
काठमाडौँ, २२ असोज । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि नेपालको पछिल्लो परिस्थितिप्रति सचेत गराउँदै सूचना जारी गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै नेपाल भ्रमणमा रहेका र आउन चाहने नागरिकलाई सचेत गराएको हो । भारतीय सिमामा भइरहेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको र त्यसले गर्दा पर्यटकलाई अप्ठेरो पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको हो ।
नाकाबन्दीपछि हवाई र स्थल यातायात समेत राम्रोसँग संचालन हुन नसकेको भदै अमेरिकाले अप्ठेरो परेको बेला समयमै उद्दार गर्न सक्ने अवस्था नरहेको जनाएको छ । ग्रामीण क्षेत्रको भ्रमणमा जाँदा घाइते भए उद्दार गर्न अप्ठेरो भएको भन्दै अमेरिकाले एकपटक सोच्न आफ्ना नागरिकलाई भनेको छ । काठमाडौँमा पर्यटकलाई सुविधा यथावत भए पनि पहिलेको तुलनामा कम रहेको भन्दै अमेरिकाले इन्धन आपूर्ति हुँदा पनि सामान्य अवस्थामा आउन दुई देखि तीन हप्ता लाग्न सक्ने अनुमान गरेको छ ।
नेपालमा बर्षेनी लाखौँ नेपाली पर्यटक आउने गरेका छन् । अमेरिकाको यो सूचनाले यो बर्ष पर्यटक आगमनमा झनै असर पर्ने देखिएको छ ।













प्रतिक्रिया