३० आश्विन २०८३, शुक्रबार

रक्सी चाखेर नेपालका भूकम्प पीडितलाई तीन करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Bottle-Collection1लन्डन । बेलायतको एउटा कम्पनीले ह्वीस्की चाख्ने अर्थात ह्वीस्की टेष्टिङ शो गरेर नेपालका भूकम्प पीडितहरुकालागि झण्डै तीन करोड रुपियाँ उठाएको छ ।

यही अक्टोबर महिनाको पहिलो साता आयोजना गरिएको शोबाट संकलित २ लाख २५ हजार पाउण्ड नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा

पुनःनिर्माणमा काम गरिरहेका संस्थाहरुलाई प्रदान गरिने आयोजक दि ह्वीस्की एक्सचेन्जले जनाएको छ ।

गत वैशाख महिनामा नेपालमा विध्वंशकारी भूकम्प गएपछि बेलायतको एउटा ह्विस्की कम्पनी ‘दि ह्वीस्की एक्सचेन्ज’मा प्राविधिक निर्देशकको रूपमा कार्यरत जय पौडेलले महिनौंका तयारीपछि उक्त शो आयोजना गरिएको बताए ।

विश्वकै महंगो जापनिज सिंगल माल्ट ह्वीस्की करुइजावा १९८३ 
टेस्टिङ शोमा ४५ जना पारखीले प्रतिबोटल ६ हजार पाउण्डका दरले तिरेका थिए ।

संकलित रकम कम्युनिटी एक्सन नेपाल (क्यान), माइती नेपाल, हेल्प नेपाल नेटवर्क, योर वान वीस् र द नेपाल ट्रष्ट नामक च्यारिटी संस्थामार्फत नेपालमा पठाइने कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले जनाए ।

थप दुई बोटल 
ह्वीस्की कम्तीमा २० हजार पाउण्डमा लिलाम विक्री गरेर सतप्रतिशत रकम भूकम्प पीडितलाई पठाइने पनि पौडेलले जनाए ।

उक्त शो लण्डनको ओल्ड बिलिङस्गेटमा आयोजना गरिएको थियो ।
जम्मा ५० बोटलमात्र उत्पादन गरिएको उक्त ह्वीस्कीको बजार भाउ करिब १० हजार पाउण्ड छ ।

शोमा बेल्जियम, जर्मनी, इटली, मोनाको, दि नेदरल्याण्ड्स, नर्वे, स्वीडेन, युक्रेन, चीन, हङकङ, भारत, जापान, ताइवान र अमेरिकाबाट समेत ह्वीस्की पारखीहरु सहभागी भएका थिए ।

उक्त कम्पनीले च्यारिटीका लागि अहिलेसम्मकै सबैभन्दा महंगो ह्वीस्की टेष्टिङ शो आयोजना गरेको प्रमाण सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डस् मा समेत दर्ताका लागि प्रक्रिया पनि शुरु गरेको छ ।

नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ हामीले थालेको प्रयासमा सघाउने सबैलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं, पौडेलले भने ।