस्वीकार गर्नुमा यही कारण रहेको देखिएको छ । अमेरिकाले इराकमा समावेशी शासनका लागि पटकपटक आग्रह गरेको छ । सत्ता र शक्तिको बल तथा अधिकार र त्यसबाट प्राप्त हुने आर्थिक सुविधा कुनै पनि राजनीतिक समूहका लागि सबैभन्दा ठूलो अभिप्रेरणाको स्रोत बन्ने गर्छ र यसैका लागि सत्ताधारीहरू आफूमा बहुमत भएको देखाउन निरन्तर प्रयास गर्छन् । बहुमत, सत्ता, शक्तिको बल अधिकार र त्यसबाट प्राप्त हुने आर्थिक सुविधाबाट वञ्चितीकरण र सीमान्तीकरणले अल्पमतलाई आत्मघाती आतङ्ककारी लडाकू बन्न बाध्य बनाउँछ । यसो भए पनि सुन्नी सरिया कानुन विश्वव्यापी रूपमा लागू गर्नखोज्ने अल–कायदाको छाताभित्र रहन आएको यस अभियानले प्रभावित समाजलाई भने प्रजातन्त्रबाट निकै पछाडि धकेल्ने निश्चित छ ।

रासस (स्रोत: प्रमुख समाचार संस्था तथा इन्टरनेटका सामग्री)