
वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल काठमाडौं निवासी हुन् ।
काठमाडौं स्कुल अफ ल बाट मानव अधिकार तथा लिङ्ग न्यायमा स्नातकोत्तरमा स्वर्ण पदक प्राप्त गरेकी घिमिरेलाई धेरै परिचय दिई रहनु नपर्ला । मानव अधिकारसम्बन्धी लामो समयदेखि संलग्न हुदै आएकी घिमिरेले नेदरल्याण्डबाट अन्तर्राष्ट्रिय कानुन तथा दिगो विकासमा पनि स्नातकोत्तर गरेकी छिन् ।
उनी द्वन्द र प्रवासनसम्बन्धी विषयमा बिद्यावारिधिमा अध्ययनरत छिन् भने राष्ट्रिय परियोजना व्यवस्थापक संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, राष्ट्रिय मानव अधिकारको क्षमता सबलीकरण परियोजनामा संलग्न छिन् । र, हालै उनलाई नेपाल सरकारले गरिबी निवारण कोषमा निर्देशक पदमा नियुक्ति गरेको छ ।
उनीसंग भेटघाट गर्ने क्रममा अमेरिका पहिलो पटक कहिले र किन आउनु भो ? र अमेरिकाबाट के कुराबाट ज्यादै प्रभावित हुनु भयो, भन्ने जिज्ञासमा उनी भन्छिन अमेरिकासँग मेरो सम्बन्ध १२ वर्ष पूरानो हो र सन् २००४ मा पर्यटकको रुपमा आएको हुँ भनिन् ।
उनले अगाडि भनिन सन् २००७ मा नेपालस्थित अमेरिकी दूतावासको संयोजन र अमेरिकाको (राज्य बिभाग) को निमन्त्रणामा म लगायत अन्य ४ अधिवक्ताहरु समेतको टोलीले अमेरिकाको संघीय न्यायप्रणालीको अध्ययन गर्ने एक महिना लामो अन्तर्राष्ट्रिय आगंतुक आदान प्रदान कार्यक्रममा सहभागी हुने अवसर पाएको बताइन ।
त्यसै समयमा पश्चिम, उत्तर र दक्षिणी भेगका राज्यहरुको न्याय प्रणालीका बारेमा जान्ने अवसर पाएको र तत्पश्चात ग्लोबल राइट्स पार्टनर फर जस्टिस भन्ने अमेरिकी संस्थाको नेपालस्थित कार्यालयको प्रमुखको रुपमा दुई वर्ष कार्यरत रहेको बताइन । वाशिंगटन डिसीस्थित प्रधान कार्यालयमा भएका विभिन्न कार्यक्रमहरुमा पटक पटक सामेल भएको भन्दै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमसँग आवद्ध भएपश्चात भने त्यो पहिलो भ्रमण रहेको संस्मरण गराइन ।
अमेरिकामा सबैभन्दा बढी मन पर्ने कुरा स्वतन्त्रताको प्रत्याभूति नै हो भनिन । नेपालमा प्रायजसो घरमा १० वर्षदेखि बृद्धावस्थासम्मका घरेलु कामदार राखेको देख्न सकिन्छ । मानव भएर पनि मानवद्धारा नै शोषित भएर बाँच्नुपर्ने जीवन नेपालको कटुसत्य हो । अमेरिकामा मानव अधिकारको प्रत्याभूति यस कारण उच्च रहेको पाएको छु । काम र श्रमको सम्मान नै बास्तवमा स्वतन्त्रता र स्वावलम्बको आधारशीला हो भनिन ।
उनलाई हामीले अमेरिकाबाट भर्खर नेपाल फर्कनु भएको छ, प्रवासमा रहेका नेपालीहरुको नेपाल प्रतिको आम धारणा कस्तो पाउनुभयो भनि जिज्ञासामा उनले यसरी कुरा राखिन, २० दिन नेपाल बाहिर अमेरिकामा बसेर नेपाल आउँदा नेपालमा मन्त्रिमण्डल परिवर्तन, भारतद्धारा अघोषित नाकाबन्दी, खाद्धान्न र तेलको अभाव जस्ता समस्याहरु आई सकेका रहेछन् ।
