– विश्वराज पछल्डङ्ग्या
सल्यान, २३ असोज । बस लुटपाटमा संलग्न मध्ये तीनजनालाई सल्यान प्रहरीले सल्यानको स्वीकोट–२, बारुले जंगलबाट पक्राउ गरेको छ ।
घटनामा संलग्न जाजरकोट खलंगा–८ का शन्तोष राना र बेग बहादुर रानालाई हतियारसहित प्रहरीले शनिबार पक्राउ गरेको हो । त्यसैगरी, सोही ठाउँका २१ बर्षिय सविन राना शुक्रबार १ लाख नगद, २ थान मोवाइल र हतियारसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) बाल बहादुर थापाले जानकारी दिए ।
प्रहरीले शनिबार खलंगा–८, जाजरकोटकै उनीहरुको साथबाट ३ थान थ्रि नट थ्रि राइफल, २ थान म्याग्जीन, ६ राउन्ड गोली र सशस्त्र पहरीको २ थान कम्ब्याट ड्रेस समेत बरामद गरिएको सई थापाले जानकारी दिए ।
लुटेराको खोजीका लागि अञ्चल प्रहरी राप्तीका प्रमुख एसएसपी प्रेम वहादुर चन्दको नेतृत्वमा ७५ जना प्रहरी परिचालन भएका छन् । भिन्दाभिन्दै टोली बनाएर परिचालन भएका प्रहरीको टोली बामे, स्वीकोट, मर्मरागे चौर र कालागाउँ आसपासका जंगलमा दिनभर खोजी गरेको छ ।
नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेका तीनवटा बस स्वीकोट–२, बारुले जंगलमा विहीबार राती लुटिएका थिए । भारतबाट मजदुरी गरि दसँै, तिहार मनाउन घर फर्किेदै गरेका सर्वसाधारणलाई कब्जामा लिएर नकाबधारी समुहले २० लाख रुपैँया र ५० थान मोबाइल लुटेर लगेका थिए ।
पीडित भिम वहादुर वुढाका अनुसार मध्यरातमा जंगगलमा एक पछि अर्को गाडि लुटिएको थियो । हतियार सहित आएका १२ जनाको समुहले खुकुरी, पेस्तोल र थ्रि नट थ्रि राइफल देखाएर लुटेका थिए । लुटेराले हवाई फायर समेत गरेका थिए ।
लुटेराको प्रतिकार गर्दा स्वीकोट–५, टाट्केका शुवलाल घर्ति घाइते भएका छन् । रुपैयाँ दिन नमाने पछि खुकुरी प्रहार भएको घर्तिले बताए । उनको ढाड र हातमा चोट लागेको छ । उनको रुकुम चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया