काठमाडौं, २९ असोज । व्यवस्थापिका संसदमा आज सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो तीन बजे बस्ने संसद बैठकले सभामुख निर्वाचित गर्नेछ ।
सभामुखको निर्वाचन सक्किएपछि उपसभामुखको निर्वाचन हुनेछ । उपसभामुखका लागि पाँच बजेको समय तोकिएको छ ।
सभामुखमा एकीकृत माओवादीले ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको निर्णयअनुसार घर्तीले सभामुख पदमा आफ्नो उम्मेदवारी दिने अन्तिम तयारी गर्नुभएको छ ।
उता, उपसभामुखमा राप्रपा नेपालले गंगाप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्तारुढ दलहरुको सहमतिअनुसार एकीकृत माओवादी र राप्रपा नेपालले सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता गराउन थालेका हुन् ।
सभामुख र उपसभामुखमा सकेसम्म प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी नदिने जनाएको छ । कांग्रेसले उम्मेदवारी नदिएमा सर्वसम्मत रुपमा घर्ती र यादवले विजयी हासिल गर्ने छन् ।












प्रतिक्रिया