काठमाडौं, १२ असार । निर्वाचन क्षेत्र विकास कोषको रकम सेमिनार, गोष्ठी, तालिम र बाजा खरिदमा खर्च गरेको पाइएको छ। जिल्ला विकास समिति काठमाडौंले तयार पारेको आर्थिक वर्ष २०६८/०६९ को वार्षिक प्रगति विवरणअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये अधिकांशमा यी शीर्षकमा रकम खर्च भएको छ।
स्थानीय विकास मन्त्रालयले तयार पारेको विकास कोष निर्देशिकामा यी शीर्षकमा रकम खर्च गर्न पाइने भए पनि विकास र प्राथमिकताका हिसाबमा महत्त्वपूर्ण होइन।
जिल्ला विकास समिति काठमाडौंका सूचना अधिकृत प्रवीण प्याकुरेलका अनुसार सभासद्को सिफारिसमा योजना छनोट गरी रकम निकासा हुने गरेको छ। यस वर्ष काठमाडौंका नौवटा क्षेत्रमा प्रत्यक्ष निर्वाचन जितेका सभासद् र बाँकी १८ समानुपातिकका गरी २७ सभासद्का लागि निर्वाचन क्षेत्र विकास कोषको रकम निकासा भएको छ। अब भने पेस्की नदिई काम सम्पन्न भएपछि एकमुष्ठ भुक्तानी दिने तयारी भइरहेको प्याकुरेलले बताए।
काठमाडौं-२ मा उपनिर्वाचन भएका कारण कोषको रकम पछि मात्रै निकास हुनेछ। यस क्षेत्रका तत्कालीन सभासद् झक्कु सुवेदीको सिफारिसमा सिलाइकटाइ तालिममा मात्र एक वर्षमा दुई लाख ५० हजार खर्च गरिएको छ। क्षेत्र-१ का सभासद् प्रकाशमान सिंहको सिफारिसमा ब्वाइज युनियन क्लबका लागि पोसाक खरिदमा ५० हजार खर्च गरिएको छ।
काठमाडौं-४ मा सभासद् सुप्रभा घिमिरेको सिफारिसमा गोष्ठी र सेमिनारमा दुई लाख ३५ हजार खर्च गरिएको छ। उनको सिफारिसमा सांस्कृतिक वाद्यवादन (बाजा) खरिद तथा तालिमका लागि भनेर एक लाख २५ हजार खर्च गरियो। क्षेत्र-३ का सभासद् चक्र ठकुरीको सिफारिसमा रक्तदान, तालिम तथा सचेतना गोष्ठीमा मात्रै तीन लाख १० हजार खर्च गरिएको छ।
त्यस्तै क्षेत्र-५ मा एक लाख ४० हजार सिलाइकटाइमा खर्च भएको छ। क्षेत्र-६ का तत्कालीन सभासद् हितमान शाक्यको सिफारिसमा तालिममा मात्रै तीन लाख ३५ हजार खर्च गरियो। क्षेत्र-७ की तत्कालीन सभासद् हिसिला यमीको सिफारिसमा बाजा खरिदका लागि दुई लाख खर्च भएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट















प्रतिक्रिया