२९ आश्विन २०८३, बिहिबार

तस्करीमा उपभोक्ताकै काँध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kath Taskari Ma Netaकाठमाडौं, १३ असार । ‘रक्षक नै भक्षक’ भए के हुन्छरु तराईका सामुदायिक वनको हालत हेरे पुग्छ।

सरकारले तराईका वनजंगल संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिए पनि तिनै समुदायको मिलेमतोमा अधिकांश सामुदायिक वन तीव्र फँडानी भइरहेका छन्। वन फँडानीमा स्थानीय सामुदायिक वनउपभोक्ता समूहका पदाधिकारी, सरकारी कर्मचारी र काठ ठेकेदार तीनै पक्षको मिलेमतो छ।

फँडानी र तस्करीको आरोप नलागेका उपभोक्ता समूह तराईमा बिरलै भेटिन्छन्। झापा, इलाम, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लाका अधिकांश समूह र तिनका पदाधिकारीले काठतस्करीका कुनै न कुनै मुद्दा खेपिरहेकै छन्।

‘समूहका पदाधिकारीको मिलेमतोबिना फँडानी र काठ तस्करी सम्भव छैन,’ जिल्ला वन कार्यालय, सुनसरीका सहायक वन अधिकृत राजेन्द्रप्रसाद साह भन्छन्, ‘चाँडै पैसा कमाउने लोभमा समूहका पादधिकारी नै वन फँडानी गरी काठ तस्करीमा संलग्न हुन्छन्, चोरीतस्करी नियन्त्रणमा कुनै भूमिका खेल्दैनन्।’

संरक्षण जिम्मेवारी पाएका समूहका अगुवा नै काठतस्करसँग मिलेर निकासीमा संलग्न भइरहेको पछिल्ला घटनाले पुष्टि गरिरहेका छन्। गत वैशाख २१ गते साजको रुख अवैध रूपमा काटेको आरोपमा सुनसरी भरौल–३ स्थित कालिन्द्र सामुदायिक वनउपभोक्ता समूहका अध्यक्ष चन्द्रबहादुर इदिङ्गो (लिम्बू) पक्राउ परे।

उनीलगायत भरौल– १ की नीलम थापा, भरौल–८ का शिव सरदार र गंगाबहादुर तामाङको घरबाट ३८।१४ क्युविक फिट काठ बरामद गरिएपछि उनीहरूविरुद्ध जिल्ला अदालत, सुनसरीमा मुद्दा दर्ता गरिएको छ।

इदिङ्गो पहिलोपटक पक्राउ परेका होइनन्। उनले यसअघि पनि काठ तस्करी र वन्यजन्तु सिकारको मुद्दा खेपिसकेका छन्। २०७० मंसिर २४ मा इदिङ्गोसहित तीनजनाविरुद्ध जिल्ला वन कार्यालयले कुसुमको काठ काटेको अभियोगमा मुद्दा चलाएको थियो। त्यसबेला इदिङ्गो धरौटीमा छुटे भने भरौल–३ का चन्द्रबहादुर रसाइली र भासी सिनुवारीकी बबिता चौधरी फरार छन्।

२०६८ मा बक्लौरी–९ स्थित शंकरवेली सामुदायिक वनसमूहका अध्यक्ष शम्भुप्रसाद राजधामी २३ थान सालको गोलिया काठसहित पक्राउ परेका थिए। उनीविरुद्ध २७७।१२ क्युविक फिट काठ अवैध कटान गरेको अभियोगमा मुद्दा दायर भयो। धरौटीमा छुटेका उनी तारेख धाइरहेकै छन्।

त्यसअघि २०६७ मा सुनसरीको बराहक्षेत्र–५ स्थित ज्वालामुखी सामुदायिक वनसमूहका अध्यक्ष बोखिले राई अवैध रूपमा सालको गोलिया काटेको अभियोगमा समातिएका थिए। उनीविरुद्ध १ सय २० थान अर्थात् १७१.७ क्युविक फिट अवैध काठ काटेको अभियोगसहित जिल्ला अदालतमा मुद्दा दर्ता भयो।

उनी पनि अदालतबाट धरौटी राखेर तारेखमा छुटेका थिए। रामधुनी सामुदायिक वनसमूहका अध्यक्ष रामसेवक साह र सचिव दुर्गा कार्कीले पनि काठ हानि–नोक्सानी पुर्याूएको अभियोगमा मुद्दा खेप्दै आएका छन्।

मुद्दा खेप्नेहरू अधिकांश सुनसरीको महेन्द्र राजमार्ग उत्तर–पश्चिम भरौल गाविस, महेन्द्रनगर गाविस, सिंगिया गाविसका वन समूहका पदाधिकारी छन्। जिल्ला वन कार्यालयका अनुसार जिल्लामा ७४ सामुदायिक वन समूह छन्, तीमध्ये ३३ वटा समुदायलाई हस्तान्तरण भइसकेका छन्।

त्यसमा पनि १४ सामुदायिक वनसमूहका पदाधिकारीले अवैध रूपमा कटान गरेर काठ हानि–नोक्सानी गरेको मुद्दा खेपिरहेको सुनसरी जिल्ला वन कार्यालय सहायक वन अधिकृत शाहले जानकारी दिए। नागरिक दैनिकबाट