३० आश्विन २०८३, शुक्रबार

राजधानी सुनसानः दसैँँ मनाउनेसँगै अभाव छल्न लाखौं बाहिरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-banda (20)

– सिबी अधिकारी/कृष्णराज गौतम

काठमाडौँ, ४ कात्तिक । दसैँका लागि लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि काठमाडौँ उपत्यका प्रायः सुनसानजस्तै देखिएको छ ।

दसैँ मनाउन गाउँतर्फ लाग्ने र काठमाडौँबाट विभिन्न पर्यटकीय स्थलमा घुम्न जानेको सङख्या ह्वात्तै बढेपछि राजधानी सुनसान बनेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहानसम्ममा सात लाख ६० हजार सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।

इन्धन अभावले कम सवारीसाधन चलेपनि उपत्यका छाड्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम छैन । अघिल्लो वर्ष फुलपातीका दिन एक लाख ९१९ जना बाहिरिएकामा यो वर्ष फुलपातीका दिन एक लाख छ हजारले उपत्यका छाडेका छन् । सबैभन्दा बढी गत दुई गते एक लाख ११ हजार ८७७ जनाले काठमाडौं छाडेका छन् ।

कम गाडी चलेपनि गाडीमा कोच्चिएर, च्यापिएर र छतमासमेत बसेर भएपनि विगतका वर्षजस्तै सर्वसाधारण ठूलो सङ्ख्यामा गन्तब्यतर्फ बाहिरिएको महाशाखाका प्रवक्ता राजेन्द्र भट्टले राससलाई जानकारी दिनुभयो । आज पनि ठूलो सङ्ख्यामा सर्वसाधारण बाहिरिएका छन् ।

यता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले अहिलेसम्म करिब नौ लाख मानिस काठमाडौँ उपत्यका बाहिर गएको जनाएको छ । उपत्यका बाहिर घर तथा आफन्तजन भई काठमाडौँ आएर बसोबास गरेका कर्मचारी तथा विद्यार्थीलगायत दसैँँका लागि टीका लगाउन गएका हुन् ।

कलङ्की, बल्खु, कोटेश्वर, बालाजु बाइपासलगायत नाकाबाट सर्वसाधारण मानिस बाहिरिए । महासङ्घका अनुसार गत वर्ष करिब १८ लाख मानिस काठमाडौँबाट बाहिर गएका थिए ।

महासङ्घका महासचिव सरोज सिटौलाले इन्धनको सहज आपूर्ति हुन नसक्दा सयाँै गाडी थन्केर बस्नुपरेको अहिलेको अवस्थामा यात्रुलाई केही असहज स्थिति आएको बताउनुभयो ।

बडादसैँको महाअष्टमीका दिन आज उपत्यकाका सडक पूरै खाली देखिएका छन् । चावहिल, नयाँवानेश्वर, माइतीघर, अनामनगर, त्रिपुरेश्वर, रत्नपार्क, दरबारमार्गलगायतका स्थानका सडक सुनसान देखिएका छन् । केही निजी सवारी साधन र पातलो सङ्ख्यामा टेम्पो तथा फाट्टफुटृ मोटरसाईकल मात्र चलेका छन् । उपत्यकामा लामो दूरीमा गुड्ने सार्वजनिक बस नचलेपछि कामकाजी सर्वसाधारण एक दुई वटा चलेका बसमा कोचिएर र छतमा समेत जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

दसैँका लागि घर जाने मात्र हैन विदाको समय छोपी विभिन्न गन्तब्यहरुमा घुम्न जानेको सङ्ख्या पनि बाक्लै छ । काठमाडौँका अधिकांश फुर्सदिला मानिस पोखरा, चितवनको सौराहा, मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न गएका छन् ।

दसैँको बिदा छल्न र उपत्यकाको पेट्रोलियम पदार्थको अभावबाट केही दिन भएपनि मुक्ति लिनका लागि सौराहा घुम्न परिवारसहित हिँडेको सातदोवाटोकी देवीमाया खड्काले बताउनुभयो ।

उपत्यकाको अभावबाट केहीसमय भएपनि आनन्द लिनका लागि नवलपरासीतिर लागेको सुकदेव चापागार्इँले बताउनुभयो । यसवर्ष भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थलगायत इन्धन अभाव भएपछि सवारी साधन सञ्चालनमा समेत कमी भएको र मानिसको चाप बढेको छ ।

सार्वजनिक बसका छतमा समेत कतिपय मानिसले जोखिमपूर्ण यात्रा गरेका छन । कतिपय मानिसले घरै जाने कार्यक्रमलाई स्थगित गरेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि उपत्यकामा मादक पदार्थ सेवन गरी सडकमा लापर्वाहीपूर्वक सवारीसाधन चलाई दुर्घटना बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चालकको निगरानी र परीक्षणलाई तीब्रता दिएको छ ।

उपत्यकाका विभिन्न १५ स्थानमा मापसे, सवारीचालक अनुमतिपत्र परीक्षण तथा लापर्वाही गरी सवारी चलाउनेको निगरानी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले बताउनुभयो ।

उहाँका अनुसार उच्च प्रहरी अधिकृत प्रत्यक्ष गएर सडकमा हुने गतिविधिका बारेमा जिम्मेबारीपूर्वक अनुगमन गरिरहेका छन् । अहिलेसम्म उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । रासस