बेरुत, ३० असोज । सिरियाको दोस्रो ठूलो सहर होम्समा सिरियाली सेनाले रक्षात्मक कारबाही सुरु गरेको समाचार छ । सो सेनालाई रसियाली सेनाको पनि सहयोग रहेको छ ।
रसियाको सहयोग र समन्वयमा सिरियाको सेनाले शनिबार बिहानैदेखि होम्स सहरमा हवाई आक्रमण सुरु गरेको बेरुतबाट प्राप्त समाचारमा जनाइएको छ ।
उक्त आक्रमणमा रसियालीमात्र नभई इरानी सेनाको पनि सहयोग रहेको बताइएको छ । सिरियाली सेनालाई सघाउन इरानले पनि सो क्षेत्रमा कम्तीमा पनि दुई हजार सैनिक सो क्षेत्रमा पठाएको अमेरिकाले जनाएको छ ।
होम्स सिरियाली सरकारका विरोधी विद्रोहीहरुको बढी प्रभाव रहेको नगर हो । यसै सहरबाट विद्रोहीहरुले राष्ट्रपति असादका विरुद्धमा आन्दोलन चलाएका थिए ।
टर्कीले शुक्रबारमात्र सिरियाली आकासमा उडेका भनिएका युद्धक विमानहरुले टर्कीको आकासको नियम उल्लङ्घन गरी टर्कीको भूमिमा नै उडाएको आरोप लगाइरहेका बेला सिरियाली सेनाले यो आक्रमण थालेको बताइएको छ ।
उता हालैमात्र सिरियाम मारिने सर्वसाधारणको सङ्ख्या साढे दुई लाख नाघेको अर्काे एक समाचार आइरहेका बेला सिरियाली सेनाको यो रक्षात्मक कारबाही सुरु गरेको बताइएको छ ।
विद्रोहीहरु बढी मात्रामा रहेका भनिएको होम्स सहरमा सिरियाली सेनाले रक्षात्मक कारबाही सुरु गरेको समाचारमा जनाइएको छ ।
होम्समा सिरियाली सेनाले शुक्रबार पनि बिहानदेखि नै दिनभर हवाई आक्रमण सुरु गरेको थियो । शुक्रबारको सो हवाई कारबाही सिरियाली सेनाले एक्लै आक्रमण गरेको भएपनि शनिबारबाट भने रसियाली सेनाले पनि उसलाई सघाएको छ ।
सिरियामा गएको करिब साढे चार वर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँ जारी गृहयुद्धका क्रममा करिब साढे दुई लाख नागरिकले ज्यान गुमाइसकेको समाचार संयुक्त राष्ट्रसंघले हालैमात्र दिएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस आन्दोलनका कारण लाखौँ व्यक्ति घाइते भएका छन्भने लाखौं व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन् ।
पछिल्लो समयमा सिरियामा आइएसको आक्रमण बढ्न थालेकोले अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले हमला थालेका हुन् । तर पछिल्लो समयमा अमेरिकी सेनाले भने आक्रमण रोकेको छ ।
दुई हप्ताअघिदेखि अमेरिकी आग्रहमा भन्दै सिरियामा रसियाले पनि हवाई कारबाही थालेको भएपनि हाल भने अमेरिकाले सो कारबाही आइएसका विरुद्धमा नभई सिरियाकै सरकार विरोधीमा लक्षित रहेको भन्दै विरोध गरेको छ । रासस/एएफपी















प्रतिक्रिया