उनले भनिन आफूलाई २० दिनमा नै त लौन, यो के भएको हो जस्तो लाग्यो भने लामो समय नेपाल बाहिर प्रवासमा बसेका नेपालीहरुलाई नेपालमा जिवन चुनौतिपूर्ण छ भन्ने लाग्नु स्वाभाविक नै हो । सबै जसोले राजनैतिक चुनौति हुँदाहुँदै भुइँचालोले थप असामान्य परिस्थिति श्रृजना गरेकोले नेपालमा मानव जीवन जोखिमयुक्त रहेको र गरिबी बढेको अनुमान गरेको पाएँ भनिन ।
भला कुसारी कै क्रममा तपाई कानूनको अधिवक्ता, मानवअधिकारकर्मी तथा सामाजिक कार्यकर्ताको साथै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको मानव अधिकार र शान्ति निर्माण कार्यक्रमतर्फको टोली नेताको रुपमा कार्यरत हुनुहुन्छ । कस्तो छ मुलुकमा शान्ति र मानव अधिकार भन्ने जिज्ञासमा उनी भन्छिन्, ‘नाजुक छ । दण्डहिनता यथावत छ । सेना, प्रहरी, न्यायालय, विधानसभा जस्ता राज्यका संयन्त्रहरु संचालनमा रहेता पनि समन्वय र चेतनाको कमीका कारण समाजमा मानव अधिकार प्रति नकारात्मक भावना रहि आएको छ । महिलामाथि दुर्ब्यबहार बन्द गरौँ, घरेलु हिंसा नगरौँ भन्दा घरभाँडुवाको आरोप लाग्ने गरेको अनुभव ताजै छ ।’
बालबालिका जोखिम यूक्त जिवन बाँच्न बाध्य छन् । ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा नगन्य छ । विभाजित समाज भएका कारण मानव जिवनको मूल्य पनि विभिद छ भनिन् । उनले अगाडि भनिन सन् २००६ मा भएको शान्ति सम्झौतामा नयाँ संविधान निर्माण, भत्केका संरचना पूनर्निर्माण र माओवादी सेना समायोजन भएमा शान्ति स्थापना हुने ध्येय रहेको छ । तर शान्तिका लागि सामाजिक सद्भाव र हिंसामा कमी आउनु अत्यावश्यक हुन्छ । यो नियमित रुपमा राज्यका कार्यक्रम र योजनाहरुमा समावेश गरिनु पर्दछ । तसर्थ नेपालमा शान्ति निर्माण र द्धन्द रोकथाममा निरन्तर काम गर्नुपर्ने छ कुरामा जोड दिइन ।
महिला अधिकारकर्मी तथा कानुन अधिवक्ताको हैसियतले भन्नुपर्दा नेपाल र अमेरिकाका नयाँ पूस्ताको बिच के अन्तर देख्नुहुन्छ रु अवस्था, समस्या,अफ्ठ्यारा र चुनौति कस्ता छन् भन्ने प्रश्नमा उनले यसरी आफ्ना धारणा राख्दै भनिन् पछिल्लो समयमा नेपालमा निजी विद्यालयहरुले अंग्रेजीलाई अनिवार्य र प्रमुख भाषा बनाइ शिक्षामा आमुल परिवर्तन गरेका छन् ।
संगीत, संस्कृति, कला जस्ता सीमाहीन क्षेत्रहरुको व्यापकताका कारण अमेरिका र नेपालका नयाँ पुस्ताहरुबीच त्यति धेरै फरक छैन । तर नयाँ पुस्ता र माथिल्ला पुस्ता बीच भने ठूलै विच्छेद देख्दछु भनिन । अधिकारको प्रयोग गर्ने क्षमता पनि निकै फरक छ । नयाँ पुस्ताको चेतनाको स्तर पनि निकै फराकिलो छ । नेपालको कानुन निर्माणको प्रकृया भने अझै पूरातन भएकोले नयाँ पुस्ताले खोजेको जस्तो मानव अधिकार र कानुनको विकाश भने अझ सम्भव छैन । तर नयाँ संविधान भने निकै उदार र खुला भएको हुँदा अब बन्ने कानूनहरु नयाँ पुस्ताका भावना र आवश्यकताहरुलाई समेत समेट्न सक्ने हुनेछन् भन्नेमा कुरामा आफू आशावादी रहेको बताइन् ।
