दुई सातादेखि भारतले गरेको अघोषित नाकाबन्दीको नेपालीले खुलेरै आलोचना गरिरहेका छन् । भारतको संकुचित सोचले सम्बन्धमा समेत प्रभाब पारेको छ । असल मित्रराष्ट्र भनिएको भारतले नेपालमा देखाइरहेको चासो आलोचनाको विषय बनेको छ । नेपाली जनताको रगत बगेको संविधानमा भारतले देखाएको चासोलाई नकार्न सकिँदैन । पञ्चायती राणा शासन र राजतन्त्रलाई झुकाउने नेपाली जनताको साहसलाई भारतले सहज रुपमा बुझेकै होला । ६५ वर्ष लामो कठिन यात्रापछि जनताले लोकतान्त्रिक संविधान पाउन सफल भएका छन् । संविधान यात्रा प्रारम्भ भएपछि नेपाली जनताले धेरै हण्डर, ठक्कर खाएका छन् । उनीहरु अझै ती घटनालाई विर्सन सकिरहेका छैनन् । असोज ३ गते ९० प्रतिशत समर्थन प्राप्त गरेको संविधान राष्ट्रप्रमुखबाट घोषणा गरियो । देशभर खुशीयाली मनाइयो । विदेशमा रहने नेपाली दाजुभाईले पनि उत्सवका रुपमा मनाए । नमनाउनु पनि किन, यतिका लामो पर्खाइएको अन्त्य हुँदा ।
संविधान जारी भएपछि असल मित्र राष्ट्र भारतले विज्ञप्ति जारी गर्दे बेखुसी प्रकट गर्यो । २४ घण्टा नबित्दै नाकाबन्दी गर्ने चेतावनी दियो । यस्तै–यस्तै घटनाक्रमलाई नियाल्दा भारत असल मित्र राष्ट्र रहेनछ भन्ने पुष्टि पनि भयो । नेपालको राजनीतिक अस्थिरता र राजनीतिक दलहरुबीचको बेमेलमाथि खेल्न पाएको भारतले खेलोफड्को बन्द हुने भएपछि भारत जंगिुन स्वभाविक नै हो । नेपालको प्राकृतिक सम्पदामा आँखा गाडेको भारतले आफ्नो निच ब्यवहार प्रकट गरेको छ । नसोचेको मोदी सरकारको उदय भएपछि अकरिलो नेतृत्व गरेको भाजपाको प्रभाव नेपालमा पनि पोखिएको छ । भारत किन यतिधेरै निष्ठुरी भइरहेको छ ? किन भारत रातो पिरो भएको ? अथवा नेपालको संविधानमा भारतको स्वार्थ कहाँ पूरा भएन ? यस्ता प्रश्न उब्जिरहेको छ मनभरी । यसको जवाफ दुई जिब्रे मोदीबाट पाउने आशा पनि गरेको छैन मैले ।
खासगरी मधेस आन्दोलनसँग जोडिएको भारतको चर्तिकला विश्वले थाहा पाएको छ । सानो र गरिब मुलुकमाथि भारतको अदृश्य हस्तक्षेपको परिणाम विस्तारै मिल्दै जाला । हामी नेपालीलाई गुन्द्रुक र ढिडो खान कसैसँग स्वभिमान बेच्नु पर्दैन । भारत एकैचोटी सम्पन्न भएको मुलुक होइन । भारतले जस्तो कुनै देशसँग हामीले गुलाम बन्नु पर्दैन । एकपटक इतिहासलाई फर्केर हेरोस । हिमालमा बस्ने भोटे पनि नेपाली, मधेस–तराईमा बस्ने मधेसी, थारुपनि नेपाली । तर, भारतको सुझावमा एउटै संविधानले चल्दैन भन्ने पनि देखिन्छ । मधेस प्रेम यतिबेला भारतले छर्लङ्ग पारेको छ । असल मित्र राष्ट्र हुनुको नाताले नेपाल पनि भारतको सुझावलाई गलत अर्थको रुपमा लिँदैन । तर, भारतको सुझाव मान्ने नेपाल निर्देशन मान्न सक्दैन । मोदीको कानसम्म पुर्याई दिनुहोस् – भारतलाई सहयोगी भूमिका निर्वाह गर्नुहुने नेताज्यू ।
एकातिर संविधान बनेकोमा खुसीयाली मनाइरहेका छौं । अर्कातिर संविधानमा दुःखी मनाइरहेका छौं । यी दुवै तस्बीरमा अलग–अलग अनुभूति प्राप्त गर्न सकिन्छ । यस्ता विषयमा असल मित्र राष्ट्रले देखाएको चासोमा केही कुरा थप गर्न सकिन्छ कि सकिँदैन ? संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको बेला देखिनै देशका विभिन्न स्थानमा आन्दोलनको आगो बालियो । पूर्वमा लिम्बूवान, कोचिला, थारुवानले आफ्नो मागलाई अझै पूर्णविराम लगाउन सकेका छैनन् । अर्थात संविधानमा उनीहरुको माग पूरा भएको छैन । आदिवासी जनजाति, दलित र पिछडिएको समुदाय अझै संविधानमा चित्त बुझाईरहेका छैनन् । ए भारत उनीहरुको मागलाई सम्बोधन कसले गर्छ । मधेसीको भारतले गर्छ भने उनीहरुको माग पूरा गरिदिन पाकिस्तानलाई गुहार्दैऊ । संविधान आफैंमा पूर्ण चिज होइन । यहाँ संशोधन गर्ने ठाउँहरु छन् । संविधान जारी गरेको एक हप्ता भएको छैन । संशोधन गरिहाल भन्ने भारतको हैसियत के हो ?
