‘कोठा खाली छ ‘
‘कतिवटा चाहिएको होला’
‘बढीमा चार कोठा, नत्र तीनवटा भए पुग्छ।’
‘ए, अनि परिवारसहित कि एक्लै’
‘एक्लै।’
‘के काम गर्नुहुन्छ’
‘म डाक्टर हुँ।’
‘ओहो डाक्टरसाप भइहाल्छ नि। आउनु म कोठाहरू देखाइदिन्छु।’
…
‘कोठा खाली छ होला’
‘छैन।’
‘यहाँ खाली छ भनेर ऊ बाहिरका पसलेदाइले भन्नुभयो त्यसैले’
‘ए.., कति चाँडै कोठा खाली भा कुरा फैलिसकेछ। आफैंलाई चाहिएर खाली गराुको। कति कोठा चाहिने तपाईंलाई’
‘एउटा भए पुग्छ।’
‘एक्लै बस्नेरु के काम गर्नुहुन्छ’
‘हजुर, म पढ्छु, पढाउँछु पनि। बिहान कलेजमा पढ्छु। दिउँसो स्कुलमा पढाउँछु।’
‘कोठा त दिन्छु भाइ, तर दुई–चारवटा कुरा मान्ने भए मात्र।’
‘भन्नुस् न’
‘महिनाको भाडा मलाई पहिल्यै चाहिन्छ। बत्ती, पानीको अलग्गै। इन्टरनेट र केबल चलाउने भए त्यो पनि दिन सक्छु, छुट्टै पैसा तिर्ने भए। अनि सबैभन्दा मुख्य कुरा, भित्रको कोठा भएकाले राति ९ बजेपछि आए ढोका खुल्दैन। बाबुआमाबाहेक अरू राति ढिला आउने कसैलाई यहाँ पस्नै दिन्नँ।’
..
काठमाडौंमा डेरा खोज्न जति गाह्रो छ, त्यति नै अप्ठेरो छ कोठा डेरामा लगाउन। माथिका दुई भिन्न संवादले पनि यही संकेत गर्छन्। घरबेटीहरू डेरावालबाट सधैं सशंकित हुन्छन् भने अधिकांश डेरावाल घरबेटीबाट प्रताडित। घरबेटीलाई सुने डेरावालबाट उही पीडित, डेरावाललाई सुने उही आक्रान्त। दुवै पक्षका आ–आफ्नै तर्क, दुवैका कुरा छुट्टाछुट्टै सुने दुवै जायज लाग्ने। यस्तो लाग्छ, राजधानीका घरबेटी र डेरावाल परस्पर स्वार्थ गाँसिएका, एकै छतमुनि बाँच्न विवश वर्गीय दुश्मन हुन्।
‘आफूले वर्षौं कमाएको पुँजी लगाएर बनाएको घरलाई बेमतलबी डेरावाल पर्यो् भने दुई महिनामै खण्डहर बनाइदिन्छ। त्यसैले पनि जो आयो, त्यहीलाई दिन संकोच लाग्छ,’ जावलाखेलकी एक घरधनीले भनिन्।
उनका अनुसार सकेसम्म थोरै पैसा तिरेर धेरै सुविधा खोज्ने डेरावालले धेरै तनाव दिन्छन्। ‘हाम्रो एरिया राम्रो आवासीय क्षेत्र भनेर चिनिन्छ। त्यसैले हत्तपत्त कोठा खाली हुँदैन। भइहाल्यो भने कस्तो डेरावाल पर्छ भनेर चिन्ता भइरहन्छ,’ उनी भन्छिन्, ‘काठमाडौंमा घर भए पनि आफ्नो घर भाडामा लगाएर डेरामा बस्नेलाई कोठा दिन खासै समस्या हुँदैन। उनीहरूले घरबेटीको समस्या बुझेका हुन्छन्।’
घरबेटीले डेरावालको हुर्मत लिनु र डेरावालले सकेसम्म पेल्न खोज्नु यहाँ कुनै नौलो विषय होइन। घरबहालसम्बन्धी नियम–कानुन नभएकाले पनि घरबेटी र डेरावाल दुवै समस्यामा परेका छन्। यी दुई पक्षबीच कहिले पानीलाई लिएर जुहारी चल्छ त कहिले घरमा आएका पाहुनालाई लिएर।
