११ कार्तिक २०८३, बुधबार

सिन्धुपाल्चोकमा एनआरएनको सहयोगमा विद्यालय भवन शिलान्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghaleसिन्धुपाल्चोक, २४ असोज । गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण हुन लागेको भूकम्प प्रभावित सिन्धुपाल्चोकको विकट गाँउ सोलसिङमा रहेको सोलसिङ सामुदायिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की, पुर्वअध्यक्ष जिवा लामिछानेले शनिवार एक कार्यक्रमकाबीच सयुक्तरुपमा सो भवनको शिलान्यास गरेका हुन् । विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा भुकम्पले पूर्णरुपमा क्षतिग्रस्थ उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो ।

भुकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त सोलसिङ गाँउलाई नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले उक्त गाउँको विद्यालय पूर्णरुपमा बनाउन आवश्यक सहयोग संकलनका लागि गैरआवासीय नेपाली संघ बहराइनका सल्लाहकार तथा सोलसिङकै स्थानीयवासी श्याम तामाङ र मिङमार तामाङले अभियान नै चलाएका छन् । उक्त विद्यालय भवन निर्माणका लागि विभिन्न देशमा रहेका नेपाली, विभिन्न संघसंस्था तथा सेभेन समिट फाउण्डेशनले सहयोग गरेका छन् ।

शिलान्यास कार्यक्रममा पुगेका एनआरएनका अध्यक्ष घलेले विद्यालय पुनर्निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले भने–‘विद्यालय बनेर मात्र हुँदैन, शिक्षा पनि राम्रो दिनुपर्छ, यसका लागि म र मेरो संस्थाले सहयोग गर्नेछ ।’ यस्तै संघका उपाध्यक्ष टिबी कार्कीले भुकम्पले प्रभावित क्षेत्रमा एनआरएनले सहयोग गरिरहेको जानकारी दिदै उक्त विद्यालय निमार्णका लागि आर्थिक सहयोग समेत गरे ।

विद्यालय निमार्णका अभियानकर्ता मिङमार तामाङले सहयोग गर्ने एनआरएन तथा विभिन्न संघसंस्थालाई धन्यवाद दिदै भने–‘छिट्टैनै विद्यालय निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौ र अझ सहयोगका हात बढाउन विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गर्छौ ।’

सो अवसरमा उक्त विद्यालयमा अध्ययनरत करिब १ सय ५० विद्यार्थीलाई संघका महासचिव कुमार पन्तले जुत्ता, एनआरएन अमेरिकाका आइसीसी सदस्य एसी शेर्पाले स्कुल युनिफर्म, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक रोविन्द श्रेष्ठ(गोविन्द)ले स्कुल ब्याग हस्तान्तरण गरे । यस्तै एनआरएन उत्तर अमेरिकाका उपसंयोजक सोनाम लामा र एनआरएन ओसिनिया क्षेत्रीय उपसंयोजक भूमा लिम्बूले विद्यालय निमार्णमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।