कुराकानी कै क्रममा नेपालको संविधान २०७२ मा महिलाका सबै मानव अधिकारहरु संबोधन भएका छैनन् भनिन्छ नि । बास्तविकता के हो भन्ने जिज्ञासामा उनि भन्छिन संविधान देशको मूल कानून हो । मूल कानूनमा सबै अधिकारहरु अटाउने प्रश्नै हुँदैन । तर पछि बन्ने ऐन, नियम र अन्य कानूनहरुले भने अधिकारहरुलाइ प्रत्याभूति गर्नुपर्ने हुन्छ ।
उनले भनिन आफु अब बन्ने कानूनहरुको प्रतिक्षामा रहेको बताइन । महिला अधिकार मानव अधिकारकै प्रमुख विषय पनि हो । अहिलेको संविधानमा महिलालाई नेपालको कानूनी इतिहाँसमै सबैभन्दा बढी सम्मान दिइएको छ भन्दा आपत्ति नहोला भनिन । तर यी अधिकारहरुलाई प्रयोग गर्ने बातावरण र कानूनी बाटोहरु भने प्रष्ट हुनु पर्दछ । उदाहरणका लागि आमाको नामबाट बंशजको नागरिकता प्राप्त गर्न सकिने, महिला र पूरुषवीच वंशका आधारमा कुनै भेदभाव नहुने जस्ता संवैधानिक प्रावधानहरुले गर्दा नेपालको संविधान २०७२ एक सुन्दर संविधान हो भनिन ।
संयुक्त राष्ट्र संघको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, नेपालमाथि लागेको अघोषित नाकाबन्दिको बारेमा संयुक्त राष्ट्र संघ किन नबोलेको भन्ने सवालमा उनि भन्छिन नेपाल र भारत छिमेकी मुलुकहरु हुन् । दुई देश बिचको आन्तरिक कुटनैतिक सम्बन्धमा यु।एन। ले बोल्ने वा हस्तक्षेप गर्ने कुनै आधार हुँदैन । तर भारतका कारण नेपालमा मानव अधिकारको गम्भिर उल्लंघन हुने परिस्थिति श्रजना भएमा भने यू।एन। ले अवश्य पनि उपयूक्त कदम चाल्ने छ भन्नेमा कुरामा आफू विश्वस्त छु भनिन । नेपाल सबल, सार्वभौम सम्पन्न मूलुक भएको हुँदा आफ्ना छिमेकीहरुसँगका कुटनैतिक कदमहरु चाल्न नेपाल सक्षम रहेकोमा आफू पूर्णतः विश्वस्त रहेको विचार राखिन ।
नेपाल बाहिर बस्ने नेपालीहरुले सोचे जस्तो नेपाल झन झन गिर्दै र भासिँदै गएको हो त भन्ने अन्तिम जिज्ञासामा उनले यस्तो विचार पस्किँदै भनिन्, ‘पालमा हरेक गाउँहरुमा बाटो, बिजुली, ईन्टरनेट र मोबाईल फोन पुगीरहेका र विदेशिएका यूवाहरु देश फर्किएर लघु उद्यमी बन्ने क्रम बढ्दो छ । राजनीति, सरकारी सेवा र निजि क्षेत्रमा समेत यूवा पुस्ताको उल्लेख्य सहभागिता हुन थालेको छ ।’
१० वर्ष अगाडिको नेपाल र अहिलेमा महिलाका राजनैतिक, नागरिक, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारहरुमा आमूल परिवर्तन भैसकेको छ । नयाँ संविधान निर्माणले त झन राजनैतिक स्थायित्वको समेत सुचकहरु देखिने परिस्थिति निर्माण भएको छ भनिन ।
उनले अगाडी भनिन चेतनाको स्तर व्यापक रुपमा बढ्दो छ । अब भन्नुस्, नेपाल कसरी गिर्दै वा भासिँदै गएको छ ? अबको १० वर्षमा नेपाललाई समुन्नती तर्फ बढ्दो देशको रुपमा पाउनु हुने छ भन्नेमा आफू निश्चिन्त भएको बताइन ।
- विजय थापा















प्रतिक्रिया