घट्टेकुलोका सुलभ श्रेष्ठ भने डेरावालको स्वार्थी बानीबाट आजित छन्।
‘हामीले जति नै मायालु व्यवहार गरे पनि डेरावालहरू यसलाई घरभन्दा साहुको सम्पत्ति
मात्र सोच्छन्। यही बानी मलाई फिटिक्कै मन पर्दैन,’ उनी भन्छन्, ‘सबैलाई सुविस्ता होस् भनेर हामी अनेक गरेर पानीको जोहो गर्छौं। डेरामा बसेकाहरू भने घरबेटीले दिने हो, जसरी जम्मा गरे पनि गरोस् भन्ने सोचेर मनलागी प्रयोग गर्छन्।’
श्रेष्ठको डेरावालसँग पर्ने अर्को किचकिच कौसीमा लुगा सुकाउने बेला हो। ‘सबैलाई शनिबारै लुगा धुनुपर्छ। सबैको लुगा कसरी अट्छरुु उनको भनाइ छ, ‘आफ्नो पनि त धुनै पर्योा। सुकाउनै पर्यो।’
जावलाखेल एकान्तकुनाकी एक घरबेटीले त डेरावालसँग पानीको खटपट निवारण गर्ने नयाँ उपाय नै रचेकी छन्। पहिलेका धेरै डेरावालसँग पानीमा खटपट भएपछि उनले नयाँ डेरावाल राख्दाखेरि नै सर्त तेर्स्याइन्– आलोपालो ट्यांकरको पानी किन्नुपर्छ। एकपटक डेरावालले, अर्कोपटक घरबेटीले। यो उपायले भने गज्जबको काम गरेको छ। भन्छिन्, ‘डेरावालले पनि पानी फारो गरेर चलाउन थालेका छन्, आफ्नो पनि पैसा परेकाले होला।’
‘हिजोआज बत्तीमा भने खासै खटपट हुँदैन। कोठामा बसे पनि फ्ल्याटमा बसे पनि सबमिटरमा जति चढ्छ, त्यति पैसा तिर्नुपर्छ। कसैले गुनासो गर्ने ठाउँ नै छैन,’ उनले भनिन्।
एकचोटि महाराजगन्ज, चक्रपथको एउटा घरमा डेरावालले आत्महत्या गरेछ। उनले छतको पंखामा झुन्डिएर आफ्नो त ज्यान लिए–लिए, सँगसँगै त्यो घरलाई नै ‘भूत बंगला’ को परिचय भिडाइदिए। ‘त्यो घटनापछि प्रहरीले निकै केरकार गर्योक, प्रहरीको लफडा सकिएपछि त्यो परिवार त कोठा सरेर गइहाल्यो, त्यसपछि आफूलाई नयाँ डेरावाल पाउनै मुस्किल,’ ती घरबेटीले अनौठो समस्या सुनाए, ‘वरपरकाले त्यो घटना सुनाइदिन्छन्, भूतको डर मानेर भागिहाल्छन्।’
अहिले ती पीडित घरधनी घरै बेच्ने तर्खरमा छन्। तर, किन्ने कसलेरु उही टेन्सन, ‘भूत बंगला’ भनेर चिनिएको छ, कोही किन्न आउँदैनन्।
घरबेटीको प्रताडना सहन नसकेरै आफ्नै घर बनाउन तम्सिनेको संख्या पनि काठमाडौंमा कम छैन। सानिमा बैंकका कार्यकारी निर्देशक भुवन दाहालका अनुसार हरेक वर्ष घरकर्जा लिनेको संख्या बढ्दो छ। ‘आफ्नो घर होस् भन्ने चाहना धेरैमा बढेर गएको छ। घरबेटीकै किचकिचले होस् वा अन्य कारणले, जग्गा किनेर घर बनाउन नसक्नेहरू अपार्टमेन्टतिर आकर्षित भइरहेका छन्,’ उनले भने। नागरिक दैनिकबाट













प्रतिक्रिया