संयुक्त राष्ट्रसंघ, २५ असोज । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले बालिकालाई पनि सबै अवसरहरु प्रदान गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।
विश्व बालिका दिवसका अवसरमा आइतबार उहाँले दिनुभएको सन्देशमा बालिकाहरुले उनीहरुले अधिकारका रुपमा पाउने सबै सुविधाहरु तथा अवसरहरु दिनका लागि आग्रह गर्नुभएको हो ।
उहाँले विशेषगरी विश्वमा बालिकालाई बाल विवाह र अनिच्छुक गर्भधारणबाट बचाउन सदस्य राष्ट्रहरुलाई विशेष आग्रह गर्नुभएको हो ।
विश्वका बालिकाहरुलाई एचआइभीको सङ्क्रमणबाट बचाउन र उनीहरुको भविष्यको सुनिश्चितताका लागि आवश्यक शिक्षा दिनका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।
उनीहरुका विरुद्धमा हुने गरेका घरायसी एवम् विविध खाले हिंसाबाट पनि बचाउन आवश्यक रहेको धारणा पनि उहाँले सो सन्देशमा व्यक्त गर्नुभएको छ ।
सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबार ११ का दिनलाई सो दिवस मनाउने प्रस्ताव गरेबमोजिम विश्वमा त्यस दिन सो दिवस मनाउदै आइएको छ ।
बालिकाहरुको अधिकारको रक्षाका विषयमा बहस पैरवीका साथै उनीहरुका अवसरहको पहिचान र प्रदान गर्न सजिलो होस भनेर यस दिवस मनाउन थालिएको हो । रासस/सिन्ह्वा















प्रतिक्रिया