एउटै राष्ट्र भित्र मिलेर बस्न नसक्दा आज पाकिस्तान छुटियो, बंगलादेश छुटियो । यी समस्या भारतका लागि सामान्य हुन् ? भारतमा संविधान जारी हुँदा कति जनता सडकमा उत्रिए । १९५१ मा १३ वटा राज्य बनाएको भारतमा अहिले २९ वटा राज्य किन बनाइयो ? भारतमा अझै किन आन्दोलन चर्किरहेको छ ? नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संविधानमा भारतले गरेको हर्कतलाइ कसैले माफी दिन सक्दैन । विश्वमा आफ्नो हैसियतलाई माथि उठाउन चाहने भारतको छवि विश्वमै धमिल्लिएको छ । नेपालसँगको सम्बन्ध पनि राम्रो रहन सक्दैन ।
भारतको चासोमा संविधान बनेन । यसमा भारत सरकारले टाउको दुखाउन जरुरी छैन । भारतको संविधान जारी हुँदा कति बुँदा संशोधन प्रास्ताव पठाएको थियो नेपालले ? संविधान घोषणासँगै वार्ता र संवादका ढोका बन्द भएको छैन । तर, भारतले मधेसमा बलिरहेको आगोमा घ्यू थप्ने काम गरेर ठूलो गल्ती गरेको छ । भारत जस्तो राष्ट्रले समेत यति सानो सोच राख्नु मोदी सरकारको अपरिपक्वता हो । संविधान जारी हुनसाथ नेपाली नेता भनेर गर्व गरिएकाको पनि अस्थिपञ्जरसम्मै देखाए । भारतको विज्ञप्ति अनुसार राजनीति गर्नेहरुदेखि नेपाली जनता होसियार हुनुदेखि बाहेक केही विकल्प छैन । भारतले नाकाबन्दी गर्दा नेपालीलाई त्यतिधेरै समस्या नहोला । तर, नेपालले नाका बन्द गरियो भने भारतको के हाल हुन्छ । त्यति बेलै महसुस होला । अहिले नेपाल राजनीतिकका नायक भन्न रुचाउनेहरुको अग्निपरीक्षा पनि हो ।
भारतको प्रतिकार गर्ने हैसियत नेपालका आशलाग्दा नेताले गर्न सक्छन् । तर, जनताको स्वभीमान भन्दा पनि आफ्नो स्वार्थ हेरे भने गाह्रो छ । जसरी संविधान जारी गर्ने दृढ संकल्प लिए, त्यसरी भारतको डिफेन्स पनि गर्नुपर्छ । मोदी सरकारलाई अनुरोध छ, जे–जे संशोधन गर्नुपर्छ त्यो आफ्नो संविधानमा गर्नु । कसैले संशोधन गर्न मानेनन् भने अहिले नेपालमा सहयोग गर्नेहरुको सहयोग लिनु । गुजरातमा हार्दिक पटेलको माग सम्बोधन गर्न नसक्ने मोदी सरकार नेपालीको अस्मितालाई ख्यालख्यालको ठानिरहेको छ ।
सोनिया गान्धीलाई प्रधानमन्त्री बन्न राष्ट्रियताको खोजी गर्ने मोदी–स्वराज नेपालीलाई पाठ पढाइरहेका छन् । भारतले आफूलाई कमजोर बनाएको छ । मधेसमा हिंसात्मक आन्दोलन चलाउने र पूर्वमा लिम्बूवान मागी रहने बीच किन बिभेद गरिरहेको छ भारत ? आफ्नो देशको हजारौं समस्या ओझेल पार्ने मोदी सरकारले नेपालीको समस्या कसरी देख्यो । को छ, भारतको नेपाली लेन्स ।
संविधान जारी भएकोमा मधेसी समुदायले पनि खुशीयाली मनाउनुपर्छ । अहिलेसम्मका उपलब्धी संस्थागत भएका छन् । सबैका मागलाई सम्बोधन हुने गरी वार्ताको वातावरण बनाउनुपर्छ । यस्तो प्रायोजित आन्दोलनमा सहभागी हुनु भन्दा पनि अब मुलुकलाई सम्बृद्धि बनाउने तर्फ अगाडि बढाउन सकहार्य गरौं । नाकाबन्दी भएपनि बाँच्न सक्ने नेपाली बनौं । मोदीको अगाडि शिर उचाले हिँडन् सिकौं । न निहुरिएको नेपाली स्वाभिमानलाई बचाएर राखौं । राजनीतिक भेषमा अपराध गर्नेलाइ तुरुन्त कठघरा पुराउन जरुरी छ । नेपाली भन्दै भारतीय भुमिबाट ढुंगा हान्नेहरु कदापि नेपाली हुन सक्दैनन् ।














प्रतिक्रिया